भैरहवा, चैत ८ । मदिरामा लगाइने अन्तशुल्कका आन्तरिक राजश्व विभागको करिब ४ लाख नक्कली स्टिकर सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३ जना नेपाली र २ जना भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा भारत नौतनवाका ३२ वर्षीय मेल्मुद्दगद्दी मुसलमान, भारत महाराजगंजका १८ वर्षीय समसुद्दिन मुसलमान, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ का ४२ वर्षीय विनोद सिंह, धनुषाको मिथिला नपा ८ का कामेश्वर महतो र भवानीप्रसाद उप्रेती रहेका छन् ।
पक्राउ परेका मेल्मुद्दगद्दी, समसुद्दिन र विनोद सिंहले युपी ४३ ए इ १६८२ नम्बरको कारमा भारतबाट अवैधरुपमा नक्कली स्टिकर ल्याउँदै गर्दा उनीहरुलाई रोहिणी गाउपालिका–४ धकधई क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
उनीहरुको साथबाट ५० यूपी ११८० एमएल आन्तिरक राजश्व विभाग liquor लेखेको ३ लाख ९९ हजार ८ सय ४० थान नक्कली स्टिकर बरामद भएको उनले बताए ।
सोधपुछको क्रममा पक्राउ परेकाहरुले उक्त नक्कली स्टिकर धनुषाको मिथिला नपा ८ स्थित सांग्रिला डिष्टीलरी लैजान लागेको खुलेपछि धनुषाबाट डिष्टीलरीका प्रोडक्सन प्रमुख कामेश्वर महतो र डिष्टीलरीका व्यवस्थापक भवानीप्रसाद उप्रेतीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक पाण्डेले बताए । डिष्टीलरीका संचालक धनुषा जनकपुर उपनपा ९ का कुशेश्वर प्रसाद शाह फरार रहेका छन् ।
पक्राउ परेकाहरुलाई सरकारी किर्ते दस्तखत अन्तर्गत जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।