
एजेन्सी । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन् । अस्वस्थ भएको भन्दै आरामका लागि पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयका एकजना अधिकारीले जानकारी दिए ।
बुधबार उनले आफ्नो पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए ।
त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नुहुने जनाइएको छ । म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए । उनले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।