“जतिसुकै सिद्धान्त र दर्शनको विद्वता प्रदर्शन गरे पनि वा जस्तासुकै राम्रा नीति कार्यक्रम बनाए पनि ती कुरा भन्दा जनताले नेता वा नेतृत्वको छवि, नियत र चरित्रलाई बढी हेर्छन् अनि त्यसैको आधारमा सामर्थन वा विरोध गर्छन् । एक सर्वहाराकृत मजदुरले कुन नेता सच्चा कम्युनिष्ट हो वा होइन भन्ने कुरा त्यो नेताको ब्याख्या विश्लेषण र सैद्धान्तिक निपुर्णताको आधारमा भन्दा पनि उसको व्यबहार, नैतिकता र आचरणबाट पत्ता लगाइदिन्छ अनि यो कुरो उसले प्रथम भेटका पलभरको व्यवहारबाट थाहा पाइहाल्छ ।”
उपरोक्त धारणा यस पंक्तिकारको नभई विश्व कम्युनिष्ट आन्दोलनका महागुरु लेनिनको हो । उहाँका महान् पवित्र ग्रन्थहरु हेर्ने हो भने यस्ता अभिव्यक्तिहरु यत्रतत्र भेटिन्छ ।
“माक्र्सवादका दुई चार किताब पढेका भरमा कोही कम्युनिष्ट हुन सक्दैन, कम्युनिष्ट हुन त कम्युनिष्ट भाव चाहिन्छ, शोषित पीडित श्रमिक वर्गसँग एकाकार हुने, उनीहरुलाई आफूसँगै लिई हिँड्न सक्ने स्वभाव चहिन्छ । यस्तो भाव नभएको मान्छे सैद्धान्तिक रुपमा जतिसुकै अब्बल र पोख्त भए पनि त्यो कम्युनिष्ट होइन, अनि त्यस्तो नेतृत्वलाई सचेत सर्वहाराकृत मजदुर वर्गले कदापि मान्दैन ।” यो पनि महान लेनिनकै विचार हो । यहाँ सर्वहाराकृत भनेको मनोवैज्ञानिक रुपमा प्रष्ट्याउँदा सुपर इगोको तहमा पुगेको परमाथी चित्तको मान्छे भन्ने बुझिन्छ । ज्ञानोदय वा हृदयद्वार खुलेको वा अहमभाव नष्ट भएको अवस्थाको एक ब्यक्ति नै सही अर्थमा सर्वहाराकृत व्यक्ति हो । हो, यस्तो व्यक्तिले शुद्ध, पवित्र महान परमार्थी नेता को हो वा होइन भन्ने कुरा पलभरमा नै थाहा पाउँछ र त्यही अनुसार आफ्नो सोच बनाउँछ । यो स्वयंसिद्ध तथ्य हो ।
महात्मा बुद्धले पनि स्पष्ट रुपमा भनेका छन् संसारका सबै शास्त्र पढेर मात्र कसैले बुद्धत्व प्राप्त गर्न सक्दैनन्, यसका लागि प्रथम शर्त हो चित्तशुद्धि अर्थात् मनको शुद्धि यो विना बुद्धत्व (मुक्ति) शतप्रतिशत असम्भव छ । विश्व प्रशिद्ध आध्यात्मिक ग्रन्थहरु (जसमा केही वैज्ञानिक तथ्य पनि भेटिन्छ – द ल अफ स्पिरिट वा अन्तरष्करणका नियमको रुपमा) वाइवल, कुरान, त्रिपिटक, गीतामा पनि मोक्ष वा मुक्तिका लागि पण्डित्याँइ, विद्वता, शास्त्र निपूर्णता र कर्मकाण्ड, ढाँचा ढर्रा, पाखण्ड, देखावा, तामझाम भन्दा पनि बढी पवित्रता, निर्मलतालाई जोड दिएको छ । बाइवलको पवित्र समाज शब्दावलीबाटै प्रभावित भै सर्वहारावर्गका महान् गुरु कार्लमाक्र्सले आफूबाट स्थापित प्रथम कम्युनिष्ट समूहको नाम पनि ‘पवित्र परिवार’ नै राख्नु भएको थियो ।
