
अचेल नेपाल मण्डलमा उखानप्रसादको सरकारले समृद्धिपुराण लगाइरहेको छ । उक्त समृद्धिपुराणका मुख्य कथावाचक पर्धानमन्तरी मिष्टर उखानप्रसाद आफै हुन् । उनले सरकार, संसद, गोष्ठी, उद्घाटन, अन्तरवार्ता, पत्रकार भेटघाट, विदेशी दातामाताहरूका दूतहरूसँगको भेटवार्ता आदि इत्यादि स्थानहरूमा जताततै समृद्धिपुराणका श्लोक वाचन गरिरहेका हुन्छन् । यो पुराणको मुख्य श्लोक भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । उपवाचकमा नियुक्त भएका छन् नेकपा स्क्वायरका दुई नम्बरी अध्यक्ष । हाल उनी आफ्नी धरमपत्नीको स्वास्थ्यलाभका लागि सिङ्गापुरमा छन् । उनले उतातिर स्वास्थ्यलाभको कामसँगै प्रभुका विशेष दूतहरूसँग समृद्धिपुराण सम्पन्न गर्नका लागि विशेष मन्त्रणा पनि गरिरहेका छन् । कथम् कदाचित एक नम्बरी अध्यक्षसमेत रहेका सरकारका मुखिया उखानप्रसादबाट समृद्धिपुराण सम्पन्न गर्न आपूmसँग भएको बाचाकवोलमा घात भएका बखतमा त्यसको उचित औषधोपचार गरेरै भएपनि लक्ष्यभेदन गरिछाड्ने योजनाका साथ उनी सिङ्गापुरमा लीन छन् । सँधै ‘एक पन्थ दुई काज’ गर्ने त उनको बडा काइदाको बानी नै छ । यो उनले प्रतिपादन गरेको माक्र्सवादको विकसित सिद्धान्त हो । कुशल राजनेतामा हुनुपर्ने अब्बल गुण हो यो । ‘पशुपतिको यात्रा सिद्राको ब्यापार’ त सनातनदेखि चलिआएको हाम्रो नित्तान्त मौलिक परम्परा पनि हो । हाल उनी उता भएकाले पनि यता नेपाल मण्डलमा उनको चासो चर्चा खासै छैन । त्यसपछि उक्त समृद्धिपुराणका कर्ताहरू र नाटक मञ्चनका लागि झाँकी टोलीमा सरकारका मन्तरीहरू नियुक्त भएका छन् ।
नेपाल मण्डललाई समृद्ध बनाएर यो पृथ्वी मण्डलका अरू विकसित मुलुकसँग पौँठेजोरी खेल्न सक्ने बनाउने उखानप्रसाद सरकारको लक्ष्य छ । यो समाजवाद लागू गर्ने पहिलो एजेण्डा हो । मुलुक समृद्ध भएपछि मुलुकवासी सुखी हुने छन् । त्यही भएर श्लोक पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राखिएको हो । समृद्धिका लागि विकास हुन आवश्यक छ । विकासको सुरुआत रेल गुडाएर र पानीजहाज हुईंकाएर गरिने छ । चाइनाबाट रेल कुदाउने र कोशीबाट पानीजहाज उडाउने कुरा छ । पानीजहाज त पुसबाटै हुईंकिने ठोकुवा नै गरिसके उखानप्रसादले । त्यसका लागि सिँहदरबारमा टिकेस काउन्टर खोल्ने तयारी भैसकेको छ । टिकेस बुकिङका लागि धमाधम आवेदन लिनका लागि सरकारले कार्य अगाडि बढाइसकेको छ ।
