
काठमाडौं, फागुन १५ । विश्वकप छनोट अन्तर्गत यूएईविरुद्धको अभ्यास खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । खेल जिम्बाबेको समयानुसार १२ बजेर ३० मिनेटमा सुरु हुनेछ । समाचार तयार पारुञ्जेल जिम्बाबेमा १२ बजेर १५ मिनेट भएको छ ।
चिसो मैदानका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि खेल २९ ओभरमा घटाइएको छ । क्वीक्वी स्पोर्ट्स क्लबको मैदानमा नेपाल र युएईको अभ्यास खेल हुँदैछ । नेपालले अर्को अभ्यास खेल फागुन १७ गते हङकङविरुद्ध खेल्नेछ ।
विश्वकप छनोटको लिगचरणका चार खेलपछि अंकतालिकामा शीर्ष तीनभित्र रहन सके नेपाल सुपर सिक्समा प्रवेश पाउनेछ । सुपरसिक्समा दुबै समूहका टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा शीर्ष दुईमा रहने टोलीले सन् २०१९ को विश्वकपमा स्थान बनाउँनेछन् ।
नेपाली टोलीको विश्वकप छनोटको कार्यतालिका यस्तो रहेको छः
नेपाल भर्सेस जिम्बावेः फागुन २०, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
नेपाल भर्सेस स्कटल्याण्डः फागुन २४, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
नेपाल भर्सेस अफगानिस्तानः फागुन २६, दिउँसो १ बजेर १५ मिनेट, बुलावायो एथ्लेटिक्स क्लब
नेपाल भर्सेस हङकङः फागुन २८, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब