लेनिन–स्टालिनले यसरी सञ्चालन गरेका रहेछन् भूमिगत प्रेस

प्रकाशित मिति : २०७५ जेष्ठ २८

विश्व सर्वहारावर्गका महान् नेता लेनिनको नेतृत्वमा रसियाली सामाजिक जनवादी मजदुर पार्टी (बोल्सेविक) ले पुरानो क्यालेण्डरअनुसार सन १९१७ को २५ अक्टुबर र नयाँ क्यालेण्डरअनुसार सन् १९१७ को ७ नोबेम्वरमा महान् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्यो । यो क्रान्तिले एउटा नयाँ युग, महान् समाजवादी क्रान्तिको युगको सूत्रपात गर्यो ।

रुसमा सम्पन्न महान् अक्टुबर समाजवादी क्रान्ति विश्व इतिहासमा एक युगान्तकारी परिघटना थियो । त्यो पुँजीवादी युगको अन्त्य र समाजवादी युगको प्रारम्भको एक ऐतिहासिक उद्घोष थियो । सारमा त्यसले पुरानो बुर्जुवा संसदीय युगको अन्त्य र नयाँ सर्वहारा अधिनायकत्वको युगको थालनी गरेको थियो । त्यस महान् अक्टुबर समाजवादी क्रान्तिले रुसमा मात्र होइन, संसारलाई नै एक नयाँ उत्प्रेरणा र सन्देश दिएको थियो । अतः त्यो मानव जातिको इतिहासमा एक महान् अग्रगामी गुणात्मक छलाङ्ग थियो । साथै यो महान् अक्टुबर क्रान्ति ऐतिहासिक पेरिस कम्युनको निरन्तरता र उत्तराधिकारिणी पनि हो ।

महान् अक्टुबर समाजवादी क्रान्तिले नयाँ विश्वक्रान्तिको युगको थालनी गरिदिएकाले लेनिनको नेतृत्वमा २५ अक्टुबर (७ नोभेम्बर) १९१७ मा रुसमा सम्पन्न क्रान्तिको विशेष ऐतिहासिक महत्व छ । किनभने त्यो मानव जातिको इतिहासमा नयाँ युगको द्योतक भएकाले यसले विश्वका विभिन्न देशहरुमा सर्वहारावर्गको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढाउनका लागि नयाँ अध्यायको ढोका खोलि दिएको थियो ।
अतः यति ठूलो र गौरवशाली क्रान्ति पुरा गर्न लेनिन–स्टालिनले, रसियाली कम्युनिष्ट पार्टी (बोल्सेभिक) ले धेरै प्रकारका तयारीहरु अवश्यै पनि पूरा गर्नु परेको थियो । त्यसमा सर्वप्रथम वैचारिक तयारी (विचार निर्माणको तयारी) पार्टी, सङ्गठन निर्माणको तयारी, भौतिक तयारी (सैन्य तयारी), संयुक्त मोर्चा निर्माणको तयारी, प्रचार प्रसारको तयारी आदि तयारी गर्नु अनिवार्य शर्त थियो ।

यी माथि उल्लेखित तयारीहरुमध्ये प्रचार, प्रसारको तयारी, पार्टी प्रकाशन र दस्तावेजहरुको प्रकाशन र विवरणको तयारीमा लेनिन–स्टालिनले बढि महत्व दिएको पाइन्छ । क्रान्तिको निम्ति यो एउटा महत्वपूर्ण पक्ष पनि हो । यो एउटा अनिवार्य कार्य पनि हो ।

पार्टी प्रकाशन र पत्रपत्रिका प्रकाशनमा लेनिनले अति महत्व दिएको पाइन्छ । सर्वप्रथम लैनिनकै सम्पादकत्वमा पार्टीको मुखपत्र इस्त्रा प्रकाशित गरिदै आएको थियो । अर्थात् इस्क्रा (झिल्को) को सम्पादक लेनिन थिए । पछि मेन्सेविकहरुले इस्क्रामाथि कब्जा जमाए । लेनिन स्क्राको सम्पादक बन्नबाट पराजित भए । रुसका मजदूरहरुलाई प्रशिक्षित तुल्याउन, आम पार्टी पङ्क्तिलाई वैचारिक, राजनीतिक रुपमा प्रशिक्षित तुल्याउनका निम्ति पार्टी मुखपत्रको प्रकाशन अति जरुरी र अनिवार्य कार्य नै थियो, त्यसो भएर पछि लेनिनकै सम्पादकत्वमा ‘प्राब्दा’ नामक पत्रिका पार्टी मुख पत्रको रुपमा बोल्सेविकहरुले प्रकाशनमा ल्याएका थिए र लाखौं रुसी मजदूरहरु समक्ष प्राब्दा प्रकाशित गरेर अनिवार्य रुपमा उपलब्ध गराइने व्यवस्था थियो । यो पार्टीको एक अनिवार्य काम थियो ।