हाम्रा मण्डलका पर्धानमन्तरीले दक्षिणी तिर्थाटनबाट पानीजहाज हुइँकाउने सहमती गरेर आएका थिए । त्यसपछि उत्तरतिरको तीर्थाटनबाट भर्खरै रेल कुदाउने सहमती गरेरै आएका छन् । त्यसका लागि पनि अब ठाउँठाउँमा टिकेस काउण्टर छिटै खोलिने छन् । उत्तरका रेल केरुङबाट काठमान्डुको खाल्टोसम्म आउने छ । अब प्रत्येक नेपाली मनुखेहरू परदेशबाट देशमा आउँदा रेल चढेर आउने छन् । त्यसका लागि मध्यपाहाडी लोकमार्ग प्रयोग गर्नुपर्ने छ । मेचीदेखि कालीसम्म, ताप्लेजुङदेखि दार्चुलासम्म र झापादेखि कञ्चनपुरसम्म छयहत्तर जिल्लाका यात्रुहरू पहिला आआफ्ना ठाउँबाट बस, मोटर, कार, हाइस आदि इत्यादि चढेर गल्छीहुँदै रसुवा भएर केरुङ जानु पर्ने छ । त्यसपछि त्यहाँबाट रेलमा चढेर सिधै देशको राजधानी खाल्टोमा आउने छन् । बनबासा, धनगढी, नेपालगञ्ज, भैरवा, वीरगञ्ज, जनकपुर र विराटनगरबाट भएर आउने मालबाहक ट्रक, लरी, ट्याङ्कर र ग्यास बुलेटहरू पनि अब सिधै केरुङ जाने छन् र त्यहाँबाट रेलका डिब्बामा सामान हालेर राजधानी ल्याइने छ । पानीजहाजबाट ल्याएको सामान पनि कोशी नदीबाट सिधै मुहानतिर लगेर उताबाट घुमाएर रेलमा डाउनलोड गरिनेछ र रेलले राजधानीमा ल्याएर फ्वात्त खसाल्ने छ । अबको यातायातको रुट यस्तो हुने छ । सिण्डिकेटेहर्ले पनि यही रुटको फलो गर्नुपर्ने नियम सरकारले ल्याउँदै छ । यसरी यात्रु पनि रेलमा आउने र सामान पनि रेलले नै ढुवानी गर्ने भएपछि सिण्डिकेटको लफडा पनि हट्ने छ । सामान पनि सस्तोमा ढुवानी हुने र यात्रुहर्लाई परदेशबाट देशमा आउन भाडा पनि सस्तो हुने ठहर छ ।
संसार काँ’बाट काँ’ पुग्दासम्म पनि हाम्रो देश समृद्ध नभएको त रेल र पानीजहाज नभएर हो भन्ने कुरा बल्ल पत्ता लागेको छ । भीमसेनका पालादेखिका पर्धानमन्तरीहर्ले पत्ता लगाउन नसकेको कुरो हाम्रो उखानप्रसाद पर्धानमन्तरीले पत्तो लगाए । उनले पनि निकै लामो राजनीतिको अनुसन्धानबाट पत्तो लगाएका हुन् । यसका लागि उनको नाउँ गिनिजबुकमा लेखाउनु पर्ने भएको छ । पानीजहाज त आउँदो पुसबाटै चल्ने ग्यारेन्टी भैसक्यो । त्यसका लागि त पर्धानमन्तरीले अस्ति नै जहाज चढ्नका लागि टिकेस काट्ने विज्ञापनै खोलिसके । रेल पनि उनको सरकार छँदाछँदै चाइनाबाट हुइँकिएर आउने पक्कापक्की छ । अब हाम्रा पर्धानमन्तरीले यो देशबाट बिदाबारी लिएर यमराजका देशतिर सरुवा हुने अबधी पनि धेरै छैन । त्यसैले यो देशाँ बस्दासम्म उनको बाँकी जोवन रेल घुमेरै वित्ने भएको छ । त्यसो भएकाले कलाकार राम थापा र सुनिता सुब्बाले आफ्नो पुरानो गीत बदलेर यस्तो गाउने निधो गरेर रेकर्डिङ पनि गरिसकेका छन् ।
सुनिता – आ…देश हाम्रो हुने भो समृद्धि, हुने भो समृद्धि
समृद्धिले बनाउँछ जन सुखी
रेलै घुमेर,
रेलै घुमेर, जान्छ प्रमको बाँकी उमेर ।
राम – आ…यो देशलाई समृद्ध बनाउनी, समृद्ध बनाउनी
पानीजाँ’जमा आएको म पनि
रेलै घुमेर,
रेलै घुमेर, जान्छ प्रमको बाँकी उमेर ।
१५ असार २०७५




























