आज २९ औं जनआन्दोलन दिवस, क्रान्तिकारी माओवादीद्वारा विभिन्न कार्यक्रमको आयोजना

आज २९ औं जनआन्दोलन दिवस, क्रान्तिकारी माओवादीद्वारा विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं । २९ औं जनआन्दोलन दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी)ले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । २०४६ सालको चैत २४ गतेलाई नेपालका कम्युनिष्ट तथा क्रान्तिकारी शक्तिहरुले जनआन्दोलन दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । क्रान्तिकारी माओवादीले विगत वर्षहरुमा जस्तै देशैभर विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाउने कार्यक्रमहरु तय गरेको छ ।

प्राप्त समाचार अनुसार नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव जनआन्दोलन दिवसको अवसर पारेर पार्टीको २ नं. प्रदेशमा क्रान्तिकारी युवा लिगको प्रशिक्षण कार्यक्रममा व्यस्त रहनु भएको छ भने पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल‘गौरव’ले मोर्चाको चितवन जिल्लाको उद्घाटन गर्दै हुनुहन्छ ।

त्यसैगरी पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसले काठमाडौंको बत्तिसपुतलीमा आयोजित पार्टी निकट क्रान्तिकारी यातायात मजदुर सङ्घको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै हुनुहुन्छ भने नेता श्रीस दिउसो क्रान्तिकारी माओवादी, मसाल र नेकपाको संयुक्त आयोजनमा हुने राष्ट्रघाती सन्धि सम्झौताको विरोधमा हुने विरोधसभामा सहभागी हुँदै हुनुहुन्छ ।

त्यसैगरी पार्टी स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेलले महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ । त्यहाँ पार्टी विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । जनआन्दोलन दिवसकै अवसरमा आयोजित कार्यक्रमलाई पार्टी स्थायी समिति सदस्य परि थापाले सम्बोधन गर्दै हुनुहुन्छ ।

त्यसैगरी पार्टीका पोलिटव्यूरो सदस्य तथा केन्द्रीय सदस्यहरु पनि पार्टीको जारी संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम रहेको पार्टी सम्बद्ध स्रोतले जनाएको छ ।

नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले चैत्र २४ लाई नेपाली जनताको परिवर्तनको आन्दोलनको एक ऐतिहासिक दिनको रुपमा सम्झना गर्दै क्रान्तिकारी आन्दोलनको लागि एउटा उत्प्रेरणा जगाउने दिनको रुपमा जनआन्दोलन दिवस मनाउँदै आएको छ ।

के भएको थियो चैत्र २४ मा ?

२०४६ सालको चैत २४ लाई जनआन्दोलन उत्कर्षमा पुगेको दिनमा रुपमा लिइन्छ । त्योबेला राजतन्त्रको विरोध गर्दै काठमाडौंको दरबारमार्गमा रहेको महेन्द्रको सालिक ढाल्न खोज्दा ४ जनाले ज्यान गुमाएका थिए । चैत २४ गतेका दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सबैतिरबाट जति जुलुसहरू टुडिखेलतिर जम्मा हुदै थिए, त्यतिबेलाको नारा थियो राजतन्त्र मुर्दावाद ! गणतन्त्र जिन्दावाद ! तर, चैत २६ गतेको दिन पञ्चायतको मात्रै अन्त्य गरीकन संवैधानिक राजतन्त्रका निम्ति सम्झौता भयो ।

प्रहरीले लाठी, बूट, गोली र अश्रुग्यासलगायतका सबै औजार प्रयोग गरेर जनतालाई दमन ग¥यो ।

चैत्र २२ गते पाटनको कृष्णमन्दिरबाट केही सुरक्षाकर्मीलाई स्थानीय जनताहरूले नियन्त्रणमा लिई बन्दी बनाए । सारा पाटन शहरका जनताहरू मिलेर पाटनलाई बाहिरबाट कोही आउन नसक्ने गरी बन्द गराए। सूरक्षाकर्मीले व्यापक दमन गरेपछि पाटनका जनता घरमा भएका घरायसी हतियार हातमा लिएर सडकमा उत्रे । विभिन्न ठाउँमा गोली चल्यो ।

जति दमन बढाएपनि जनताको दृढता अलिकति पनि बिचलित नभएको देखी चैत्र २४ गते राती राजाले एक घोषणामार्फत् मरिचमान सिंहको मन्त्रीमण्डल बिघटन गरी लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा ३ सदस्सीय मन्त्रीमण्डल गठन गरे ।

राजाको २४ गतेको घोषणाले आन्दोलनमा कुनै असर पारेन । जनताहरू झन् आक्रोशित रूपमा सडकमा उत्रिए । अन्त्यमा केही नलागेपछि राजाले जनतासामु घुँडा टेके र चैत्र २६ गते राती एक सम्वोधनमार्फत् संविधानमा रहेको निर्दलीयता शब्द हटाएको घोषणा गरे। त्यसको भोलिपल्ट आन्दोलनकारीका तर्फबाट ४ जनाले राजासँग भेटेपछि संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था र मौलिक अधिकारको प्रत्याभूति दिलाउने सर्तमा आन्दोलन स्थगित भएको थियो ।