खोटाङ । नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल किराती राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अध्यक्षमा गौरव राई र महासचिवमा प्रेमबहादुर राईलाई निर्वाचित गरेको छ । “सम्पूर्ण उत्पीडित जाति र वर्गहरु एक होऔं” भन्ने मूल नारासहित खोटाङ जिल्लाको हलेसीमा सम्पन्न भएको सम्मेलनले मोर्चाको उपाध्यक्षमा क्रमशः टङकमणि राई र जसोदा राई, सचिवमा क्रमशः राजकुमार राई र प्रबिण राई र कोषाध्यक्षमा गङगादेवी राई सहित २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र किरातीहरुको मुक्ति, आत्मनिर्णयको अधिकार, पहिचानसहितको संघीयताका लागि संघर्ष र आन्दोलनकै रूपमा सम्पन्न भएको सम्मेलनकोे उद्घाटन देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपि गजुरेलले गर्नुभएको थियो । पार्टीको नीति कार्यक्रमलाई लागु गर्दै सबैखाले प्रतिक्रियावाद, अवसरवाद, विस्तारवाद तथा साम्राज्यवाद र संशोधनवादका विरुद्ध संघर्ष गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सशक्त रुपमा अगाडि बढने निर्णय तथा प्रतिबद्धता गरेको नवनिर्वाचित अध्यक्ष राईले बताउनु भयो ।
सम्मेलनमा क्रान्तिकारी माओवादीका पिविएमद्वय राम आचार्य, नगेन्द्र राईलगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।