क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरणले चाँडै फड्को मार्छ : महासचिव किरण

क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरणले चाँडै फड्को मार्छ : महासचिव किरण

 
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंको ६ नं. इलाकाले २३ औं जनयुद्ध दिवसको सन्दर्भमा शनिबार आयोजना गरेको जनभेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले क्रान्तिकारीहरु बीच एकता र ध्रुवीकरणको प्रक्रिया अगाडि बढिरहेको बताउनु भएको छ । चन्द्रागिरी नागार्जुन नगरपालिकाको थानकोटस्थित सहिद स्मारक पार्कमा आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले समसामयिक राजनीतिक परिस्थितिको बारेमा चर्चा गर्दै मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका समस्याहरु समाधान दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थाले गर्न नसक्ने हुँदा त्यसका लागि नयाँ जनवादी व्यवस्था अनिवार्य रुपमा स्थापित गरिनुपर्ने आवश्यकता औल्याउनु भयो । छरिएर रहेका क्रान्तिकारीहरुलाई गोलबन्द गरेर मात्रै नयाँ जनवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनु पर्ने बताउँदै महासचिव किरणले निकट भविष्यमा नै क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरणले एउटा फड्को मार्ने दावी गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै महासचिव किरणले जनयुद्धका लक्ष्य र सहिदहरुका सपना साकार पार्न सबै क्रान्तिकारीहरु  एक ठाउँमा आउनुपर्ने विचार पनि राख्नुभयो ।

कार्यक्रममा स्थायी समिति सदस्य रामसिंह श्रीस, पोलिटव्यूरो सदस्य दिनेश शर्मा सागर, केस तथा काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठ, पूर्व सल्लाहकार सचिव दीर्घप्रसाद पाण्डे, नेता मोतिरत्न अमात्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहिद तथा वेपत्ता परिवार योद्धाका परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा क्रान्तिकारी युवा लिगको नेता सुरेश लामा, अनेमसंघ (क्रान्तिकारी) नेतृ शान्ता पण्डितको पनि उपस्थिति रहेको थियो ।

पार्टीका ६ नं. इलाकाका इन्चार्ज गणेश खनालले अध्यक्षता गरेको उक्त कार्यक्रमको संचालन विष्णुकुमार कार्कीले गरेको थियो भने सुमित्रा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।