
प्रारम्भः

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई धार्मिक भ्रमणको आवरण दिईएको छ । यो धर्मको आडमा राजनीति गर्ने भारतीय जनता पार्टीको नीति नै हो । राजकीय भ्रमणलाई किन धार्मिक सांस्कृतिक भ्रमणको संज्ञा दिनु पर्यो ? यसका पछाडि कारण छ । त्यो कारण भनेको मोदीको नेतृत्वको सरकारले नेपाललाई गरेको नाकाबन्दीको पीडा नेपाली जनताले बिर्सेका छैनन् । र, मोदीको राजकीय भ्रमणका बेला हुनसक्ने जनताको संभावित आक्रोसलाई मध्यनजर गरेर र नेपालीहरुको धार्मिक अन्धता र सांस्कृतिक प्रेमको मनोविज्ञानलाई ध्यानमा राखेर सोची सम्झी नै धार्मिक कलेवर दिएको कुरा बुझ्न गाह्रो छैन ।
धर्मको आडमा व्यापार र राजनीतिः
भारतमा लामो समयदेखि धर्म संस्कृतिलाई आस्था र विश्वास तथा मुल्यमान्यता भन्दा ब्यापार, ब्यावसाय र उद्योग बनाउदै आएको देखिन्छ । उदाहरणका लागि टाटा र विड्ला मन्दिर तथा रामदेवको पतन्जली योगपीठ आदि । वास्तवमा ती मन्दिर र योगपीठ मात्र नभएर उद्योग ब्यापार पनि हुन् । आफ्नो देशको प्राकृतिक सुन्दरता र सांस्कृतिक पक्षहरुलाई आफ्नो देश र जनताको हितमा पर्यटन उद्योग र ब्यवसाय विश्व मै हुँदै आएको छ । नेपालले पनि त्यो गर्नु आवश्यक छ । तर धर्मलाई उद्योग, ब्यापार र ब्यवसाय बनाउनेमा भारत नै पहिलो नम्बरमा पर्छ होला । हिन्दु धर्मको मान्यता अनुसार धर्मलाई ब्यापार र ब्यावसाय बनाउनु पाप मानिन्छ । तर हिन्दु महासंघको राजनीति संगठन भारतीय जनता पार्टीले धर्मलाई नै राजनीति आधार र ब्यापार ब्यवसाय बनाउदै आएको छ । पछिल्लो चरणमा भारतीय शासकहरुले नेपालमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक प्रभाव र हस्तक्षेपमा धार्मिक आधारलाई नै बढी प्रयोग गर्ने गरिहेका छन् । त्यही सिलसिलाको कडी हो, मोदीको राजनीतिक भ्रमणलाई धार्मिक भ्रमणको आवरण ।


धार्मिक सर्किट :
भारतले खास गरेर मोदी सरकार आएपछि ‘स्वदेश दर्शन’ नामक परियोजनाको नाममा धार्मिक सर्किटहरु बनाउने अभियान नै चलाएको छ । त्यसमा मुख्यतः बुद्ध सर्किट, रामायण सर्किट र कृष्ण सर्किट छन् । तर यस लेखमा रामायण सर्किटले नेपालको सार्वभौमिकता र अखण्डा तथा आर्थिक पाटोमा पार्ने नकारात्मक असरका बारेमा केही सामयिक चर्चा गरिने छ ।
रामायण सर्किटः
रामायण सर्किटले राम र सीताको जन्म स्थान र उनीहरुको जिवनकालमा गरेको भ्रमणको पथलाई परिपथ (सर्किट) कोरुपमा जोडेर धार्मिक पर्याटनको प्रवद्धन र विकास गर्न भारतको छ राज्यहरु उत्तर प्रदेश, विहार, छत्तिसगढ, तेलंगना, कर्नाटक र तमिलनाडुका १५ वटा शहरहरुलाई जोड्ने लक्ष्य बनाएको छ । रामायण सर्किटले रामको ससुराल र सीताको माईती भनिएको नेपालको जनकपुरलाई समेत सर्किटभित्र राख्ने भारतीय शासकको प्रयासलाई २०७५ बैसाख २८ गतेका दिन भनिएको धार्मिक भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरुपमा रामायण सर्किटको उद्घाटन गरेर बैधानिता दिएका छन् । त्यसकासाथै ‘जनपुर–अयोध्या–जनकपुर’ बस यातायातको नाममा जनकपुरबाट दुबै देशका प्रधानमन्त्रीले हरियो झण्डा हल्लाएर बस संचालको प्रारम्भसमेत गरेका छन् ।
