मोरङ, वैशाख ६ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ को ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको घटनालाई जनप्रतिनिधिबाट नै मिलापत्र गराउन दबाव दिएको आरोप पीडित पक्षले दिएको छ ।
यही वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बालिकालाई बिस्कुट दिने प्रलोभनमा पारी मगरले घरमै बोलाएर उनीमाथि बलात्कार गरेको पीडित पक्षको दावी छ । ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् । त्यसपछि उक्त घटनाबारे आमाले जानकारी पाए लगत्तै उनीलाई बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचार गराई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो ।
सो घटनालगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिए पनि प्रहरीले अझै आरोपीलाई पक्राउ गरेको छैन । घटनालाई राजनीतिक रंग दिइएको र आरोपीलाई राजनीतिक संरक्षण दिएर भगाइएको आरोप पीडित पक्षको छ ।
‘मेरो घरमा महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु गएको बेला सुन्दरहरैंचाका वडाअध्यक्षले यो कुरा मिल्नमिल्न लागिसकेकोले धेरै नउठाइदिनुहोला भनेछन् । अपराधीलाई राजनीतिक संरक्षण दिएर भगाइसकिएको छ ।’ वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका पीडित बालिकाका बुवाले भने ।
घटना भएलगतै स्थानीय अगुवाहरुलाई घटनाको बारेमा आमाले जानकारी गराए पनि वडा अध्यक्ष चैतन्य सिटौला बाहिर भएको बताएपछि भोलिपल्ट घटनाको विषयमा छलफल गर्ने भनिएको थियो । तर भोलिपल्ट पीडक मगर फरार भएको पीडित बालिकाकी आमाले बताइन् । पीडितकी आमाले घटनाबारे सुन्दरहरैचा नगरपालिकाकी उपमेयरलाई समेत जानकारी गराइएकी थिइन् ।
पैसामा मिलापत्र गराउने प्रयास
समाजका भद्रभलादमी भनिने स्थानीय केही व्यक्तिहरुले समेत मिलापत्र गर्न दबाव दिएको आरोप बालिकाका बुवाले लगाए ।
‘एकचोटी गल्ती भयो माफ पाऊँ भनेको छ । अबदेखि यस्तो गल्ती गर्दिनँ भनेकाले मिलौं भनेर स्थानीय केही व्यक्तिहरुले भनेका छन् । तर म छाड्दिनँ, कानुनीरुपमा अघि बढिसकेको छु’ उनले भने ।
बालिकाको आमाको भनाइअनुसार पीडक मगरको छोरा चन्द्रबहादुरले पैसा दिन्छु, मिल्नु पर्छ भनेर दबाव दिँदै आएका छन् । ‘बुवा ल्याउँछु, प्रहरी केस नगरेरै गाउँमा मिलाऔं भन्दैछ,’ बालिकाकी आमाले बताइन ‘वडा सदस्य भुवनसिंह मगरले पनि गाउँमै मान्छे भेला पारेर गाउँमै मिलाउनुपर्छ भन्छन् ।’
मिलापत्र गराउन सकिँदैनः प्रहरी
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजि कटुवालले २४ घण्टाभित्र अपराधीलाई पक्रने भने पनि अझै नपक्रेको गुनासो अभिभावकको छ ।
तर प्रहरी निरीक्षक कटुवालले मगरको खोजी भइरहेको बताए । उनले घटनामा मिलापत्र गराउन नसकिने स्पष्ट पारे । पीडकको पहिचान भइसकेकाले कानुनी कारवाही हुने उनले बताएका छन् ।
गाउँलेले ढिला खबर गरेकाले आरोपी भाग्न सफल भएको प्रहरीको भनाइ छ । तर घटना भएको यतिका दिनसम्म पनि गुपचुप राख्नुले प्रहरीको भूमिकामा समेत पीडित पक्षले प्रश्न उठाएको छ ।