
आयुष न्यौपाने/ बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाको शनिबार सम्पन्न भेलाले जिल्ला पार्टी सेक्रेटरीमा लोकराज जैसीलाई चयन गरेको छ । भेलाले जैसीको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलापछिको प्रथम बैठकले चार जना वैकल्पिक सदस्यहरू पछि थप्ने निर्णय गरेको छ भने लोकराज, लोकेन्द्र र दिल बहादुर कठायत गरी तीन जनाको सचिवालय समेत गठन गरेको छ ।
बैठकले संगठन निर्माण सुदृढीकरण तथा जनपरिचालन अभियानलाई जिल्लाभर चलाउने, मोर्चा र संगठनहरूको भेला गर्ने लगायतको निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत् जनाइएको छ ।
भेलामा केन्द्रीय सदस्य तथा बाके–बर्दिया इन्चार्ज संकुल, पूर्व केन्द्रीय सदस्य खडक बहादुर मल्ल, सेक्रेटरी दुर्गा खत्री लगायतले सम्बोधन गर्नुभएको थियो ।






























