पोखरा, ६ वैशाख । नेपालको करिब सवा ६ लाख बालबालिका मौसमी उद्योगमा निकृष्ट श्रममा लागेको तथ्यांक सार्वजनिक भएको छ । पोखरामा एक पत्रकार सम्मेलन गर्दै ग्लोबल फेयरनेस इनिसिएटिभ (जीएफआई) नामक संस्थाले बिहीबार यस्तो जानकारी दिएको हो ।

विभिन्न खाले मौसमी उद्योगमा लागेका ६ लाख २१ हजार बालबालिका मध्ये ३२ हजार बालबालिका इँटा उद्योगमा कार्यरत रहेको संस्थाका नेपाल प्रमुख होमराज आचार्यले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका नेपाल प्रमुख आचार्यले हालसम्म ४० वटा उद्योगमा पुगेर बालबालिका व्यवस्थापन गर्दा त्यहाँ रहेका ५० प्रतिशत बालबालिकालाई उद्धार गरी ब्यवस्थापन गरिएको बताए । उद्योग सञ्चालक र मजदुरलाईसँगै राखेर छलफल गरेपछि त्यहाँ कार्यरत बालबालिकालाई निकाल्न दुवैपक्ष राजी भएको उनको भनाइ छ । उनले गरिएका कार्यबाट सन्तुष्ट भएपछि हाल २०० उद्योगले हाम्रोमा पनि आइदिनु र्पयो भनेर बोलाइरहेको बताए ।

प्रमुख आचार्यले इँटा उद्योगमा बाल श्रम मुक्त गर्नका लागि शुन्य सहनशीलता अपनाइएकाले प्रभावकारी भएको बताए । इँटा उद्योग सञ्चालक र मजदुरलाई बाल श्रमिक नराख्दा झैझगडा नहुने र झैझगडा मिलाउँदा जाने समय बयस्क मजदुरले इँटा निर्माणमा लगाउँदा बालबालिकाले बनाएको भन्दा पनि बढी उत्पादन हुने कुरा बुझाएपछि यो मोडेलका रुपमा स्थापित भएको जिकिर गरे । अब यो मोडललाई राज्यले अवलम्वन गरेर काम गर्नुपर्ने आचार्यको भनाइ छ ।

बाल श्रम मुक्त उद्योगको इँटा प्रयोग गरेर होटल, रेष्टुरेण्ट वा त्यसको कुनै एक कोठा भएपनि निर्माण गरेर पर्यटकलाई बुझाउन सके उनीहरुलाई थप रकम शुल्क लिन सकिने वा उनीहरुको बसाइसमेत लम्ब्याउन सकिने उनले जिकिर गरे ।

आचार्यले अब बालश्रम मुक्त उद्योग सञ्चालकलाई सम्मान गर्ने, नराम्रो गर्नेलाई राम्रो गर्न उत्प्रेरित गर्ने र त्यसपछि पनि अटेर गरे दण्ड वा जरिवाना गर्ने नीति लिनुपर्नेमा जोड दिए । यसो गरेर नेपालमा बालश्रम अन्त्य गरेपछि प्रचारप्रसार गरेर अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि र इज्जत बढाउँदै पर्यटनमा आकर्षित गर्न सकिने उनले निश्कर्ष सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार