कम्युनिष्ट आन्दोलनका विभिन्न कालखण्डबारे महासचिव किरण

प्रकाशित मिति : २०७५ असार १६

यसरी कम्युनिस्ट भएँ

नेपाल कम्युनिस्ट पार्टीको स्थापना वि.स. ००६ सालमा भयो । पुष्पलाल श्रेष्ठसहित चार युवा नेताले पार्टी स्थापना गरे । ०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझी दरबार छिरे ।

त्यसपछि मुलभूत रूपमा कम्युनिस्ट आन्दोलनमा दुई धार देखाप¥यो । एउटा मार्क्सवाद, लेलिनवाद, माओविचारसहित नयाँ जनवादी क्रान्ति गर्ने विचारधारा अर्को रुस पक्षीय राष्ट्रिय प्रजातन्त्र र संसद्वादलाई मान्ने कम्युनिस्ट पार्टी भए ।

रुस पक्षीय र संसद्वालालाई मान्ने धाराको तुलसीलाल अमात्यले प्रतिधित्व गरे । अर्को झापा विद्रोहबाट आएका नेता माक्र्सवाद, लेलिनवाद माओविचार मान्नेहरूको एउटा धारा भयो । तर, वैचारिक रूपमा म मोहनविक्रम सिंह र निर्मल लामाले प्रतिनिधित्व गर्नेतिर आकर्षित भएँ ।
यो झापा विद्रोहभन्दा फरक धारको प्रतिनिधित्व गर्ने पार्टी थियो । पहिला केन्द्रीय न्युक्लियसपछि चौथो महाधिवेशन पार्टीका रूपमा स्थापना भयो । नेतृत्वमा मोहनविक्रम सिंह, निर्मल लामालगायतका नेता थिए ।

मेरो जन्म ००३ सालमा प्युठान जिल्लामा भयो । उच्च शिक्षा अध्ययन गर्न दाङ झरेँ । सोही क्रममा विद्यार्थी राजनीतिमा सक्रिय भएँ । मैले आधिकारिक रूपमा कम्युनिस्ट पार्टीको सदस्यता ०२१ सालमा लिएको थिएँ । त्यसवेला कम्युनिस्ट पार्टीको सदस्य पाउँन कठिन थियो ।
आधारभूत रूपमा कम्युनिस्ट विचारदर्शन बुझेपछि मात्र सदस्यता दिने गरिन्थ्यो । तर, अहिले त सदस्यता दिँदा पहिलाजस्तो कठिन छैन ।
मेरो पारिवारिक पृष्ठभूमि निम्नमध्यम वर्गीय बाहुन किसान परिवार हो । ब्राह्मण परिवार भएकाले ब्राह्मण धाराबाट प्रभावित हुनु स्वाभाविक हो । परिवार गरिब भएकै कारण म कम्युनिस्ट विचारप्रति आकर्षित भएँ । दाङमा पढ्दै गर्दा विद्यार्थी आन्दोलनमा लागेकाले पनि त्यतातिर आकर्षित भएँ । कम्युनिस्ट विचार मान्ने साथीहरूको संगत भएकाले पनि होला ।

त्यसवेलाका शिवराज गौतम, नेत्रलाल अभागी लिडर थिए । विद्यार्थी राजनीतिमा भने नारायण आचार्य, लोकमणि आचार्यबाट प्रभावित भएँ । पछि मैले आदर्श मानेका नेता एमाले हुनुभयो । त्यसबेला दाङमा सामन्तवादी शोषण दमन अत्यधिक थियो । त्यो उत्पीडनबाट मुक्त हुनुपर्छ भन्ने भयो । अर्को गरिब, किसान, मजदुर श्रमजीवी जनतालाई कम्युनिस्ट विचारले मात्र मुक्ति दिन सक्छ भन्ने अनुभूति भयो । त्यसैले पनि कम्युनिस्ट भएँ ।

पञ्चायतकालमा तीन वर्ष जेल बसेँ

०२१ सालमा पार्टी सदस्य पाएपछि विद्यार्थी राजनीति गर्दै चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य भएँ । पञ्चायतकालदेखि नै राजनीतिमा लागेपछि जेलनेल, दमनमा पर्नु स्वाभाविकै भयो । त्यसवेला पञ्चायती व्यवस्थाको हैकम थियो । पार्टी भए पनि सबै भूमिगत थिए ।
चौथो महाधिवेशन पनि भूमिगत नै थियो । अरू पार्टीभन्दा कम्युनिस्ट पार्टीलाई थप हैरानी हुन्थ्यो । ०२५ सालमा दाङमा, ०२७ सालमा प्युृठानमा र ०२९ सालमा सल्यानमा जेल परेँ  । यसरी पञ्चायतकालमा तीन वर्षजति जेल बसेँ ।

मोहनविक्रम सिंहसँग विवाद भयो

०४० सालमा नेपाल कम्युनिष्ट पार्टी मसाल गठन भयो । नेकपा मसालको महासचिव म भएँ । दुई वर्ष नपुग्दै मोहनविक्रम सिंहले नेकपा मसाल गठन गर्नुभयो । त्यसवेला मोहनविक्रमजीलाई पातलो र हामीलाई मोटो मसाल भन्ने गरिन्थ्यो ।

