बर्दियाको सीमा क्षेत्रमा सीमा अतिक्रमणको विरोधमा क्रान्तिकारी माओवादीको प्रदर्शन

प्रकाशित मिति : २०७५ जेष्ठ २८

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाले जिल्लाभरि सीमाक्षेत्रको अनुगमन, निरीक्षण तथा नेपाली भूमि अतिक्रमण विरूद्ध सीमा क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

क्रान्तिकारी माओवादी बर्दिया जिल्ला समितिको यस अघिको बैठकले सीमाक्षेत्रका समस्या, जनतासँगको सम्बन्ध तथा भारतीय विस्तारवादी नीतिले नेपाली राष्ट्रियतामाथि पारेको गम्भीर समस्याको स्थितिलाई स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय गरेनुसार विरोध प्रदर्शन गरेको हो ।

क्रान्तिकारी माओवादी बर्दियाले खुल्ला सीमा नाकाका कारण प्रभावित क्षेत्रको निरीक्षण, भारतीय पक्षले सीमाक्षेत्रमा फैलाएको आतंक र त्यसबाट उत्पन्न समस्याहरूको अनुगमनको कार्यक्रम गत विहिबारदेखि शुरू गरेको थियो ।

क्रान्तिकारी माओवादी बर्दियाले नारा जुलुससहित बढैयाताल गाउपालिका अन्तर्गत सीमाक्षेत्रको पिलर नम्बर ४१ मा शनिबार कोणसभा गरेको छ ।

उक्त विरोध कार्यक्रममा स्थानीय नागरिक, राष्ट्रवादी नागरिकसहित सयौं नेता, कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

सीमा अतिक्रमणको उक्त विरोध कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा बाँके बर्दिया ईन्चार्ज सङ्कुल, बर्दिया सेक्रेटरी लोकेश लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

सीमा अतिक्रमणको विरोध कार्यक्रम गरेको नेपालको प्रहरी प्रशासनले सुइको समेत नपाए पनि कार्यक्रम सकेर नारा जुलुससहित फर्किने क्रममा भने हस्तक्षेपको प्रयास गरेको बर्दिया सेक्रेटरी लोकेशले जानकारी दिनुभयो ।

प्रहरीले आन्तरिक प्रशासनको अनुमति नलिई सीमाक्षेत्रमा नाराबाजी गरेको भन्दै केरकार शुरू गरेपछि कार्यक्रममा सहभागिताहरूले भारतीय दलालहरू होसियार, निकम्मा सरकार मुर्दावाद भन्दै चर्को नाराबाजी गरेका थिए ।

पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया ईन्चार्ज सङ्कुलले देशका दलालहरूको कानुन संविधान जनताको र राष्ट्रिय हितमा नभएको भन्दै आफुहरू जनवादी ब्यवस्थाको तयारीमा जुटिरहेकाले जनताको पक्षमा आन्दोलन गर्न कसैको अनुमति लिन आवश्यक नभएको तर्क गरेँ ।

सेक्रेटरी लोकेशले भारतीय विस्तारवादी नीतिको अन्त्य तथा सबै असमान, राष्ट्रघाती सन्धिसम्झौता खारेज नगरेमा अब जनता राज्यलाई पुकारेर बस्ने स्थितिमा नभएको भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा पार्टीले आन्दोलन गर्ने चेतावनी दिए ।

उक्त विरोध कार्यक्रममा बाँके जिल्ला सेक्रेटरी अर्जुन, जिल्ला सदस्य प्रेम थापा, सुमसुद्दीन सल्मानी, कर्ण बिक, बिरेन्द्र शाही, पून्न सिंह, भुल्लन केवट लगायतका नेताहरू समेत सहभागी रहेका थिए ।

अनुगमनबाट सीमाक्षेत्रमा भारतीय पक्षका सुरक्षाकर्मीले एकाधिकार प्रयोग गरेको, नेपालको सुरक्षा निकायको सीमानामा अत्यन्त न्यून उपस्थिति रहेको, भारतीय पक्षबाट सीमाक्षेत्रका कृषकहरू आफ्नै घरमा असुरक्षित, आतंकित बन्नु परेको, विभिन्न स्थानमा भूमि अतिक्रमण गरिएको, खुल्ला रूपमा भारतीय एसएसपीहरू सीमाक्षेत्रका नेपाली बस्तीहरुमा आएर तर्साउने गरेको रिपोर्ट खुल्न आएको क्रान्तिकारी माओवादी बर्दियाले जनाएको छ ।

क्रान्तिकारी माओवादी बर्दियाका अनुसार सीमाक्षेत्रमा पर्ने बढैयाताल गाउपालिका अन्तर्गत फुटाहाका एक स्थानियबासीले अनुगमनका क्रममा भारतीय दादागिरिको विरूद्धमा राज्य मौन बसेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले सीमाक्षेत्रका जनतालाई नेपालका नेताहरूले भोटको लागि मात्र प्रयोग गर्ने गरेको दुखेसो पोखे, उनले त्यहाँका नेपालीलाई राज्यले भारतीय बनाउन खोजेको आरोप समेत लगाए ।

उक्त क्षेत्रको पिलर नम्बर ४२ नजिकै वि.स. २०६७ साल फागुन ५ गते भारतीय प्रहरीहरू हतियारसहित नेपालमा प्रवेश गरेर स्थानीय हर्कबहादुर शाहीलाई गोली हानी नियन्त्रणमा लिएका थिए । परिवार श्रोतका अनुसार उनी अहिलेसम्म बेपत्ता छन् ।

त्यसैगरी, केहि बर्ष पहिले भारतीय एसएसबीहरूले माओवादीहरूलाई गाउँमा राखेको भन्दै स्थानीय बजारमा दिनदहाडै आगजनी र आतंक मच्चाएका थिए ।

अहिले पनि पिलर नम्बर ४०, ४१, ४२, ४३, ४४, ४५, ४६, त्यसैगरी पिलर नम्बर ५५, ५६, ५७, त्यस्तै ६२, ६४ लगायतका क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणको प्रयास भैरहेको छ ।

सीमाक्षेत्रका नेपालीहरू भारतीय प्रहरीका कारण दिनानुदिन असुरक्षित बन्दै गएका छन् । तर त्यहाँ राज्यको उपस्थिति भने देखिँदैन ।