यहाँनेर रुसी क्रान्तिका प्रक्रियाका बारेमा उल्लेख गर्न जरुरी हुन्छ । रुस संसारको सबैभन्दा ठूलो देश हो । यसको सिमाना युरोपदेखि एसियासम्म फैलिएको छ । रुसमा निरङ्कुश राजतन्त्रात्मक जारशाही सरकारले लामो समयसम्म शासन ग¥यो । रुसमा सन १८६१ मा भूदास प्रथाको अन्त्य भयो । तर त्यहाँ जमिन्दारी प्रथा भने कायमै रहयो । त्यहाँ विस्तारै पुँजीवादको पनि विकास हुँदै गयो र पुँजीवादको विकाससितै मजदुरवर्गको पनि विकास भयो । प्लेखानोभ रुसमा माक्र्सवादको प्रचार गर्ने पहिलो व्यक्ति थिए । प्लेखानोभको नेतृत्वमा सन् १८८३ मा “मजदुर मुक्ति दल” बन्यो । यसले रुसमा माक्र्सवादको व्यापक प्रचार ग¥यो । यसै क्रममा लेनिनको निर्देशनमा “मजदुरवर्गको मुक्तिको लागि सेन्ट पिटर्सवर्ग सङ्घर्ष लिग” बन्यो । रुसमा यसै सिलसिलामा लेनिन, प्लेखानोभ आदिको पहलमा रसियाली सामाजिक जनवादी मजदुर पार्टीको निर्माण गरियो ।

सन् १९०३ मा यस पार्टीको दोस्रो महाधिवेशन भयो । त्यसै महाधिवेशनले रुसमा अधिकतम कार्यक्रमका रुपमा समाजवाद, सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने, न्यूनतम कार्यक्रमका रुपमा जारशाहीतन्त्रको अन्त्य, पुँजीवाद जनतन्त्रको स्थापना, सामन्ती भूदासप्रथाको उन्मूलन आदि कार्यक्रमलाई स्वीकार ग¥यो । त्यसैक्रममा पार्टीको दोस्रो महाधिवेशनको आयोजना गरियो । पार्टीभित्र विवाद पैदा भयो । पार्टीमा विभाजन आयो । दोस्रो महाधिवेशनको क्रममा रुसी कम्युनिष्ट आन्दोलनमा बोल्सेविक र मेन्सेविकको जन्म भयो ।
सन् १०५ मा आइपुग्दा रुसमा सशक्त रुपमा क्रान्ति विकसित भयो । आर्थिक तथा राजनीतिक हडतालहरु विकसित भए । राजनीतिक हडतालबाट सशस्त्र विद्रोहमा विकसित भयो । त्यसैक्रममा मजदुर, सैनिक र किसानहरुका सोभियतहरुको निर्माण भयो । यति भएर पनि सन् १९०५ को पुँजीवादी जनवादी क्रान्ति सफल हुन सकेन । जारशाही विजयी बन्यो । रुसमा त्यसपश्चात् प्रतिक्रियावादी कालको थालनी भयो ।

रुसमा प्रतिक्रियावादी कालको लामो तथा कठिन अवस्थालाई पार गर्दै एकातिर उभारको प्रक्रिया सुरु भयो भने अर्कोतिर सन् १९१४ मा पहिलो विश्वयुद्ध पनि सुरु भयो । रुस पनि अमेरिका, बेलायतसित मिलेर विश्वयुद्धमा सामेल भएको थियो । त्यसबेला रुस सामन्ती सैनिक साम्राज्यवादी मुलुकका रुपमा विकसित भइसकेको थियो । तर त्यसबेला रुसमा मजदुर र किसानहरुको आर्थिक अवस्था अत्यन्तै जर्जर बनेको थियो । युद्ध मोर्चामा सिपाहीहरु नाङ्गै, भोकै र खाली खुट्टा लड्नु पथ्र्यो । उद्योग, कलकारखाना, व्यवसाय ठप्प बनेका थिए । जर्मनहरुले जारशाही सेनालाई हराउँदै तथा रुसी भूभाग कब्जा गर्दै गइरहेका थिए । परिस्थिति गम्भीर बन्दै गयो । रुस आर्थिक दृष्टिले भयावह सङ्कटको भूमरीमा फस्यो र जारशाही परास्त बन्दै गयो ।