यी सब ‘ल अफ स्पिरिट’सँग प्रत्यक्ष सम्बन्धित हुन्छन्, यी आदर्श, आस्था, निष्ठा र विश्वासका पाटाहरु हुन् । जननेता माओ, हो चि मिन्ह, चे समेतले यस बारेमा धेरै लेख्नु र बोल्नु भएको छ ।
बजारमा कतिपय यस्ता पुस्तक पसलहरु मैले भेटेको छु, जसका मालिक माक्र्सवादी होइनन् अझ कतिपय त माक्र्सवादका कट्टर विरोधी छन् तर हट केकका रुपमा बिक्री हुने माक्र्सवादी किताबहरु खोजी खोजी ल्याई बिक्री गर्छन् । त्यस्ता किताबले दोकान भर्छन् । यहाँ आस्था र निष्ठाको कुरा भन्दा पनि पेशा, नाफा, आम्दानी र ब्यापारको कुरा भयो । सिंगो विश्वमा माक्र्सवादी आन्दोलनभित्र यस्ता प्रकृति पनि देखिने गरेका छन् । यस्तो प्रकृति अरु राजनीतिमा पनि देखिन्छन् । नेपालमा पनि राणाशासन छोडी काँग्रेस पस्ने, काँग्रेस छोडी पञ्चायत पस्ने, बहुदलीय आन्दोलन पछि फेरि बहुदलमा लाग्ने, मधेश आन्दोलन जोडले मच्चिँदा त्यसको ठूलो स्कोप देखी अन्य राजनीतिक पार्टी छाडी त्यतैतिर लाग्ने तर पछि त्यो भविष्यविहीन देखिएपछि पुनः राजनैतिक दल (कम्युनिष्ट, काँग्रेस)मा फर्किने नेताहरु आज हाम्र्रा अगाडि थुपैैै्र छन् ।
आस्था निष्ठा भन्दा पनि अवसर र मौका खोजी आफ्नो निजी तुष्टि पुरा गर्न हातमा राजनीतिक विचारको जाल लिई नदीमा जताजता माछाहरु बढी प्रकट हुन्छन् त्यता त्यता छोप्न जाल हान्न पुग्ने नेताहरुबाट प्रजातान्त्रिक आन्दोलन त अग्रगामी हुन सक्दैन भने कम्युनिष्ट आन्दोलन जस्तो महान र पवित्र अभियान अघि बढ्न सक्ने कुरा नै भएन ।
भारतमा अहिले एउटा एकदम रमाइलो दृश्य जस्तै देखिन थालेको छ । डन भइ समाज र उद्योगधन्दाबाट हप्ता उठाई ऐश आरामको जीवन बाँच्ने, धनकै लागि मान्छे जीउज्यान लिने गुण्डा ज्यानमाराहरुले जब थाहा पाए कि धार्मिक पुजा, अर्चना, सभाबाट अत्याधिक आर्जन हुन्छ, तब ती रातारात साधु महात्मामा रुपान्तरित भए । मन्दिर, मठ, आश्रम बनाएर धर्मका नाममा ठूलो ब्यापार सञ्चालन गरे । यो ३÷४ वर्षभित्र यस्ता थुप्रै साधुमहात्मालाई सरकारले मुद्दा चलाई जेलमा हाल्यो, जसमध्ये एक हुन ठूलो विद्वान ब्रम्हज्ञानी पण्डित आशाराम बापू । यो प्रकृतिका मान्छेहरु कम्युनिष्ट आन्दोलनमा पनि प्रवेश गरेका हुन्छन् । यी ग्राउण्ड लेभलमा छन् भने त त्यति फरक पार्दैन तर नेतृत्वमा पुगे भने यिनले क्रान्ति वा शान्ति, सम्झौता वा विग्रहको नाममा देश र जनतालाई तहसनहस पार्छन्, क्षतविक्षत पार्छन्, सा¥है दुःख दिन्छन् । यी मान्छेका रणनीति, कार्यनीति, आम कार्यक्रम र ठोस कार्यक्रम आदि अनि त्यससम्बन्धी विवाद, बहस, वार्ता, बकम्फुसे कुरा मात्र हो । यस्ता नेताहरुले यी कुराको आवरण पहिरी हिँड्नु भनेको भारतमा हप्ता उठाउने खतरनाक डाँका, गुण्डा मवालीहरुले महात्माको आवरणको रुपमा लामो कपाल, दारी, गेरुवस्त्रले आफूलाई सजाएर महात्मा हिँड्नु जस्तै हो ।
