
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार एक प्रेस वक्तव्य जारी गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित नेपाल टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा’ र न्यूज २४ टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रम बन्द नगराउन चेतावानी दिएको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत र काठमाडौं जिल्ला संयोजक रामचन्द्र हुमागाईले छुट्टाछुट्टै वक्तव्य जारी गरी यस्तो चेतावानी दिएका हुन् ।
अध्यक्ष राउत र हुमागाईले जारी गरेको वक्तव्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको ठाडो निर्देशनमा नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको कार्यक्रम ‘‘सिधा प्रश्न’ बन्द गराइनु, न्यूज २४ बाट पत्रकार रवि लामिछानेले चलाएको ‘सिधा कुरा जनतासँग”को कार्यक्रम बन्द गराउन खोज्नु र शान्तिपूर्ण रुपमा भेला प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारलाई निषेध गरिनु आदि घटनाक्रमले ओली नेतृत्वको सरकारको अलोकतान्त्रिक तथा निरंकुश चरित्रलाई प्रदर्शित गरेको भन्दै यस्तो कदमको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरिएको छ । सरकारको यस्तो कदमका विरुद्धमा प्रेस जगत, श्रमजीवी पत्रकार, सरोकारवाला संगठन तथा नागरिक समाजलाई पनि विरोधमा उत्रन वक्तव्यमा आव्हान तथा अपील गरिएको छ ।
यस्तो छ वक्तव्यको पूर्णवपाठ :
“संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको मौलिक अधिकारलाई कुण्ठित गराउने गरी पछिल्ला दिनमा सरकारी स्तरबाट भएका घटनाक्रमप्रति हाम्रो संगठनको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको ठाडो निर्देशनमा नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको कार्यक्रम ‘‘सिधा प्रश्न’ बन्द गराइनु, न्यूज २४ बाट पत्रकार रवि लामिछानेले चलाएको ‘सिधा कुरा जनतासँग”को कार्यक्रम बन्द गराउन खोज्नु, शान्तिपूर्ण रुपमा भेला प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारलाई निषेध गरिनु आदि घटनाक्रमले ओली नेतृत्वको सरकारको अलोकतान्त्रिक तथा निरंकुश चरित्रलाई प्रदर्शित गरेको छ । ओली सरकार तथा सञ्चार मन्त्री बाँस्कोटाको यस्तो कदमको हाम्रो महासंघ कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दछ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित ‘सिधा प्रश्न’ कार्यक्रम सुचारु गर्न र ‘सिधा कुरा जनतासँग’ कार्यक्रम बन्द गर्ने षड्यन्त्र नगर्न समेत सम्बन्धित निकायलाई हाम्रो महासंघ यसै वक्तव्य मार्फत् कडा चेतावानी दिन चाहन्छ ।
अन्तमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको मौलिक अधिकारका पक्षधर आम प्रेसजगत, श्रमजीवि पत्रकार, सरकोकारवाला संगठन र नागरिक समाजलाई ओली सरकारको यस्तो कदमका विरुद्ध एकजुट भई विरोधमा उत्रन पनि हाम्रो महासंघ जोडदार रुपमा आव्हान एवम् अपील गर्दछ ।”































