काठमाडौं, जेठ १८ । अमेरिकाले मेक्सिको तथा क्यानडाबाट आयात हुने आल्मुनियममा १० देखि २५ प्रतिशतसम्म कर बढाउने निर्णय गरेपछि करको विषयलाई लिएर मेक्सिको, क्यानडा र अमेरकिाबीच तनाब उत्पन्न भएको छ ।

दुई छिमेकी देशहरुसँग कुनै पनि वार्ता र सहमति नगरी ट्रम्प सरकारले यी देशहरुबाट आयात गरिने आल्मुनियममा चर्को कर बढाउने गरी गरिएको एकतर्फी निर्णयले अमेरिका र उसका विश्व व्यापारका साझेदारहरु निकै आक्रोशित भएका छन् । उनीहरुले यसको बदला लिइने भनी सार्वजनिक रुपमै आक्रोशपूर्ण अभिव्यक्ति पनि दिएका छन् ।

युरोपीय व्यापार साझेदार देशहरुले अमेरिकाको यो निर्णयलाई तानाशाही नीति र निर्णय भन्दै अमेरिकाले विगतको लामो इतिहासमा यस्ता खाले निर्देशनमुखी निर्णयहरु गर्दै आएको तीतो यथार्थतालाई पुनः स्मरणसमेत गर्न पुगेका छन् । प्रतिकूल अवस्थामा आफूसँग व्यापारमा साझेदारी गरौं भनी साझेदारहरु खोज्दै हिंड्ने र मौका पाउनासाथ एकलौटी र मनोमानी रुपमा निर्णय लिएर साझेदारहरुलाई लाद्ने गर्दै आएकाले यसपाला भने अमेरिकाको यो निर्णयविरुद्ध कदम उठाई छाड्ने बताएका छन् ।

निकै आक्रोशित र उत्तेजित अभिव्यक्ति दिंदै अमेरिकाका साझेदारहरुले ट्रम्पको यो निर्णयले विश्व बजारमा खलल उत्पन्न हुने र यसले विश्वका करोडौं उपभोक्ताहरुलाई ठूलो नोक्सानी पुयाउने चेतावनी समेत् दिएका छन् । यसले विश्व बजारमा द्वन्द्व पैदा गराउने चेतावनी पनि दिइएको छ ।

उनीहरुले विश्वमा चल्दै आएको स्तन्त्र अर्थबजारमा निकै धरमराहट ल्याउने समेत बताएका छन् । तर स्मरणीय कुरा के हो भने अमेरिका र यसका साझेदारहरुले विश्व व्यापार र विश्व बजारमा मनोमानी सिण्डिकेटहरु खडा गरेर ब्रह्मलूट मच्चाउँदै आएका छन् । स्वतन्त्र व्यापारको कतै पनि गुञ्जायस रहेको छैन ।

राजनीतिक धारका हिसाबले हेर्दा यो अन्तर साम्राज्यवादी व्यापारिक अन्तर विरोध हो । यो मूलतः विश्वमा एकलौटी आर्थिक दोहन गर्दै आएका ठूला देशहरुबीचको व्यापारिक खिचातानी हो । तर आम रुपमा यसले सबै जनता र उपभोक्तालाई विश्वभर नै प्रभाव पार्ने देखिन्छ ।
ट्रम्प प्रशासनले गरेको निर्णयका बारेमा वार्तामा बसेर निर्णय लिन सकिने बताइए पनि त्यो त्यति विश्वसनीय नभएको उसका व्यापार साझेदारहरुले बताइरहेका छन् । ट्रम्प प्रशासनले संरक्षणवादी नीति अख्तियार गरेपछि अमेरिकाले आफूलाई फाइदा हुने गरी एकपछि अर्को गर्दै व्यापार तथा पारबाहनमा एकतर्फी निर्णय लिने गरिरहेको छ ।

यस अघि चीनबाट अमेरिकामा आयात हुने चिनियाँ सामानमाथि महङ्गो कर लगाउन ट्रम्प सरकारले गरेको निर्णय पनि उत्तिकै विवादित बनेको थियो । यो विवादलाई दुई पक्षीय सहमतिका आधारमा टुङ्ग्याइएन, बरु चीनले उल्टै अमेरिकी आयातित सामानमा थप कर लगाउने निर्णय लिनु परेको थियो ।

ट्रम्प प्रशासनले यदि आफूले लिएको निर्णयमा पुनर्विचार गरेन भने उसले आल्मुनियम निर्यातका लागि चीन र अरबमाथि भर पर्नुपर्ने देखिन्छ । यो उसका लागि महंगो र अव्यवहारिक साबित हुने उसका व्यापार साझेदारहरुले बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर