काठमाडौं । सरकारले भारतबाट दैनिक ५ करोड ७ लाखभन्दा बढीको विजुली किनेर लोडसेडिङ अन्त्यको घोषणा गरेको छ । उर्जामन्त्रालय र उर्जा मन्त्रीले मुलुकलाई उर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने घोषणा गरिरहँदा चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली भारतबाट आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । यस आधारमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ । दैनिक रुपमा भारतबाट करिब ५ करोड ७ लाखरुपैयाँको बिजुली आयात भइरहेको छ । चालू आवको १० महिनामा १ अर्ब ९३ करोड युनिट बिजुली भारतबाट आयात गरिएको छ । जानकारी प्रवक्ता अधिकारीले दिए । उनका अनुसार चालू आवका बाँकी दुई महिना सकिँदासम्म करिब २ अर्ब युनिट बिजुली आयात हुने देखिन्छ ।
प्राधिकरणले औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि गत सोमबारदेखि अन्त्य भएको घोषणा गरेको छ । भारतबाट आयात हुने बिजुलीको परिणामसँगै मूल्य पनि बढेको छ । भारतले गत चैत १४ देखि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीमा प्रतियुनिट ६० पैसा मूल्य बढाएको थियो । भारतले प्रतियुनिट ३ रुपैयाँ ६० पैसा भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३ रुपैयाँ ९८ पैसा भारु (६.३६ रुपैयाँ) बनाएको थियो । भारतले ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने सम्झौता प्राधिकरणले गरेको छ । यसले आगामी वर्ष चालू आवमा भन्दा बढी रुपैयाँको बिजुली भारतबाट आयात गर्नुपर्ने निश्चित छ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १२० मेगावाट बिजुली आयात गर्दै आएको नागरिक दैनिकमा समाचार छ ।