उपर्युक्त विषय झट्ट हेर्दा र सुन्दा सामान्य बस संचालन र धार्मिक कुरा जस्तो लाग्छन् । शासकहरुले बनाउन खोजेको पनि त्यही हो । तर त्यसको भित्री विषय अत्यन्त गम्भीर र दुरगमी दुष्परिणाम दिने खालका छन् ।
रामायण सर्किट नेपालको सार्वभौमिकता र अखण्डता विरुद्धः
रामायण सर्किटको बारेमा सामान्य र संक्षिप्तमा माथि उल्लेख गरियो । कुनै देशले आफ्नो सिमाभित्र आफ्नो आर्थिक, सामाकि, धार्मिक र सांस्कृतिक प्रवद्र्धन र विकासको निम्ति विभिन्न विषयमा सकिर्ट निर्माण गर्नु उचित नै हो । त्यस अर्थमा भारतले आफ्नो देशभित्र रामायण सर्किट, बुद्ध सर्किट, कृष्ण सर्किट, आदि जुनसुकै सर्किटहरु पनि निमार्ण गर्नु नोपाली जनताको टाउको दुखाईको विषय होईन र हुनु हुँदैन । तर भारतले बुद्ध र रामायण सर्किटको नाममा जसरी नेपालको सार्वभौमिकता र अखण्डता माथि घुुमाउरो पाराले हमला गरेको छ भने नेपालका दलाल साशकहरुले त्यसलाई बैद्यता दिने र जायज ठहर्याउने काम भएको छ । त्यो स्वाभिमानी देशभक्त नेपालीहरुलाई सह्य हुन सक्दैन र हुनु हुँदैन ।
रामायण कसरी नेपालको सार्वभौम र अखण्डताको विरुद्धमा छ :
भारतले बनाएको रामायण सर्किटले सीताको जन्मस्थान नेपालको जनकपुरलाई समावेश गरको छ । जब कुनै चिजलाई एउटा परिधिबाट कुनै अर्को परिधिभित्र राखिन्छ भने स्वभाविकरुपले त्यो चिजले पहिलाको परिधिबाट दोस्रो परिधिभित्र जान्छ । यसरी दोस्रो परिधिभित्र जानु भनेको पहिलो परिधिको सार्वभौम र अखण्डतामा आघात वा हस्तक्षेप हुन्छ । अब भनौं जनकपुर नेपालको परिधिबाट भारतले बनाएको रामायण सर्किटको परिधिभित्र समावेश गरेपछि के हुन्छ ? त्यसको सोझो अर्थ नेपालको सार्वभौम र अखण्डतामाथि हस्तक्षेप । तर यो सार्वभौम र अखण्डतामाथि हस्तक्षेपलाई धार्मिक र सांस्कृतिक आवरणले ढाकिएको छ । त्यसैले यसको शब्द पनि त्यही प्रकारको अर्थलाग्ने चयन गरिएको छ, ‘सर्किट’ ।
‘सर्किट’ शब्दको अर्थ परिपथ वा चक्रपथ, परिधि, घेरा, परिक्रम भन्ने हुन्छ । अर्को कुरा सर्किट शब्दको प्रयोग विशेषत विद्धुतिय प्रणाली र अवयवहरुमा प्रयोग हुने गर्दछ । जस्तैः सर्किट वोर्ड, सर्किट ब्रेकर, सिम्पल सर्किट, शर्ट र ओपेन सर्किट, आदि । विद्धुतिय प्रणालीमा सर्किट भनेको विद्धुत धारा (करेण्ट) हिड्ने लूप पथ भन्ने बुझिन्छ । जो तारको माध्यामबाट विद्धुतिय विभिन्न कम्पोनेण्टहरुमा विद्धुतिय धारा प्रवाह गर्द्छ । विद्धुत धारा (करेण्ट)को प्रवाह (हिडाई) घुमाउदार र साधरण आखाले नदेखिने अदृश्य पनि हुन्छ । सर्किटको बारेमा किन यती लामो कुरा गर्नु परेको हो भने मोदी र ओलीले जनकपुरबाट उद्घाटन गरेको रामायण सर्किट विद्धुतिय सर्किट भन्दा अझ जटिल, घुमाउदार र अदृश्य छ । सर्किटको साधारण अर्थ जहांबाट प्रारम्भ हुन्छ अन्त्य पनि त्यही आएर हुन्छ । त्यसैले परिपथ वा चक्रपथ पनि हुन्छ, अर्को अर्थ । उदाहरणको लागि काठमाडौको चक्रपथको प्रारम्भ बिन्दु कलंकी मान्ने हो भने चक्रपथको अंन्तिम बिन्दुपनि पनि कलंकि नै हुन्छ । अब जनपुरलाई रामायण सर्किटमा जोड्ने भन्नुको सोझो अर्थ जनकपुरलाई भारतीय धार्मिक र सांस्कृतिक परिपथ वा चक्रपथ भित्र पार्नु हो ।
