नवलपरासी । जनयुद्धका सहिद, वेपत्ता योद्धा परिवार तथा घाइते योद्धाहरुलाई सम्मान गर्न सहिद सप्ताहको अवसरमा आयोजित संयुक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पार्टी एकतामा जोड दिएका छन् । दुवै पार्टीको जिल्ल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पिविएम प्रेम सुवेदी र नेकपाका पिविएम चन्द्रबहादुर चन्द‘विरजंग’ले दुवै पार्टीबीचको एकतामा जोड दिनुभएको हो ।
मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच कार्यगत एकता गर्ने केन्द्रीय सहमति अनुसार संयुक्त कार्यक्रम आयोजना गरिएको थियो । बर्दघाटमा आयोजित सो कार्यक्रममा दुवै पार्टीका नेताहरुले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ५ का सचिव प्रेम सुवेदीले एमाले र माओवादी केन्द्रले जनतालाई बामपन्थी भएको भम्र छरेकाले क्रान्तिकारी शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको थियो । उहाँले विचार मिल्ने शक्ति बिचमा एकता आवश्यक रहेको जोड दिदै एकताका लागि बहस थाल्नुपर्ने र एकताबाट मात्र शहिदका सपना पुरा गर्न सकिनेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इञ्चार्ज चन्द्रबहादुर चन्द बिरजंगले देशमा घुसखोरी कमिशनतन्त्र मौलाएकाले क्रान्तिकारी शक्तिबीच एकता आवश्यक रहेको बताउनुभयो । उहाँले क्रान्तिकारी एकताबाट मात्र संर्घष हुने र क्रान्तिको कार्यभार पुरा हुने बताउनुभएको थियो । कार्यक्रममा सहिद तथा बेपत्ता परिवारहरुले आफ्ना सन्तानले दिएको बलिदानी खेर जान थालेको भन्दै चिन्ता समेत व्यक्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका सचिव शिवशंकर बस्यालको अध्यक्षता क्रान्तिकारी माओवादीका जिल्ला सचिव सिबी थापाको संचालनमा सम्पन्न कार्यक्रमलाई छबिलाल खरेलको स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य अशोक लम्साल अनुकुल, नेकपाका जिल्ला इञ्चार्ज गंगा ज्ञवाली सुमन, सहिद परिवारकातर्फबाट देवीलाल खनाललगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा ३४ जना सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान गरिएको थियो ।