नेपाली फुटबलका पूर्वकप्तान मणिविक्रम शाहको निधन

प्रकाशित मिति : २०७५ जेष्ठ १

 काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका शाहको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए ।
शाहले सन् १९८५ मा बंगलादेशको ढाकामा भएको तेस्रो साफ प्रतियोगिता १७ वर्षको उमेरमा खेलेका थिए । उनले पाँच पटटक साफ खेले । सन् १९८७ को साफमा नेपाल तेस्रो भयो । त्यसपछि सन् १९८७ मा दोस्रो भएको नेपाल सन् १९८९, सन् १९९१ मा सहभगी मात्र भयो । सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफमा नेपाल विजयी भयो । जसमा फरवार्ड शाहको भूमिका महत्वपूर्ण थियो । त्यसपछि उनी सन् १९९५ मा भारतमा भएको सातौँ साफमा पनि खेले ।

उनी एसियन कप छनोट १९८६, एसियन गेममै जापानमा १९९४, १९९८ मा बैंककमा सहभागी भएका थिए । एशियाली खेलकुदमा सन् १९९८ मा राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गरेर सहभागी भएका उनी एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र फुटबलर हुन् ।
उनले विश्वकप छनोटका लागि सन् १९८९ मा कोरियामा पनि खेले । उनी ओलम्पिक छनोटमा खेलमा पनि सन् १९८७ जापान र १९९८ मा कोरियामा सहभागी भएका थिए । उनले सन् १९८५ देखि १९९८ सम्म नेपाली राष्ट्रिय टोलीमा रहेर फुटबल खेले । राष्ट्रिय टोलीबाहिर पनि उनले मनाङ मस्र्याङ्दी, आरसीटी, एनआरटी, फ्रेण्डस क्लब, ब्वाइज क्लब, आरएनएसीबाट फुटबल खेले । उनको प्राय समय मनाङ मस्र्याङ्दी क्लबमै बित्यो । उनले दुई वर्ष सन् ०९७ र ०९८ सालमा राष्ट्रिय टिमको कप्तानको भूमिका निभाएका थिए ।