
काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाद्वारा देशैभर दशवर्ष लामो महान जनयुद्धका सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धाहरु सम्मानित भएका छन् । सहिद सप्ताहको अवसर पारेर यी दुवै पार्टीले कतै एकल त कतै संयुक्त रुपमा जनयुद्धमा आफ्नो अमूल्य जीवन गुमाउनु हुने सहिद, वेपत्ता योद्धा तथा घाइते योद्धाहरुलाई सम्मान गरेका हुन् ।

क्रान्तिकारी माओवादीले सहिद, वेपत्ता योद्धा परिवार र घाइते योद्धालाई देशैभर घर घर पुगेर सम्मान पत्र प्रदान गरेको छ भने संयुक्त रुपमा आयोजना गरिएका कार्यक्रमहरुमा सामुहिक रुपमा सम्मान गरिएको छ ।
चितवनमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाको संयुक्त आयोजनामा सहिद परिवार अभिनन्दन तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रमलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’, नेकपाका पिविएम रणवीर र सहिद परिवारका सदस्यहरुले सम्बोधन गर्नुभएको थियो ।
रामेछापबाट प्राप्त समाचार अनुसार क्रान्तिकारी माओवादी र नेकपाको संयुक्त आयोजनामा रामेछाप नगरपालिकाको देउराली सेरा खोलामा देउराली हत्याकाण्डका ६ सहिदका परिवारहरुलाई सामुहिक रुपमा सम्मान गरिएको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गगनको प्रमुख आतिथ्यता र नेकपाका जिल्ला इन्चार्ज जमिनको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहिद परिवारका सदस्यहरुलाई सम्मान पत्र प्रदान र दोसल्ला ओढाएर अभिनन्दन गरिएको छ । १७ फागुनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सहिद परिवार सदस्य गुञ्जनले गर्नुभएको थियो भने संचालन लांघाली मगरले गर्नुभएको थियो ।
त्यसैगरी मकवानपुर, सिन्धुली, दोलखा, नुवाकोट लगायतका जिल्लामा पनि सहिद परिवारहरुलाई सम्मान पत्र प्रदान गरिएको समाचार छ ।
उता विराटनगरबाट प्राप्त समाचार अनुसार मोरङ, सुनसरी, झापा, उदयपुर, ओखलढुंगा, तेह«थुम लगायतका जिल्लामा पनि सहिद परिवारलाई घर घरमै पुगेर सम्मान पत्र प्रदान गरिएको बुझिएको छ ।
त्यसैगरी पोखराबाट प्राप्त समाचार अनुसार कास्की, गोरखा, तनहुँ, नवलपुरलगायतका ४ नं. प्रदेशका जिल्लाहरुमा पनि सहिद परिवारलाई सम्मान पत्र प्रदान गरिएको छ । यता बुटबलबाट प्राप्त समाचार अनुसार सहिद परिवारलाई सम्मानका साथै रुपन्देहीका विभिन्न स्थानमा संगठनहरु निर्माण गरिएका छन् ।