अखिल (क्रान्तिकारी)ले अल्टिमेटमसहित बुझायो ज्ञापन पत्र

अखिल (क्रान्तिकारी)ले अल्टिमेटमसहित बुझायो ज्ञापन पत्र

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयका कुलपतिलाई ७ बुँदे माग पूरा गर्न एक हप्ते अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएको छ । विश्वविद्यालयको काठमाडौंको सिनामंगलमा रहेको सम्पर्क कार्यालयमा क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वाञ्चल तथा सिटिइभिटी इन्चार्ज सूर्य कार्कीको नेतृत्वमा गएको टोलीले सोमबार पूर्वाञ्चल विश्वविद्यालयका कुलपति घनश्याम दासलाई बुझाएको हो ।

क्रान्तिकारीले बुझाएको मागपत्रमा हालको गठित असक्षम शुल्क निर्धारण आयोग तत्काल विगठन गरी विध्यार्थीको प्रतिनिधित्वसहितको नयाँ सक्षम आयोग गठन गर्दै हप्तादिन भित्र शुल्क निर्धारण गरिनु पर्ने, छात्रवृति प्राप्त गर्ने विध्यार्थीबाट लिइएको अवैज्ञानिक तथा अन्यायपूर्ण शुल्क तत्काल खारेज गरिनु पर्ने, परीक्षा तथा परीक्षाफल विश्वविद्यालयको क्लालेण्डर अनुसार लागू गर्नुपर्ने, पूर्वाञ्चल विश्वविद्यालयका मापदण्ड नपु¥याएका शैक्षिक संस्थाहरुलाई तत्काल कारबाही गर्नुपर्ने, स्ववियू चुनावको मिति सम्पूर्ण सम्बन्धन दिएका शैक्षिक संस्थाहरुमा तत्काल लागू गरिनु पर्ने लगायतका मागहरु राखिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक अरुण आचार्यले हस्ताक्षर गरेको ज्ञापन पत्रमा हप्तादिनभित्र माग पूरा नगरिए सशक्त आन्दोलन चर्काउने चेतावानी दिइएको छ ।