२०१८ मा १ घण्टामै फुलचार्ज हुने आइफोन ल्याउँदै एप्पल

प्रकाशित मिति : २०७५ जेष्ठ ४

एजेन्सी । सन् २०१८ मा नयाँ आइफोन सार्वजनिक गर्ने तयारी एप्पल लागि परिरहेको छ । यो सँगै यसको बीच एउटा नयाँ खबर पनि सार्वजनिक भएको छ । समाचारका अनुसार एप्पल नयाँ आइफोन सँगै नयाँ खाले चार्जर पनि ल्याउदै छ । जसले आइफोनलाई तीव्र गतिमा चार्ज गर्नेछ । साथै यो चार्जरले म्याकबुकलाई पनि चार्ज गर्नेछ ।

यतिमात्र होइन यो चार्जिङ केवलले तिव्र गतिमा डाटा ट्रान्सफर समेत गर्न सक्नेछ । चार्जर ल्याब नामक वेबसाइटको रिपोर्ट अनुसार आगामी आइफोनसँगै १८वाट युएसबी टाइप सी लाइटनिङ फास्ट चार्जर उपलब्ध हुनेछ ।

रिपोर्ट अनुसार १८ वाट फास्ट चार्जिङ एडाप्टरबाट हालको चार्जरको तुलनामा दोब्बर छिटो आइफोन चार्ज हुनेछ । हालको चार्जरको अडाप्टर ५ वाटको हुने गरेको छ । आइफोन एट, एट प्लस तथा आइफोन एक्सले फुल चार्ज हुनका लागि ९० देखि १२० मिनेटसम्मको समय लिने गरेका छन् ।

यो नयाँ चार्जरको प्रयोगले एक घण्टाभित्रमै आइफोन फुल चार्ज हुने बताइएको छ । साथै उक्त चार्जरको केवललाई आइफोन र म्याकबुकको बीचमा जोडेर तिव्र गतिमा डाटा ट्रान्सफर गर्न पनि प्रयोग गर्न सकिनेछ ।

यद्यपि एप्पलको आइफोन एक्स, आइफोन एट तथा एट प्लसमा फास्ट चार्जिंग फिचर रहेको छ । तर एप्पलको विद्यमान चार्जर नै आइफोनलाई छिटो चार्ज गर्नसक्ने क्षमताको छैन । सोही कारण एप्पलले यो वर्ष आगामी आइफोनसँगै तिव्र गतिको चार्जर पनि ल्याउनेछ ।

समाचार अनुसार एप्पलले यो वर्ष सन् २०१८ मा तिनवटा आइफोन सार्वजनिक गर्नेछ । जसमध्ये एउटा ६.१ इन्च स्क्रिन तथा थ्री डी टच फिचर समेत भएको हुनेछ ।