ठीक त्यही परिस्थितिमा लेनिनको नेतृत्वमा बोल्सेविक पार्टीले साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदल्न र शान्ति, रोटी तथा स्वतन्त्रका लागि जारशाहीका विरुद्ध सङ्घर्ष गर्न आह्वाान ग¥यो । पेत्रोग्राद, मस्को, बाकु लगायतको शहरहरुमा ठूला ठूला विरोध प्रदर्शन र हडताल विकसित भए । यी प्रदर्शनहरुले सशस्त्र विद्रोहको रुप लिए । जारशाही सेनाका सिपाहीहरुले विद्रोही मजदुरको विरोधमा होइन, सरकारका विरुद्ध बन्दुक सोझ्याए । जारशाही सेनाका सिपाहीहरु विद्रोहमा सामेल भए । सन् १९१७ २६ फरबरी (११ मार्च) मा केन्द्रीय कमिटीको ब्यूरोद्वारा एउटा घोषणापत्र निकालियो र त्यसमा जार शाही विरोधी सशस्त्र सङ्घर्ष जारी राख्न तथा अस्थायी क्रान्तिकारी सरकार गठन गर्न आह्वान गरियो । आखिर २७ फरबरी (१२ मार्च) १९१७ मा रुसमा पुँजीवादी क्रान्ति (फरबरी क्रान्ति) सम्पन्न भयो ।

त्यो बेला एकातिर बोल्सेविकहरु क्रान्तिको नेतृत्व गर्दै थिए भने अर्कोतिर मेन्सेविक तथा समाजवादी क्रान्तिकारीहरु पुँजीपतिवर्ग र जमिन्दारहरुसित गठबन्धन तथा सम्झौता गरी सरकारमा जान आतुर थिए । त्यसैक्रम उनीहरु सोभियतहरुमा बहुमत ल्याउन समेत ठूलो दौडधुप गरे । आखिर मेन्सेविक र समाजवादी क्रान्तिकारीहरु पुँजीपतिवर्गको अस्थायी सरकारमा सामेल भए । यसरी सरकारमा सामेल भएका मेन्सेविक र समाजवादी क्रान्तिकारीहरुलाई लेनिनले पुँजीपति वर्गका गोटी, कठपुतली र पुच्छर बताएका थिए ।

त्यतिबेला लेनिन स्वीजरल्याण्डमा निर्वासनमा हुनुहुन्थ्यो सन् १९१७ अप्रिल ३ को राती लेनिन फिन्ल्याण्डको बाटो हुदै रुसको पेत्रोग्रादमा फर्केका थिए । लेनिनको मजदुरहरुद्वारा भव्य स्वागत गरियो । त्यही क्रममा आयोजित एक कार्यक्रममा लेनिनले आफ्नो भाषण समाजवादी क्रान्ति जिन्दावाद’ भनेर टुङ्ग्याउनु भयो ।

त्यस पश्चात लेनिनले ४ अप्रिलमा आफ्नो प्रसिद्ध थेसिस तयार पार्नु भयो । त्यसमा लेनिन जनवादी क्रान्तिको चरणबाट समाजवादी क्रान्तिको चरणमा सङ्क्रमणको योजना प्रस्तुत गरियो ।

त्यस पश्चात् विशाल सङ्ख्यामा विरोध प्रदर्शनहरु गरिए “युद्ध मूर्दावाद, सारा सत्ता सोभियतहरुको हातमा देऊ” भन्ने नारा लगाए । अस्थायी सरकारमा सङ्कटको थालनी भयो । बदलिँदो परिस्थितिमा पार्टी भूमिगत जीवनबाट खुला भयो । पार्टीको इतिहासमा पहिलो पटक खुला रुपमा सम्मेलन गरियो । सम्मेलनमा बोल्सेभिक पार्टीमाथि भीषण हमला । अस्थायी सरकारले मेन्सेविक र समाजवादी क्रान्तिकारी समेतको मिलोमतोमा बोल्सेविकहरुमाथि भीषण हमला गरियो । ‘प्राब्दा’ छाप्ने ठाउँमा तोडफोड गरियो । बोल्सेविकका अन्य अखवार बन्द गरिए । बोल्सेविक पार्टीका कैयौं सदस्यहरुलाई गिरफ्तार गरियो । साम्राज्यवादी युद्धमोर्चामा सिपाहीहरुलाई खटाइयो । ७ जुलाई १९१७ मा लेनिनको गिरफ्तारीका लागि पक्राऊ पुर्जी जारी गरियो ।

