‘शिक्षा क्षेत्रको निजीकरण, व्यापारीकरण र माफियाकरण– मूर्दावाद’ : गजुरेल

‘शिक्षा क्षेत्रको निजीकरण, व्यापारीकरण र माफियाकरण– मूर्दावाद’ : गजुरेल

काठमाडौं । शिक्षा क्षेत्रमा भएको निजीकरण, व्यापारीकरण, माफियाकरणका विरुद्ध र पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महंगीका विरोधमा सडकमा उत्रिएर विरोध प्रदर्शन गर्दै आएका आठ विध्यार्थी संगठनले आइतबार एक वृहत् अन्तक्र्रिया सम्पन्न गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा (विप्लव) निकट अखिल क्रान्तिकारी, नयाँ शक्ति विध्यार्थी युनियन, राजपा विध्यार्थी संगठन, अनेरास्ववियू पाँचौ, संघीय समाजवादी विध्यार्थी फोरम, राष्ट्रवादी विध्यार्थी संघ, गोपाल किराती निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा ‘विध्यार्थी आन्दोलन र अबको बाटो’ विषयक एक दिवसीय अन्तक्र्रियामा वक्ताहरुले क्रान्तिकारी विध्यार्थी आन्दोलनको उठानमा जोड दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले निजीकरण, व्यापारीकरण र माफियाकरण गरिएको शिक्षा नीतिलाई खारेज गरिनु पर्ने विचार राख्नु भयो । एमाले र माकेका अधिकांश नेताहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी रहेकोले उनीहरुले निजीकरण, व्यापारीकरण र माफियाकरणलाई बढवा दिइरहेको चर्चा गर्दै अध्यक्ष गजुरेलले बलपूर्वक यस्तो नीतिको खारेज गराउने दिशामा विध्यार्थी आन्दोलनको विकास गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “शिक्षामा भएको निजीकरण, व्यापारीकरण, माफियाकरण– मूर्दावाद, यो शिक्षा नीतिलाई खारेज गर्नु पर्छ पर्छ ।”

ओली सरकारले भनेको समाजवाद पुँजीवादसम्म पनि नभएर विकृत पुँजीवाद भएको सरकारको सयदिन, नीति तथा कार्यक्रम र बजेटसम्म आइपुग्दा प्रष्ट भएको दावी गर्दै उहाँले भन्नुभयो, “अमेरिका, बेलायत जस्तो देशमा पनि शिक्षा र स्वास्थ्यमा निजीकरण हुँदैन र छैन, यहाँ शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा समेत निजीकरण, व्यापारीकरण र माफियाकरणलाई बढवा दिनु भनेको विकृत पुँजीवाद हो । विकृत पुँजीवादबाट देशमा विकास समृद्धि कहिल्यै ल्याउन सकिन्न । यो सरकार मुलुकमा समृद्धी ल्याउने होइन, सिक्किमीकरण गर्ने दिशातिर गइरहेको छ । तसर्थ, व्यवस्था परिवर्तनकै लागि विध्यार्थीहरुले आन्दोलन गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “नेपालमा आन्दोलन क्रान्ति चाँडै हुन्छ, क्रान्तिमा अग्रणी भूमिका खेल्ने र क्रान्तिको दन्काउने भनेको विध्यार्थी शक्ति नै हो । त्यसैदिशातिर अबको विध्यार्थी आन्दोलन अगाडि बढ्नु पर्छ र आफ्नो गौरवशाली र क्रान्तिकारी इतिहासको कडीलाई जोडेर लैजानु पर्दछ ।”