राजनीतिक दलभित्र जम्मा भएको अथाहा धनराशी थाहा पाई त्यसलाई पजनी गर्ने हैसियत प्राप्त गर्न अनेक दाउपेच गर्ने र त्यसलाई छोप्न सैद्धान्तिक अवधारणा वा लाइन वा कार्यदिशा बनाई अघि बढ्ने अनि मौका परे छुट्टै दल समेत निमाण गर्ने प्रकृति पनि २१ औं शदीमा चारैतिर छ । यस प्रकृतिबाट वर्तमान विश्व कम्युनिष्ट आन्दोलन पनि मुक्त छैन भन्दा त्यति फरक नपर्ला ।
विश्वमा वैज्ञानिक समाजवादको व्यापक प्रभाव र चौतर्फी सफलता देखेपछि व्यक्तिगत फाइदाका लागि धेरै मान्छेहरु, जसमा समाजवादका कट्टर विरोधी पनि हुन्छन्, समाजवादको झण्डा बोकी दौडिन थाल्छन्, त्यतिखेर जनताले को सक्कली वा नक्कली समाजवादी हो भन्ने कुरा ती मान्छेको ब्यवहार हेरी पत्ता लगाउनु पर्ने हुन्छ भनी विश्वमानव लेनिनले आफ्ना लेखहरुमा प्रष्ट पार्नु भएको छ ।
जसको नियत नै धमिलो छ, जसको उद्देश्य नै व्यक्तिवादी छ, जो राजनीति समाजसेवा मात्र होइन क्रान्ति प्रक्रिया र शान्ति प्रक्रियालाई नै फगत एक पेशा वा निजी लालसा पूरा गर्ने घनघोर अवसर ठान्छ, अनि त्यसैका लागि अनेकौं तथाकथित अवधारणा कार्यदिशा बनाउँछ, अनेकौं लफ्फाजी तयार पार्छ र केही समयका लागि सारा दुनियाँलाई बेवकुफ बनाउँछ त्यस्ता राजनीतिज्ञ तथा नेताहरुलाई इतिहासका पानामा त कुनै स्थान हुँदैन हुँदैन तर समकालीन समाजमा पनि ती त्यस्ता आगे हुन्, जो पराल बाल्दा निस्किन्छ र एक छिन मै हराउँछ । यस्ता नेताहरुलाई सचेत, ज्ञानी, चिन्तन र पवित्र आत्मा भएका जनताले राम्ररी चिन्छन् र त्यही अनुसार व्यवहार गर्नेछन् । यो स्वयंसिद्ध तथ्य हो ।
पहिलो कुरो त क्रान्ति भिड वा रमितेहरुले गर्ने भन्दा पनि क्रान्तिकारी विचारबाट अनुप्रमाणित र द्वन्द्ववादी चेतबाट सञ्चालित नेतृत्वले बहुआयामिक दृष्टिका साथ गर्ने एक महान रुपान्तरण प्रक्रिया हो । द्वन्द्ववादी चेत भनेको जनता, समय, विश्वलहरको समसामयिकता र सान्दर्भिकतामा रही वामपन्थी र दक्षिणपन्थी विचलनबाट यथाशक्य मुक्त भई आवश्यक्ता अनुसार एकता, संघर्ष वैधानिक अवैधानिक माध्यम प्रयोग गरी अघि बढ्ने चेत हो । क्रान्ति सिर्फ बन्दुके क्रिया मात्र नभई समाज परिवर्तनको एक विहङ्गम वैज्ञानिक एवं प्राकृतिक प्रक्रिया पनि हो । बन्दुक लिएर नै कन्द्रीय राज्यसत्तालाई हल्लाएर आच्छु आच्छु पारेर नाम कीर्तिमान राख्नेहरु पनि देश दुनियाँमा खोज्ने हो भने प्रशस्त पाइन्छन् ।
