मोदी फर्किएलगत्तै कञ्चनपुरको भुडामा पुनः सीमा अतिक्रमण

मोदी फर्किएलगत्तै कञ्चनपुरको भुडामा पुनः सीमा अतिक्रमण

कञ्चनपुर । विवादित नेपाल भ्रमण सकेर भारतीय प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै भारतीय पक्षबाट कञ्चनपुरको बेलौरी नगरपालिका १० भुडाको नेपाली भुमिमा हस्तक्षेप अर्थात सीमा अतिक्रमण गरिएको छ । भुडाका स्थानीय किसान खेमराज पन्तको जमिनमा भारतीय पक्षले हस्तक्षेप गरेका छन् । किसान पन्तले आफु जमिन जोतिरहेका बेला आइतबार एसएसबीले रोकेको बताए ।

‘यो मेरो सीमा क्षेत्रको जमिन उचोनिचो थियो, ‘उनले भने, ‘सो जमिन बराबरी गर्दै थिए एसएसबी आएर रोकिदिए ।’ लालपुर्जा भएको जमिनको मालपोत तिर्दै आएको बताउदै उनले एक्कासी एसएसबी आएर अवरोध गरेको बताए । गत माघमा संयुक्त सीमासर्वे टोलीले सो क्षेत्रको जमिन भारतमा पर्ने देखाएको भन्दै एसएसबीले रोकेको पन्तले बताए ।

एसएसबीले खेत मिलाउन रोकेपछि काम रोकिएको पन्तले बताए । आफ्नो जमिन रोकिएको बारे बेलौरी नगरपालिकाले घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बेलौरी नगरपालिका १० का वडाध्यक्ष होरिलाल चौधरीले यस बारेमा नेपाली सुरक्षा अधिकारी सहित भारतीय एसएसबीसंग छलफल गरेर निकास निकाल्ने बताए ।

कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय एसएसबीले पटक पटक अवरोध गर्दा पनि नेपाली पक्षबाट सीमा सुरक्षा क्याम्प नराखिएको स्थानीयले गुनासो गरेका छन् । गत बैशाख पहिलो साता भारतीय एसएसबीले कञ्चनपुरकै पुर्नवास नगरपालिका ९ विचफाँटा आफ्नै भूमिका तारबार लगाउदा तारबार उखेलिदिएका थिए । यसरी पटक पटक भारतीय पक्षबाट सीमामा ज्यादती र हस्तक्षेप हुँदा पनि केपी ओली नेतृत्वको सरकारले कुनै कदम चालेको छैन । यहाँसम्म कि मोदीको नेपाल भ्रमणको बेला सीमा समस्याको विषयमा चुँ सम्म नबोलेको भन्दै स्थानीयले ओली नेतृत्वको सरकारको कडा आलोचना समेत गरेका छन् । त्यसमाथि दुवैदेशका प्रतिनिधि सम्मिलित सीमा सर्वेषण टोलीले समेत बर्षौदेखि खाइपाइ आएको नेपाली नागरिकको भूमि भारततर्फ पारिनुले राज्यले नै पो नेपाली भूमि बेच्न थालेको हो कि गम्भीर आशंका हुन थालेको सीमाका नागरिकहरुले बताउन थालेका छन् ।