आइतबार आयोजित उक्त अन्तक्र्रियामा आफ्ना धारणा प्रस्तुत गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले क्रान्ति र परिवर्तन निरन्तर चल्ने प्रक्रिया रहेको भन्दै मुलुकमा फेरि पनि क्रान्तिको खाँचो रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “क्रान्ति सकियो, युवा विध्यार्थीले राजनीतिमा चासो राख्नु हुँदैन, आन्दोलन गर्नु हुँदैन चुपचापसँग किताब पढेर बस्नुपर्छ भन्ने डरलाग्दो भाष्यको आविस्कार गरिदैछ । आन्दोलन, क्रान्ति, संघर्ष कहिल्यै पनि सिद्धिदैन । यसमा विध्यार्थीहरुले गर्व गर्नुपर्छ ।” उहाँले अगाडि भन्नुभयो, “शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हकको रुपमा व्याख्या गर्दै यसमा राज्यले दायित्व लिनुपर्छ भनिए पनि अहिलेसम्म यसको कार्यान्वयन भएको छैन । यसका लागि पनि सडक संघर्ष गर्नुपर्ने भएको छ । नेपालमा अब छिट्टै नयाँ आन्दोलन र क्रान्तिको चक्र आउँछ । त्यसबेला विध्यार्थीहरुले अग्रगामी भूमिका निर्वाह गर्नु पर्छ ।”

नेकपा (विप्लव)का स्थायी समिति सदस्य सन्तोष बुढाले वर्तमान शिक्षा नीति जनविरोधी भएको भन्दै ध्वस्त बनाउनुपर्ने धारणा राख्नुभयो । दलाल संसदीय व्यवस्थाले बनाएको शैक्षिक नियम, कानून दलाल र माफियालाई मात्र फाइदा हुने किसिमको भएको भन्दै आन्दोलनबाट आगो लगाएर नष्ट गराउन विध्यार्थी आन्दोलन अगाडि बढाउनु पर्ने विचार राख्नुभयो ।

अहिलेको शिक्षा नीति नेपाली समाजलाई दलालीकरण र माफियाकरणतर्फ लैजाने भएकै कारण यसलाई खारेज गरेर नयाँ वैज्ञानिक शैक्षिक नीति निर्माण गर्न आन्दोलन केन्द्रित गर्न अपिल गर्नुभयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का संयोजक गोपाल किराँती राईले प्रधानमन्त्री ओली र नेता प्रचण्ड देशका ठूला महंगी र भ्रष्टचारी भएको चर्चा गर्दै उनीहरुले भनेको समाजवाद नक्कली भएको बताउनु भयो । र, विध्यार्थी आन्दोलन आमूल परिवर्तनको आन्दोलनसँग जोडिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले नेपालको शिक्षा नीति नेपालको माटो सुहाउँदो नभएको चर्चा गर्दै नेपाल र नेपाली जनताको हितनुकूलको शिक्षा नीति ल्याउन विध्यार्थी आन्दोलनलाई अगाडि बढाउनु पर्ने विचार राख्नुभयो ।

नेकपा (माले)का कुमार वेलवासेले सरकारले शिक्षालाई व्यापारीकरण गरेर सामान्य नागरिकलाई महंगी शिक्षाको मारमा पारेको बताउनु भयो । राष्ट्रवादी केन्द्र नेपालका संयोजक चन्द्रबहादुर थापा ‘सागर’ले दलाल सरकारले शिक्षा र स्वास्थ्यलाई व्यापारीको पोल्टा पु¥याएको भन्दै गलत शिक्षा नीति भत्काउन नौजवान युवा विद्यार्थी संघर्षमा हाम फाल्नुको विकल्प नरहेको विचार राख्नुभयो । संघीय समाजवादी फोरमका युवा नेता भीम राईले विध्यार्थी आन्दोलन अहिले शिथिल अवस्थामा रहेको चर्चा गर्दै विध्यार्थी आन्दोलनलाई जुझारु रुपमा अगाडि बढाउनु पर्ने विचार राख्नुभयो ।

कार्र्यक्रममा विध्यार्थी संगठनका नेताहरुले शिक्षा क्षेत्रमा बढ्दो निजीकरण, व्यापारीकरण र माफियाकरणको विरोध गर्दै विध्यार्थी आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्दै क्रान्तिकारी विध्यार्थी आन्दोलनको उठान गर्ने दिशामा लैजानुपर्ने आवश्यकतामाथि जोड दिएका थिए ।

विध्यार्थी नेताहरुले शिक्षा क्षेत्रमा निजीकरणको अन्त्य राजनीतिक परिवर्तनको आन्दोलनसँग सम्बन्धित रहेकोले विद्यार्थी आन्दोलनलाई आमूल परिवर्तनको आन्दोलनसँग जोडेर लैजाने उद्घोष गरेका थिए ।