एजेन्सी, असार १५ । इन्डोनेसियाको एक प्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट हुँदा हजारौँ पर्यटक अलपत्र परेका छन् । बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् ।
वर्षेनी एउटा न एउटा शक्तिशाली ज्वालामुखी विस्फोट हुने गरेको यस ठाउँमा शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ । यसका कारण आकासमा निकै बाक्लो तुवाँलो देखिएको छ । उक्त तुवाँलोका कारण बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द भएको छ ।
विमानस्थल बन्द हुदाँ हजारौँको सङ्ख्यामा रहेका पर्यटक अलपत्र परेका बताइएको छ । बालीमा ज्वालामुखी विस्फोटको समाचारका कारण उनीहरु पनि त्रासमा रहेका बताइन्छ ।
शुक्रबार बिहानमात्र यहाँका हवाई उड्डयन अधिकारीहरुले बाक्लो तुवाँलोले अकास नदेखिएपछि शुक्रबार र शनिबारका पनि करिब ४५० जति उडान बन्द गरिएपछि शुक्रबार नै ७५ हजार पर्यटक अलपत्र परेका छन् । यो सँगै विमानस्थलमा ठूलो भीड लागेको छ ।
ज्वालामुखी विस्फोटको क्रम जारी छ । त्यहाँबाट स्थानीय नागरिकहरुलाई पनि अन्यत्र सार्ने क्रम जारी रहेको बताइएको छ ।






























