बैतडी, फागुन १६ । बैतडीको देहीमाण्डौंमा जीपले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । सतबाँझबाट गोठलापानीतर्फ गइरहेको से १ ज ३८९ नम्बरको जीपले ठक्कर दिँदा दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका हर्कबहादुर बोहराका ७ वर्षीय छोरा विवेक बोहराको ज्यान गएको हो ।
विद्यालय जाने क्रममा जीपले बोहरालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । घटनालगत्तै जीप चालक नवराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बोहरा निंगलासैनी बोर्डिंग स्कुल देहीमाण्डौंमा यू केजीका छात्र हुन् ।
जीपले ठक्कर दिँदा बालकको मृत्यु भएपछि स्थानीयबासीले देहीमाण्डौंमा सडक जाम गरेका छन् । दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले सडक जाम गरेका हुन् । आक्रोशित स्थानीयले देहीमाण्डौ बजार समेत बन्द गराएका छन् ।
सडकमा गाडी नचल्दा बैतडी सदरमुकाम जाने र सदरमुकामबाट अन्यत्र चल्ने सवारी साधन बीचबाटोमै रोकिएका छन् । स्थानीयले देहीमाण्डौंमा नाराबाजी समेत गरेका छन् । आफन्तले अहिलेसम्म लास बुझेका छैनन् ।
विद्यार्थीले घटनास्थलमा ढुंगामुढा गर्दा एक प्रहरी समेत घाइते भएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए । आक्रोशित भीडलाई शान्त बनाउने प्रयास भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।