कैयौं बोल्सेविकहरुमाथि राजद्रोह र सशस्त्र विद्रोह संगठित गर्ने अभियोग लगाइयो । स्थिति गम्भीर बन्यो । द्वैत सत्ताको अन्त्य भयो । द्वैत सत्ताको अन्त्य पश्चात् अस्थायी सरकारको दमन प्रक्रिया बढ्दै जान थाल्यो । त्यस स्थितिमा पार्टी भूमिगत भयो । लेनिन पनि भूमिगत भए । सशस्त्र विद्रोहको तयारीका लागि पार्टीको छैटौं महाधिवेशन बोलाइयो ।
त्यसपछि विद्रोहका लागि व्यापक तयारी गरियो । आखिर विद्रोह शुरु भयो । १९१७ अक्टोबर २५ (नोभेम्बर ७) तारिखका दिन लाल रक्षक र क्रान्तिकारी सैनिकहरुले रेलवेस्टेसन, हुलाक अड्डा, टेलेग्राफ अड्डा, मन्त्रालय र राज्य–बैंक कब्जा गरे । प्रि–पार्लियामेण्टलाई खारेज गरियो । पेत्रोग्राद सोवियत र बोल्सेविक केन्द्रिय कमिटिको हेडक्वार्टर स्मोल्नी क्रान्तिको हेडक्वार्टर बन्यो र त्यहीबाट लडाइका सारा आदेश पठाइन्थ्यो ।

विद्रोहको लागि बोल्सेविकहरुद्वारा तयार पारिएका क्रान्तिकारी सैनिक टुकडीहरुले एकदम ठीकसित लडाइँका आदेशहरुको पालना गरे । तिनीहरु लाल रक्षकहरुसित काँधमाकाँध मिलाएर लडे । नौसेना पनि सेनाभन्दा पछाडि परेन् । क्रोन्स्तात वोल्सेविक पार्टीको गढ थियो, र त्यसले धेरै पहिलेदेखि नै अस्थायी सरकारको प्रभुत्व मान्न इन्कार गरेको थियो । युद्धपोत अरोराले आफ्नो बन्दुक शीत दरबारतर्फ सोझ्यायो, र अक्टोबर २५ तारिकमा त्यसको मेघ–गर्जनले एउटा नयाँ युग, महान् समाजवादी क्रान्तिको युगको सूत्रपात गर्यो ।

अक्टोबर २५ (नोभेम्बर ७) तारिकमा बोल्सेविकहरुले “रुसका नागरिकहरुलाई” नामक एउटा घोषणापत्र निकाले । त्यसमा के घोषणा गरियो भने पुँजीवादी अस्थायी सरकारलाई पदच्यूत गरिएको छ र राज्य–सत्ता सोवियतहरुको हातमा आएको छ ।

यसरी सन् १९१७ अक्टुबर २५ (७ नोवेम्भर) मा महान् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भयो । यस क्रान्तिको पूर्व बेला र क्रान्तिको तयारी गर्ने बेलामा पार्टी माथि प्रतिबन्ध लगाइयो । पार्टी भूमिगत भयो । पेरुमाथि प्रतिबन्ध लगाइयो ।

क्रान्तिको महान् कार्यलाई पूरा गर्न पार्टी प्रकाशन र पत्रपत्रिकाको महत्वपूर्ण भूमिका हुने भएकाले लेनिन–स्टालिनले मास्कोको मुख्य शहरको एउटा घरमा भूमिगत प्रेस सञ्चालन गरेका रहेछन् । सरकारका सि.आई.डी. हरुले थाह पाएमा दमन गरिने भएकाले जुन घरको जमिनमुनि ३ तला तल प्रेस राखेर पार्टीको मुखपत्र १ प्राब्धा लगायत पार्टीका महत्वपूर्ण प्रकाशनहरु छाप्नका लागि भूमिगत प्रेस राखिएको रहेछ र त्यहाँ स्टालिन स्वयम बसेर प्रकाशनका सम्पूर्ण कार्यहरु पुरा गर्ने व्यवस्था गरिएको रहेछ । सरकारले थाह नपाओस भनेर घरको सडक पट्टीको भागमा फलफूल पसल राखिएको रहेछ, भित्र तीन तला भूँइमा भूमिगत रुपमा प्रेस सञ्चालन गरिएको रहेछ ।

