नयाँ वर्षसँगै बुद्ध एयरले सुर्खेत–काठमाडौं सीधा उडान भर्ने

नयाँ वर्षसँगै बुद्ध एयरले सुर्खेत–काठमाडौं सीधा उडान भर्ने

काठमाडौं, चैत ९ । बुद्ध एयरलायन्सले नयाँ वर्ष २०७५ देखि काठमाडौं–सुर्खेत–काठमाडौं सीधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं–सुर्खेत–काठमाडौं उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिने तयारी गरेको अनुशन्धान र विकास विभागमा प्रमुख प्रमोद पोखरेलले जानकारी दिए ।

बुद्ध एयरले १८ सिट क्षमताको ‘बीच १९०० डी’ जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको दैनिक एक उडान भर्ने योजना बनाएको छ । पोखरेलका अनुसार आर्थिक भार बढे पनि नयाँ वर्षबाट नै उडानको तयारी गरिएको बताए ।
देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसँग जोड्नु बद्ध एयरले आफ्नो दायित्व सम्झेर उडान पुनः सञ्चालन गर्न लागिएको उनले बताए ।

बुद्ध एयरले २०६९ पुषदेखि २०७० आषाढसम्म काठमाडौंबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो । उक्त अवधिमा पर्याप्त यात्रु नहुँदा आर्थिक भार परी सुर्खेत उडान रोकिन गएको थियो ।

नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिक्तम एकतर्फी भाडा दर ११ हजार ४१९ भएतापनि आधा सिट ८ हजार ५ सय र बाँकी आधा सिट १० हजार ५ सयमा बेच्ने बुद्ध एयरलायन्सले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छः कर्णाली प्रदेशमा पर्यटनका थुप्रै अवसर र गन्तव्यहरु छन् । यसबाट स्थानीय जनता तथा प्रदेश सरकार पक्कै पनि लाभान्वित हुनेछ । तसर्थ बुद्ध एयरको यस प्रयासले पर्यटन लगायत अन्य क्षेत्रहरुमा पनि आर्थिक वृद्धि तथा समुचित प्रदेशकै समृद्धिमा टेवा पुग्ने विश्वास लिएको छ ।

कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा प्रदेश सरकार बनेसँगै सुर्खेत–काठमाडौं सीधा उडान सञ्चालन गर्न पहल गरिरहेको थियो । प्रदेश सरकारकै आग्रहमा सुर्खेत–काठमाडौं सीधा उडान सञ्चालन तयारी विमान कम्पनीहरुले गरिरहेका छन् ।