निर्मल लामाको समूहले चौथो महाधिवेशन नाम राखेर पार्टी चलाउनुभयो । हुन त हामी सबै चौथो महाधिवेशन पक्ष नै हौँ । तर, हामी अन्यन्त्रै लागेपछि लामाले पार्टी पुनर्गठन गर्नुभयो ।

पार्टी फुट्नुअघि मेरो मोहनविक्रमजीसँग वैचारिक रूपमा घम्साघम्सी प¥यो । अहिले आएर बेकारमा गरिएछजस्तो लाग्छ । त्यसवेला पार्टी विभाजन हुनुपर्ने कारण नै थिएन । अहिले सानोतिनो विषयमा विवाद गरिएजस्तो लाग्छ ।

पार्टी फुटका सांगठनिक कारण नै धेरै थिए । यसले अनुशासन तोड्यो, उसले अनुशासन तोड्यो भन्ने खालका कारण हुन्थे । पार्टी पदमा को जाने, को नजाने भन्ने झिनामसिना कारण थिए । साना कुरामा अल्झिएछौँ, मिलेर एउटै पार्टीमा बसेको भए हुने रहेछजस्तो लाग्छ ।

सेक्टर काण्ड र राज्यको चरम दमन

हामीले पञ्चायती चुनाव बहिष्कार ग¥यौँ । ०४४ सालको अन्त्यको कुरा हो । बहिष्कारका लागि पार्टीका साथी जिम्मेवारी लिएर खटिनु भएको थियो । बहिष्कार गर्ने सिलसिलामा एउटा अकाल्पनीक घटना घट्यो ।

स्थानीय पार्टीका साथीले योजना बनाउनुभएछ । उपत्काका ४÷५ प्रहरीका सेक्टरमा हमला भएछ । प्रहरी घाइते भए । दोहोरो भिडन्तमा पार्टीका साथी पनि घाइते हुनुभयो ।

पञ्चायती व्यवस्था त्यसमाथि उपत्यकामा प्रहरीमाथि हमला भएपछि त्यो घटनालाई ठूलो बनाइयो । साथीहरूलाई धरपकड गरियो । असाध्यै यातना दिइयो । राज्यले यति चरम दमन ग¥यो, यातना थियो कि भनी साध्यै छैन ।

राज्यले यसो गर्नुपर्ने कारण नै थिएन । गल्ती भएको भए आफ्नै ढंगले मुद्दा चलाए पनि हुन्थ्यो । मुद्दा चलाएर जेलमा राखेको भए हुन्थ्यो । तर, त्यसो भएन ।

नेताहरूमा थ्रेट बढ्यो । केन्द्रीय नेताहरू सबैजसो भूमिगत थिए । प्रहरीले ठूला नेताहरूलाई पक्राउ गरेर यातना दिन पाएन । पार्टीका जिल्लास्तरका नेता कार्यकर्ता मारमा पर्नुभयो ।

यसमा धेरैजसो मजदुर, विद्यार्थीलगायतका कार्यकर्ता साथीहरू हुनुहुन्थ्यो । त्यतिवेला पार्टीको महासचिव म आफैँ थिएँ । पार्टीमा साथीहरूले धेरै आलोचना गर्नुभयो । मलाई नैतिक संकट पनि भयो ।

प्रचण्डलाई महासचिव बनाएँ

सेक्टर काण्ड भएको ६ महिनापछि पार्टी महासचिवबाट राजीनामा दिएँ । ममाथि धेरैपटक प्रश्न उठाएपछि राजीनामा दिएको हुँ । पार्टीका अन्य साथीको पनि एक तह घटुवा गरियो । त्यसवेला मैले प्रचण्डलाई उचित व्यक्ति मानेर महासचिवमा प्रस्ताव गरेँ ।

युगअनुसार प्रचण्डले नेतृत्व गर्न सक्छ भन्ने लागेको थियो । मूलभूत रूपमा प्रचण्ड र म एउटै विचारका थियौँ । त्यो वेला दक्षिणपन्थी अवसरवाद र संशोधनवादको विरोध गर्दै आएका थियौँ । नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्ने विषयमा पनि एक ठाउँमा थियौँ । सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने विषयमा पनि एउटै विचार थियो ।

अर्को कुरा, म नयाँ युवाप्रति आकर्षित हुन्थेँ । नयाँ युवालाई माथि ल्याउनुपर्छ भन्ने लाग्थ्यो । त्यसैले, प्रचण्डलाई अवसर दिएको हुँ । अहिले पनि पार्टीमा नयाँ युवालाई अघि सार्नुपर्छ भन्ने मान्यता राख्छु ।

अहिले आएर उहाँ एउटा धारबाट अर्को धारमा जानुभयो । प्रचण्डजी भन्न त छलाङ हानेको, फड्को मारेको भन्नुहुन्छ तर, उहाँले उल्टो फड्को हान्नु भयो । त्यो वेलाको प्रचण्ड र अहिलेको प्रचण्डमा गुणात्मक फरक छ ।

(नयाँ पत्रिकाका लागि पत्रकार विरेन्द्र ओलीले महासचिव किरणसँग कुराकानीका आधारमा तयार पारेको यो सामग्री इनयाँ पत्रिकाबाट साभार गरिएको हो । शीर्षक परिवर्तन गरिएको हो । )