गत वर्ष सन् २०१७ अक्टुबर २५ (७ नोवेम्बर) मा महान् अक्टुबर क्रान्ति सम्पन्न भएको १०० वर्ष पूरा हुदै थियो । महान् अक्टुबर क्रान्तिले १०० वर्ष पूरा गरेको अवसरमा रुसका क्रान्तिकारी धारका कम्युनिष्ट पार्टीहरुले रुसको ऐतिहासिक शहर लेनिनग्राद (जुन स्थानमा लेनिनले आम जनविद्रोहको पहिलो उद्घोष गर्नु भएको थियो) मा महान् अक्टुबर क्रान्ति सत वार्षिकी उत्सवको आयोजना गर्ने भएका थिए । त्यस अवसरमा मलाई भाग लिने अवसर प्राप्त भएको थियो । १५ सदस्यीय नेपाली टोली सन् १९१७ नोवेम्बर १ का दिन रुसको राजधानी मस्कोमा पुग्यौं । रुसी क्रान्तिकारी कम्युनिष्ट नेता कमरेड दिमित्री कोन्चेन्कोको नेतृत्वमा आएको एकटोलीले हामीलाई मस्को स्थित भेनोकोभो अन्तराष्ट्रिय विमानस्थलबाट स्वागत गरे पश्चात् आधा बाटो बसद्वारा र आधा बाटो मेट्रो रेलद्वारा प्रेमोमायास्कायामा शहर ओर्लेर होस्टेलहरुमा बसालियो ।

नोवेम्बर २ का दिन विशाल रेडस्वायरस्थित वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल माक्र्सको विशाल शालिक माथि सलामी चढाउने, महान् लेनिनको पार्थिव शरीर (शव) माथि सल्गामी चढाउने, जर्जिया पार्कको रमणीयता र विशाल रेड स्क्वायरको अवलोकन गर्ने कार्य सकेका थियौं । ३ नोवेम्बरका दिन मस्को नदीका रमणीय दृश्यहरु लेनिन म्युजियम, युद्ध म्युजियम, सहीद पार्क तथा विश्वकै पहिलो अन्तरिक्ष यात्री युरी गागरिनले यात्रा पार गरेको यान (रकेट) को अवलोकन सकेर कमरेड दिमित्री कै नेतृत्वले साँझ पर्दै थियो । महान अक्टुबर क्रान्तिको पूर्व बेला क्रान्तिको तयारी गर्ने क्रममा सरकारी दमनबाट जोगिन भूमिगत रुपमा लेनिन–स्टालिनद्वारा संचालन गरिएको भूमिगत प्रेस रहेको एक ऐतिहासिक म्युजियममा लागियो । बाहिरबाट झ्वाट्ट हेर्दा त्यो घरमा फलफूलको पसल गरिरहेको जस्तो देखिन्थ्यो । बीचबाट एउटा सागुरो ढोकाबाट भित्र पस्नु पर्ने रहेछ । हामीलाई सरासर भित्र लगियो । साना साना गल्ली र साना साना कोठाहरु भएको, पहिलो तला हुदै तेस्रो तलासम्म जानलाई बीचबीचमा भ¥याङको व्यवस्था रहेछ ।

पालो पालो गरि सानै ग्रुप भएर त्यस भूमिगत प्रेसको अन्तिम तला सम्म पुगियो । पहिलो तलामा सम्पर्क राख्ने, दोस्रो तलामा छापिएका पत्रपत्रिकाहरु राख्ने र वितरण गरिदो रहेछ र तेस्रो तलमा एउटा सागुरो स्थानमा छाप्ने मेसिन प्रेस राखिएको रहेछ । सबै ठाउ, स्थान र अन्य महत्वपूर्ण स्थान र वस्तुहरुको अवलोकन गराइयो । गाइडले अङ्ग्रेजी भाषाबाट सबै कुरा बुझाउने प्रयास गरिरहेका थिए । अलि अध्यारो थियो एउटा कोठामा एउटा मात्र बिजुलीका बल्बहरु जडान गरिएको रहेछ । त्यस अवस्मिरणीय र ऐतिहासिक क्षणका महत्वपूर्ण फोटोहरु खिच्ने काम पनि गरियो ।

यो ऐतिहासिक म्युजियम हेरी सकेपछि मलाई के अनुभूति भयो भने क्रान्तिका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई पार्टी प्रकाश र प्रेसको महत्व कति हुँदो रहेछ भन्ने ठूलो शिक्षा मिलेको अनुभूति भयो ।

त्यस ऐतिहासिक म्यूजियमको अवलोकन, अध्ययन गरि सकेपछि त्यो अविस्मरणीय क्षणलाई कहिल्यै भूल्न नसकिने मनन गर्दै हामीहरु त्यहाबाट बाहिरियौं । बाहिर सडकमा निस्कने बेला रात परिसकेको थियो ।