महान् गुरु लेनिनकै बेलामा रुसमा लेनिन र उहाँका साथीहरु निरीह जस्तै भई थोरै संख्या रही क्रान्तिलाई जारी राखिरहेको बेलामा रुसी घनाजंगल दुन इलाका र पहाडी खोँच तथा गुफाहरुतिर आधार इलाका बनाई बस्ने डाँकाहरु पनि थिए, जसले रुसी केन्द्रीय सत्तालाई नै हल्लाईरहेका थिए । भारतका वीरप्पन, मलखान सिंह र फुलन देवी पनि एक समयमा भारतीय केन्द्रीय सत्तालाई हल्लाउने दस्यु राजहरु नै हुन् । यिनीहरु सबै एक प्रकारले सैनिक पोशाक पनि लगाउने, कुनै प्रतिक वा संकेत भएको टोपी ह्याट पनि लगाउँथे । बेलाबखत पत्रकार भेटघाट र सम्मेलन पनि गर्थे, अन्तर्वार्ता पनि दिन्थे । वीरप्पन त एक ब्यक्तिगत मनमौजी तस्कर भएपनि मलखान सिंह र फुलन देवीको त केही सामाजिक विश्लेषण पनि थियो । जनतामा प्रभाव पनि थियो । धनीमानीहरुसँग पैसा लिएर वा लुटेर ती सामाजिक रचनात्मक काम पनि गर्थे । पाटी पौवा, मन्दिर, घाट निर्माण पनि गरिहिँड्थे । मलखान त गणतन्त्र भारतीय स्वतन्त्रता दिवस पूर्ण तामझामका साथ इलाकीय जनताका साथ मनाउथे, आफ्ना डाँकु सदस्यहरुबाट सलामी ग्रहण गर्थे र त्यही दिने डाँकु सदस्यहरुलाई दज्र्यानी ब्याच बिल्लाबाट सुशोभित गर्थे, बढुवा गर्थे जो मैदानमा सैनिक पोशाकमा लामबद्ध भै खडा रहेका हुन्थे । यिनीसँग एक लडाकु क्रान्तिकारी हुलमा हुने सबै कुरा थियो तर एक कुरा थिएन– दर्शन अर्थात् विचार निष्ठा, कार्यक्रम थिएन । गन्तव्य, स्थान थिएन, यो अराजक विद्रोहीहरुको एक भिड थियो, दर्शन विचारभन्दा पनि समाजका बहुचर्चित दस्युराजहरुका कथा, प्रसंग बालकदेखि सुन्दै आई त्यही अनुसा र अवचेतन मन मनोवैज्ञानिक रुपमा निर्मित भएका व्यक्तिवादी मान्छेहरु थिए । यी दार्शनिक वा राजनीतिक भन्दा पनि स्वैरकल्पनावादी र रोमान्टिक बन्दुके थिए अनि त्यही तिलस्मी गतिविधिबाट युवा जमातलाई आफुतिर आकर्षित गर्थे । जनतामा राम्रो प्रभाव जमाएका थिए । यो अराजक विद्रोही प्रकृति विश्व कम्युनिष्ट आन्दोलनमा पनि यत्रतत्र देखिन्छन् । र, सबैभन्दा बढी तेश्रो विश्वका देशहरुमा देखिन्छ ।
