वायु प्रदुषणले गर्दा नेपालमा दक्षिण एसियाकै उच्च मृत्युदर

वायु प्रदुषणले गर्दा नेपालमा दक्षिण एसियाकै उच्च मृत्युदर

काठमाडौं, वैशाख ५ । दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदरमा नेपालको सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै नेपालमा वायु प्रदुषण पनि उच्च छ ।

हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्वन्धी रिपोर्ट २०१८ सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा प्रति एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुने गरेको छ ।

यो दक्षिण एसियाकै उच्च हो । दोस्रो स्थानमा पाकिस्तान छ, त्यहाँ २०७ एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुन्छ । बंगलादेशमा १९८, भारत १९४ छ । सबैभन्दा कम भुटानमा छ, त्यहाँ एक लाख मृत्युमा वायु प्रदुषणका कारण ११४ छ ।

चीनमा यो दर ११७ रहेको विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्टले जनाएको छ । नेपालमा वायु प्रदुषणका कारण हुने मृत्युको दर चीनको भन्दा पनि बढी पाइएको छ । सन् २०१६ मा नेपालमा ३५ हजार ८८६ जनाको मृत्यु वायु प्रदुषणका कारण भएको मानिन्छ ।

यो दर सबैभन्दा बढी अफगानिस्तानमा छ । त्यहाँ प्रति एक लाख मृत्युमा ४०६ वायु प्रदुषणका कारण हुन्छ । पपुवा न्यूगिनीमा यो दर ३२२ रहेको पाइएको छ ।

नेपालको हावा अति प्रदुषित

अध्ययनअनुसार नेपालमा वायु प्रदुषण (पीएम २.५) को मात्रा दक्षिण एसियाकै दोस्रो उच्च पाइएको छ । पीएम २.५ आखाले देख्न नसक्ने प्रदुषणका काण हो, जसबाट क्यान्सर लगायतका थुप्रै रोगको संक्रमण हुन्छ ।

प्रतिवेदनअनुसार बंगलादेशमा छ प्रति क्युविक मिटर हावामा पीएम २.५ को मात्र १०१ मिलिग्राम छ । नेपालमा ७६ मिलिग्राम पाइएको छ । भारत र पाकिस्तानमा ७६ मिलिग्राम छ । चीनमा ५६ मिलिग्राम छ । सबैभन्दा बढी प्रदुषित हावा उत्तर अफ्रिकामा छ ।

जबकी विश्व स्वास्थ्य संगठनका अनुसार प्रति क्युविक मिटर हावामा पीएम २.५ को मात्र २० मिलिग्राम हुनुपर्छ । तर, नेपालमा झण्डै चार गुणा बढी पाइएको छ ।