सरप्राइज भेटमा ओलीसँग एक्लै मोदीको डेढघण्टा वार्ता

सरप्राइज भेटमा ओलीसँग एक्लै मोदीको डेढघण्टा वार्ता

काठमाडौं । पूर्व निर्धारित कार्यक्रमभन्दा अगाडि अर्थात् सरप्राइज भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय समकक्षी नरेन्द्र मोदीले डेढ घण्टा लामो वार्ता गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो ।

दिल्लीको लोककल्याणकारी मार्गस्थित सरकारी निवासमा भएको भेटवार्तापछि ओलीले भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको पत्रकारहरुलाई जानकारी दिएका छन् । नेपाल भारत सम्बन्ध सधैँ मित्र भावमा सबै स्तरमा अघिबढाउन सक्नुपर्ने, नेपाल र भारतबीचको पुरानो र घनिष्ट सम्बन्धलाई कसरी एक अर्कामा परिपुरकको रुपमा नै अघि बढाउने भन्नेमा बढि छलफल भएको पनि प्रम ओलीले जानकारी दिएका छन् ।

‘प्रधानमन्त्री ओलीलाई भेटेर उत्साहित आभारी छु,’ मोदीले भेटपछि ट्विट गर्दे भनेका छन् । मोदी भेटेर फर्केका ओलीले झण्डै एक घण्टा अन्य कूटनीतिज्ञ तथा बुद्धिजिवीहरुसँग समेत भेटघाट गरेका छन् ।

प्रधानमन्त्री ओली र मोदीबीच शनिबार औपाचारिक भेटवार्ता हुने र तीन विषयमा भारतीय तर्फबाट सहयोगको घोषणा हुने भएको छ । जलमार्गमा जहाज, वीरगन्ज काठमाडौं रेलमार्ग र कृषिमा आधुनिकीकरणमा सहयोग घोषणा हुने भन्दै यसको अन्तिम तयारीमा नेपाली पक्ष जुटेका छन् । शनिबार नै मोदी र ओलीले संयुक्त रुपमा भारतीय सहयोगमा निर्माण भएको वीरगन्जको एकीकृत भन्सार जाँच चौकी दिल्लीमा बटम थिचेर उदघाटन गर्ने कार्यक्र रहेको छ ।

यसैबीच, ओलीको भ्रमणलाई लिएर सकारात्मक भन्दा नकारात्मक समाचारले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएका छन् । ओलीकै कारण नेपाल भारतभन्दा चीनसँग नजिकिएको भन्दै भारतीय सञ्चारमाध्यमले आलोचना गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले चीनले बनाइदिएको बाँधको जलविद्युत भारतले नकिन्ने चेतावनीसहित ओलीलाई अफ्ठ्यारो पार्ने सन्देश दिएका छन् ।

भारतीय सरकारी अधिकारीलाई उधृत गर्दै इन्डियन एक्सप्रेस लेखेको छ, कूटनीतिक क्षेत्रमा नरमरुपमा प्रस्तुत भए पनि ऊर्जा र सुरक्षाबारे भारतको ‘रेडलाइन’ प्रष्ट पारिनेछ ।

प्रधानमन्त्री ओलीको पेट्रोलियम पदार्थको विकल्पमा जलविद्युतको उत्पादनमा प्राथमिकता दिने कुराले पनि भारत झस्किएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख गरिएको छ । अहिले सबै पेट्रोलियम पदार्थ नेपालले भारतबाट आयात गर्छ ।

समाचारमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना सतलज जलविद्युत निगमले भुटानको हाइड्रो कोअपरेसन मोडलमा निर्माण गर्ने पनि जिकिर गरिएको छ । अरुण तेस्रोको ओली र मोदीले शिल्यान्यास गर्ने कुरा समेत जनाइएको छ । तर परराष्ट्र मन्त्रालयले भने यो परियोजना शिल्यान्यास कार्यक्रम रद्द गरिएको र पछि मोदीको नेपाल भ्रमणताका शिलान्यास गरिने समाचार स्रोतको दावी छ ।

अरुण तेस्रोबाट उत्पादित जलविद्युतको ठूलो परिणाम भारतले किन्ने कुरा समाचारमा चर्चा गरिएकोछ । तर चीनले उत्पादन गरेको विद्युत् भने भारतले नकिन्ने कुरा भारतीय पक्षले सञ्चारमाध्यमबाट सार्वजनिक गरेको छ । ‘चीनले बनाएको जलविद्युत उसैले किन्छ, हामी किन्न सक्दैनौँ, भारतीय सञ्चारमाध्यमले भनेका छन् ।