नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने संकल्पका साथ क्रान्तिको तयारीमा जुटिरहेको छ नेकपा (क्रान्तिकारी माओवादी) । क्रान्तिको चार तयारी र तीन जादुगरी हतियारको निर्माणमा जुटिरहेको क्रान्तिकारी माओवादीले वैचारिक, राजनीतिक, सांगठानिक र प्राविधिक तयारीको महत्वलाई गहिरोगरी बोध गरेको देखिन्छ । क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको आवश्यकतालाई पनि त्यति नै महत्वका साथ यो पार्टीले बोध गरेको देखिन्छ । र, त्यसदिशातर्फ निरन्तर अगाडि बढिरहेको छ । समकालीन नेपाली कम्युनिष्ट आन्दोलनमा वास्तविक क्रान्तिकारी धाराको नेतृत्व अहिले यही पार्टीले नै गरिरहेको छ । र, यो पार्टीका महासचिव मोहन वैद्य‘किरण’को वरिपरि छरिएर रहेका क्रान्तिकारीहरु एकीकृत र ध्रुवीकृत हुने क्रममा रहेका छन् ।
कम्युनिष्ट आन्दोलनका भीषण अन्तर्र्संघर्ष र वर्गसंघर्षबाट खारिएर आएको परिपक्व नेतृत्व, वैधानिक तथा अवैधानिक संघर्षको लामो अनुभव र ठोस परिस्थितिको ठोस विश्लेषणसहित नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको नेतृत्व भएकोले पनि सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु कमरेड किरणको वरिपरि गोलबन्द हुने क्रममा छन् । वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनमा कमरेड किरण नै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुका लागि, नेपाली समाजको आमूल परिवर्तनका पक्षधर जनताका लागि एक मात्र आशा र भरोसाका केन्द्र बन्नुभएको छ । यही तथ्यलाई मध्येनजर गर्दै कमरेड किरणले पार्टीको तर्फबाट छरिएर रहेका कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लगि पहल पनि गरिरहनु भएको छ । यसै क्रममा नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपालगायतका पार्टीहरुसँग पटक पटक औपचारिक, अनौपचारिक रुपमा छलफलहरु भइरहेका छन् । ती सबै पार्टीका कार्यकर्ताहरुमा पनि एकताको लागि सम्बन्धित पार्टी नेतृत्वलाई चौतर्फी दबाब पनि परिरहेको छ ।
प्रतिक्रियावादी, दक्षिणपन्थी संशोधनवादी र अवसरवादीहरु सुदृढ हुँदै गएको अवस्था, चौतर्फी रुपमा क्रान्तिकारीहरुका विरुद्ध घेराबन्दी भइरहेको र क्रान्तिकारीहरुलाई छिन्नभिन्न पारेर कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई नै समाप्त पार्ने पेचिलो खेल चलिरहेको यो बेला सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध हुनै पर्ने वाध्यता छ । अहिले कमरेड किरण बाहेक अरु कुनै नेतृत्वको वरिपरि क्रान्तिकारीहरु एकीकृत र ध्रुवीकृत हुने स्थिति पनि छैन ।
पछिल्लो पटक कमरेड किरण नेतृत्वको पार्टीले सिंगो पार्टी पंक्ति खासगरी युवापंक्तिलाई वैचारिक, राजनीतिक, सांगठानिक तथा प्राविधिक हिसाबले फौजीकृत गर्ने तयारीको कामलाई पनि अगाडि बढाएको छ । हालै पार्टीको ३ नं. प्रदेशले प्रदेश स्तरमा क्रान्तिकारी युवाहरुलाई वैचारिक–राजनीतिक सँगसँगै शारीरिक तालिम पनि दिएको छ । क्रान्तिकारी माओवादीको यो कदमबाट प्रतिक्रियावादी वर्ग, संशोधनवादी र अवसरवादी वृतमा एउटा तरंग उत्पन्न भएको छ । युवाहरुको शारीरिक तालिम रोक्न प्रहरीले गरेको हस्तक्षेप त्यही आतंकित मानसिकताको उपज हो । युवाहरुको यो शारीरिक तालिमले आम क्रान्तिकारी पंक्तिमा एउटा आशा र उत्साह पैदा गराइदिएको छ । र, अब हरेक प्रदेश र जिल्ला जिल्लामा युवाहरुलाई वैचारिक तथा राजनीतिक प्रशिक्षणका साथ साथै यस्ता शारीरिक प्रशिक्षणहरु पनि दिलाउनु पर्ने माग बढ्न थालेको छ ।
महान सम्भावनाहरु बोकेको गम्भीर चुनौतीहरुको मोडमा नेपाली क्रान्ति खडा छ यतिबेला । पटक पटक धोका र गद्दारी व्यहोर्दै आएको क्रान्तिले अब परिपक्व, भरोसायुक्त, दुरदृष्टि बोकेको एक आदर्शवान र क्रान्तिकारी नेतृत्वको माग गरेको छ । सहि विचार र नेतृत्वको दृष्टिबाट हेर्दा कमरेड किरणले अगाडि सारेको नयाँ जनवादी क्रान्तिको कार्यदिशा र उहाँको नेतृत्वले नै समयको त्यो मागलाई पूरा गर्न सक्ने देखिन्छ । यसर्थ, वर्गमुक्ति क्रान्तिको पवित्र उद्देश्यमा आ–आफ्नो मोर्चामा डटिरहेका तर छरिएरको अवस्थामा रहेका क्रान्तिकारीहरु एकीकृत र ध्रुवीकृत भएर क्रान्तिको तयारीलाई तीव्रता प्रदान गर्न अब ढिलाई गर्नुहुन्न । आ–आफ्ना दम्भ र माइण्ड सेटहरु भत्काएर देश, जनता र क्रान्तिलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले महान बहसको सिर्जना गर्दै क्रान्तिहरुको वृहत् एकता र ध्रुवीकरणका लागि आफूलाई कम्युनिष्ट क्रान्तिकारी भन्ने सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ ।