काठमाडौं । नेपाल प्रहरीको तथ्यांक अनुसार गएको ७ वर्षमा मात्रै ६ हजार ६ सय २७ जना बलात्कारको शिकार भएका छन् । जसमध्ये ४ हजार ५ सय ८९ जनाको बलात्कारपछि उद्धार गरिएको छ भने २ हजार ३८ जनाको बलात्कारपछि हत्या गरिएको रेकर्डमा उल्लेख छ ।
प्रत्येक वर्ष ९ सय ४६ जना बलात्कारको शिकार हुन्छन् भने प्रत्येक महिना ७८ जना पीडित हुने प्रहरी अनुसन्धान रिपोर्टमा उल्लेख छ । तथ्याङ्क अनुसार, पूर्वी नेपालमा सबैभन्दा धेरै १ हजार ३ सय ४३ जनाको बलात्कार तथा ५ सय ८९ जनाको बलात्कार पश्चात हत्या गरिएको छ ।
त्यस्तै पश्चिम नेपालमा २ सय ७७ जना बलात्कारको शिकार भएका छन् भने १३८ जनाको बलात्कार पछि हत्या भएको छ । काठमाडौं उपत्यकामा मात्रै ६ सय १० जनाले बलात्कारको उजुरी दर्ता गरेका थिए। त्यसमध्ये १ सय ५५ जनाको बलात्कार पछि हत्या भएको छ ।
कानुन अनुसार गल्ती प्रमाणित भएको र पीडित १० वर्षभन्दा मुनीको छ भने १० देखि १५ वर्ष जेल सजाय तथा पीडित १० वर्षभन्दा माथि र १६ वर्ष भन्दा मुनीको छ भने ७ देखि १० वर्ष जेल सजाय हुने प्रावधान छ। त्यस्तै, १६ वर्षभन्दा माथिको हकमा ५ देखि ७ वर्षसम्म जेल सजाय हुने प्रावधान छ।
तर, कानुन जति नै कडा भए पनि घटना झन् झन् बढिरहेको छ । विशेष गरी तराई तथा दुरदराजका ग्रामिण भेगमा बलात्कारको घटना बढ्दै गए पनि यस्ता धेरै घटना गुपचुप रहने गरेका छन् । बलात्कारको घटनामा पीडित आफैंले पनि सामाजिक प्रतिष्ठा बिग्रने डरले सूचना लुकाउने गरेका छन् ।