
अमेरिका । बन्दुकमा प्रयोग गरिने ‘बम्प स्टक’ (एकप्रकारको अत्याधुनिक उपकरण)को खरिदविक्रीमा रोक लगाउँदै अमेरिकाले यसलाई अवैधानिक घोषणा गरेको छ ।
स्वचालित बन्दुकमा प्रयोग गरिने त्यस्ता उपकरण अर्ध स्वचालित बन्दकमा जडान गरेपछि धेरै गोली भण्डारण गर्न मिल्नुका साथै त्यसबाट मिनेटभरमै सयौं राउण्ड फायर गर्न सकिन्छ । ‘सेमी असल्ट राइफल’हरुमा प्रयोग गरिने यस्ता ‘बम्प स्टक’का कारण अमेरिकाममा सामूहिक गोलीबारी हुने गरेको छ ।
गत वर्ष लसभेगासमा यस्तै उपकण जडित राइफलको प्रयोग गरेर सामूहिक गोलाबारी भएको थियो । जसका कारण ५८ जनाले ज्यान गुमाएका थिए । कुनै फौजदारी अभियोग नलागेका अमेरिकी नागरिकले सय डलरमा बम्प स्टक किन्न पाउँथे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा ‘बम्प स्टक’लाई मान्यता नदिने निर्णय गरेसँगै यसको खरिदविक्री अवैध भएको छ ।
केही सातअघि फ्लोरिडा राज्यस्थित एक स्कुलमा गोलीबारी हुँदा १७ विद्यार्थी तथा शिक्षकहरुले ज्यान गुमाएका थिए । फ्लोरिडाको गोलीकाण्डसँगै अमेरिकामा आमनागरिकले हतियार राख्न पाउने कानुनको पुनर्रावलोकन हुनुपर्ने माग जोडतोडका साथ पुनः उठेको छ ।
हतियार राख्न पाउने अमेरिकी कानूनको विषयलाई लिएर तीव्र आलोचना बढेपछि ट्रम्प प्रशासनले ‘बम्प स्टक’ राख्न नपाइने नियम लागू गरेर यो विषयलाई केही मथ्थर पार्ने कोशिस गरेको छ । यसलाई अमेरिकी सिनेटले पनि साथ दिने बताइएको छ ।