एमाले सांसद लामिछानेको निधन

प्रकाशित मिति : २०७५ जेष्ठ १

काठमाडौं । मस्तिष्कघातका कारण एमाले सांसद हरिशरण लामिछानेको निधन भएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिव ५१ वर्षीय हरिशरण लामिछानेको सोमबाररै साँझ अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा लामिछानेको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री एवं (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको झण्डा र अर्का पूर्वप्रधानमन्त्री एवं नेता माधवकुमार नेपालले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

आइतबार टाउको दुखेपछि काठमाडौं मेडिकल कलेज सिनामंगल ल्याइएका लामिछानेलाई चिकित्सकले मस्तिष्काघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको सोमबार दिउसो निधन भएको हो ।