निष्कर्षमा भन्दा कम्युनिष्ट नेता तथा सम्पूर्ण नेतृत्व वर्ग सबै दृष्टिबाट एक कम्युनिष्ट हुनुपर्छ । सादगीपन, आर्थिक इमान्दारिता, अध्ययन मनन्, चिन्नन, दुरदर्शी दृष्टि, संघर्ष र सम्झौतालाई ठीक समयमा ठीक ढंगले उपयोग गरी क्रान्तिलाई निरन्तरता दिन सक्ने नेता अहिलेको हाम्रो आवश्यकता हो । समुन्द्र जस्तो विशाल र गहिरो, नदी जस्तो कार्यशील गतिशील क.माओ जस्ता जोशिलो र शुरो अनि क.लेनिन झै होशिलो र तीक्ष्ण दृष्टिवान, महान गुरु माक्र्स झैं चिन्तक, त्यागी (पर्सिया को अर्थमन्त्री पाउँदा कार्लमाक्र्सले अस्वीकार गर्नुभएको थियो) क. होचि मिन्ह झै सरल र समर्पित र उहाँको सार्वजनिक चौर, सडक चिया पसलमा पसी जस्तोसँग पनि मिलिरहन सक्ने स्वभाव थियो) अनि क.चे जस्तै अन्तर्राष्ट्रियतावादी र अटुल विश्वासको भण्डार नेता र नेतृत्व वर्ग हुनु पर्छ ।
केही मान्छे बटुली बीचमा केही तामझाम गरी अलिकति क्रान्तिकारी गतिविधि संचालन गरेर केन्द्रीय सत्तालाई झुकाई पावर सेयर हुने अवस्था बनाई निजी तृप्ति र तृष्णा पनि पूरा गर्ने इतिहासमा नाम र कीर्ति पनि राख्ने अनि ऐस आरामको सुखी जीवन पनि बिताउने नियत मात्र लिई त्यसैमा सीमित भै क्रान्ति वा शान्तिमा समोल हुने कि त घोर दक्षिणपन्थी हुने कि त घोर वामपन्थी हुने कहिले पनि एक सन्तुलित, सम्यक र सदावहार कम्युनिष्ट नेताको रुपमा बाँच्न नसक्ने काम गर्न नस्कने आदर्शविहीन नेताहरु सर्वहाराकृत महान् कम्युनिष्ट पथका मार्गदर्शक कदापि हुन सक्दैनन् ।
प्रतिक्रियावादीहरु धेरै किसिमका हुन्छन् । त्यसैगरी कम्युनिष्ट नेताहरु पनि चरित्र, प्रकृति र जीवन शैलीका हिसाबले धेरै किसिमका हुन्छन् भनी जनताले भित्रभित्रै विश्लेषण गर्दा रहेछन् । उनीहरुका अनुसारका कम्युनिष्ट नेताहरुमा भाङभुङ्गे, डाङडुङ्गे, समझदार, व्यवहारिक, हाउडे, हुल्लडवाज, छिपछिपे, बन्दुके, चिन्तनशील दार्शनिक, भोगविलासी, तामझामे, देखावा, अवसरवादी आदि नेताहरु हुँदा रहेछन् । उनीहरुको दृष्टि, विश्लेषण एक हदसम्म सही नै हो ।
सबै किसिमको अतिवादबाट मुक्त, जोश र होश दुवै भएको, आवश्यकता अनुसार नरम नीति र गरम नीति दुवै प्रयोग गरी क्रान्तिलाई बचाएर गन्तव्यसम्म पु¥याउने, देश र जनतालाई केन्द्रविन्दु बनाई राजनीति गर्ने, सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु, देश–परदेशका असल वा सत्यानुयायी तत्वहरु खोजी खोजी ती सँग एकता, मेल, सहकार्य गर्ने, अनि विशाल हृदय हुने निष्कपट, निश्छल, निर्मल जीवन भएका नेता तथा नेतृत्वले नै अन्ततः कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन सफल हुनेछन् । यस महान् सत्यलाई आत्मसाथ गरी निरन्तर आफ्नो महान् आदर्शप्रति कटिबद्ध भै अघि बढिरहनु नै आजका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको कर्तव्य हो भन्दा दुई मत नहोला ।