सामन्यतः धर्म, संस्कृति र भाषाले देशको सीमा वारपार गरेको हुन्छ । तर त्यसलाई भू–राजनीतिले खण्डित गरेर आ–आफनो देशको सीमाको परिधिभित्र नियन्त्रण र ब्यवस्थापन गरेको हुन्छ । त्यस अर्थमा धर्म, संस्कृति र भाषा मिलेको भरमा एक देशले अर्को देशको हिस्सालाई आफ्नो सर्किटभित्र राख्नु उस्को सार्वभौमिकता र अखण्डतामाथिको हमला हुन्छ । त्यसकारण जनकपुर नेपालको अभिन्न अंग भएकाले त्यसलाई भारतीय धार्मिक रामायण सर्किटसंग जोड्नु भनेको धर्मको आवरणमा नेपालको सार्वभौम र अखण्डतामाथिको भारतीय विस्तारवादको अदृश्य हमाला हो भने यतिवेला नेपाली शासकका नाईके बनेका प्रधानमन्त्री केपी ओलीको दलाली र लम्पसारवादको पराकाष्ठा पनि हो ।
यसलाई उदार धार्मिक कोणबाट हेर्दा भन्न सकिन्छ, नेपालीहरु धर्म कर्म गर्न भारत गई नै त रहेका छन् । त्यसकारण यसलाई एउटै सर्किटमा जोडेपछि त अझ बढी सुविधा हुने हुन्छ । धर्म कर्म गर्न एक देशबाट अर्को देशमा जाने नेपाल भारतमा मात्रै होइन, विश्वभरि नै प्रचलन छ । किन कि एउटै धर्म संस्कृतिका समुदाय विभिन्न देशमा बसोवास गरेको अवस्थाहरु छन् । जस्तै स्लाम धर्मको उद्म केन्द्र विन्दु मक्का र मदिना भए पनि मुस्लिम समुदाय विश्वभर नै फैलिएका छन् । र, नेपाल, भारत लगायतका देशमा बस्ने हजारौ लाखौं मुस्लिम समुदाय हज गर्न वर्षै पिच्छे मक्का मदिना जाने गर्दछन् । के भारतले दिल्लीको जामे मस्जिदलाई अरबको मक्का मदिना सर्किटमा वा रावलपीण्डिको स्लाम सर्किटमा राख्न तयार हुन्छ ? ती देश भारतको जामेमस्जिदको सर्किटमा जोडिन राजी हुन्छन् ? त्यो संभव छैन र उनीहरुको भू–राजनीतिले दिंदैन । हाम्रो त शासनसत्ताको बागडोर सम्हालेका साशकहरुनै भारतीय विस्तारवादको दलाली र लम्पसारवादी भएकाले हो । अर्को पक्ष जनताका अभाव र अज्ञानतामा पिल्सिएका कारण विस्तारवादी र लम्पसारवादीहरुको गुलिया मिठा कुरा र झुट्ठा आश्वासनहरुको भ्रमजालबाट मुक्त हुन नसक्नाले हो । त्यसैगरी धर्मप्रतिको आस्था र साँस्कृतिक मोहले गर्दा पनि हो ।
रामायण सर्किटको आर्थिक पाटोः
रामायण सर्किटको घोषित लक्ष्य धार्मिक पर्यटनको प्रवद्र्धन र विकास भनिएको छ । त्यसकारण पर्यटन विकास भनेपछि आर्थिक पाटो जोडिने नै भयो । यसबाट नेपाली अर्थतन्त्रमा के फाईदा पुग्छ ? भरातले छ वटा राज्यका १५ वटा सहरलाई जोडेर धार्मिक पर्यटन विकास गर्न रामायणका मिथक पात्र सीता र रामको जीवनचक्रमा आधारित चक्रपथकोरुपमा रामायण सर्किटको डिजाईन गरेको छ । त्यसमा मुख्यतः नेपाली धार्मिक पर्यटकहरुलाई भारतको उपर्युक्त शहरहरु घुमाएर आर्थिक दोहन गर्ने र धर्मको आवरण र आडमा भारतीयहरुलाई नेपाल भित्राउने प्रवेशद्वार बनाउन चाहन्छ, जनकपुरलाई । भारतीय नियत र अहिलेसम्मको अनुभवले के बताउँछ भने नेपालीहरुलाई भारतमा लगेर पनि दोहन गर्ने र नेपाल आएर पनि दोहन नै गर्ने गरको अवस्थालाई ध्यान दिंदा नेपाली अर्थतन्त्रमा रामायण सर्किटको धार्मिक पर्यटन प्रवद्र्धन र विकासले योगदान भन्दा भोगदान नै गर्ने देखिन्छ । यसरी स्वाभिमान र राष्ट्रिय स्वाधीनताको दृष्टिले र आर्थिक पक्ष दुबै हिसावले रामायण सर्किट नेपालीको हितमा होईन, एकलौटी भारतीय हितमा छ ।
keshargurung@gmail.com