एमाले र माकेले नेपालका दक्षिणपन्थी संशोधनवादी संसदवादी नामधारी कम्युनिस्टहरुको गठबन्धन गर्ने भनेर विचार र सिद्धान्तविहीन केही सिमित नेताहरुको पदीय व्यवस्थापनलाई केन्द्रमा राखेर उनीहरुकै पहलमा एउटा केन्द्र बनाउने भनेर अहिले लागेका छन् । यद्यपि यसैलाई आधार बनाएर ती शक्तिहरुमाथिको सम्भावित चिनियाँ प्रभावको हौवा खडा गरेर भारतीय सरकार र त्यहाँको गुप्तचर संस्था रअको टाउको दुखाई बनेको छ ।

लामै कसरतपछि केपी ओलीले मोदी सरकार र रअको ग्रयान्ड डिजाइनमा मोदीको विशेष दुत बनेर आएकी भारतीय विदेश मन्त्री सुश्मा स्वराजसीत गोप्य मन्त्राणा मात्रै गरेनन्, त्यसकै प्रभावमा अहिले उनी उनीहरुको “वामगठबन्धन“लाई समेत लत्ताएर सुश्मा स्वराजसीतको गोप्य मन्त्राणालाई कार्यान्वयन गर्ने रणनीतिमा लागेको हो कि भन्ने केही शंका गठवन्धनभित्र र बाहिर उब्जिएका छन् । मतदाताहरु, जसले नेपालमा एउटा स्थिर सरकार, विकास उन्नतीको ढोका खोल्ने यिनै “वामगठबन्धन”वाला हुन् भन्दै मत दिएर एमाले र माकेका उम्मेदवारलाई जिताए तर यति छिट्टै उनीहरु विदेशी शक्तिको इशारा, मूलतः दक्षिणको इशारामा चल्न थाल्ने छन् भन्ने ती मतदाताले कल्पना पनि गरेका थिएनन् । नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचनका दौरानमा स्पष्टसित भनेको थियो कि एमाले र माके दुवै कम्युनिस्ट र वामपन्थी दुवै होइनन्, यिनीहरु त नेपालका दक्षिणपन्थी संशोधनवादी संसदवादी नामधारी कम्युनिस्टहरु हुन् । त्यसैले यिनीहरुको चरित्र राष्ट्रिय नभई दलालीकरणतर्फ डोरिएको छ । माक्र्सवाद—लेनीननवाद यिनीहरुको मार्गनिर्देशन सिद्धान्त नभई विश्व भूमण्डलीकृत साम्राज्यवाद जसको आर्थिक आधार उदारवादी नीजीकरणमा आधारित दलाल एकाधिकारवादी ह«न्छ र उनीहरु जुन समाजवादको कुरा गर्दै छन्, त्यो केबल सामाजिक लोकतान्त्रिक(शोसल डेमोक्रेट्स) हो । उनीहरु बढीमा सामाजिक लोकतान्त्रिक(शोसल डेमोक्रेट्स)को लाइनमा चल्ने छन्, यदि दक्षिणको इशारामा चलेनन् भने नत्र त्यति पनि उनीहरुबाट नहुने स्पष्ट छ ।

यसै सन्दर्भमा यहि फागुन १ गते नेपालका दुई माओवादी पार्टीहरु—नेकपा(क्रान्तिकारी माओवादी) र नेकपाले २३औ जनयुद्ध दिवस भव्यताकासाथ मनाए । उक्त अवसरमा नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरेका लोकेन्द्र विष्ट, गोपाल किराँती र आहुतीको उपस्तितिले पनि यो उत्सवलाई अझ गौरवान्ति र भव्य बनाएको थियो । उक्त अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले नेपालमा अझ पनि सर्वहारावर्गीय क्रान्तिको आवश्यकता छ र त्यो सम्भव छ भनेर भन्दा समारोहमा एक प्रकारको उर्जा उत्पन्न गरेको थियो । त्यसमा उहाँले उक्त क्रान्ति नेपालका सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई एकिकृत र ध्रुवीकृत गरेर मात्रै सम्भव छ भन्नेमा जोड दिनु भयो । उहाँले जोड दिंदै भन्नु भयो जसरी यो समारोहमा नेकपा(माओवादी केन्द्र)वाट विद्रोह गरेर केही कमरेडहरु यस समारोहमा भाग लिन आउनु भयो र माकेको संसदवादमा पतनका लागि एमालेमा विलयवारे र नेपालमा गरिने भावी क्रान्तिवारे जे जस्ता भनाइहरु उहाँहरुले राख्नु भयो त्यसले के सन्देश दिएको छ भने नेकपा(माओवादी केन्द्र)भित्र अझै पनि काफी मात्रामा क्रान्तिकारीहरु हुनुहुन्छ र उहाँहरु प्रचण्डसित एमालेमा बिलयमा नजाने मनस्थिति बनाइरहनु भएको छ र त्यसलाई उक्त पार्टीभित्रबाट बिद्रोह गर्न सफल कमरेडहरुले गतिदिनु हुने छ । उहाँले जोडदिंदै भन्नु भयो अबको नेपाली क्रान्तिमा आम देशभक्त तथा जनतन्त्रवादी शक्तिहरु पनि गोलबन्द हुनुहुने छ किनभने “वामगठबन्धन”ले देशलाई अझ बढता विदेशी दलालहरुको इशारामा सञ्चालित गर्ने स्पष्ट देखिदै छ ।

के स्पष्ट भएको छ भने नेकपा एमाले र नेकपा माके दुवै दिल्लीको आशिरवाद र यसको हैकमलाई तोडन सक्ने छैनन् । प्रचण्डले त पहिलेनै नेपाललाई भुटानको हैसियतमा राख्ने गरि २५ बुँदे सहमति गरिसकेका हुन् । त्यसैले उनी दिल्लीको इशारालाई मानी सकेका व्यक्ति हुन् । अर्का नेता केपी आली जो नेपालका भावी प्रधानमन्त्रीका रुपमा भारतीय प्रधानमन्त्री मोदीबाट अहिले नै (प्रधानमन्त्री नहुँदै) दुई दुई पटक बधाई र भ्रमणको निम्तो पाइसकेका छन् । भारतसितको महाकाली सन्धी उनको विगत हो यद्धपी उनले बीचमा भारतको नेपालमाथिको नाकाबन्दीका अगाडि आफूलाई नेपाली जनताको पक्षमा उभ्याएका थिए र नेपालको अर्को छिमेकी चीनसित पारवहन र व्यापार सम्झौतागर्ने साहस देखाएका थिए तर अहिले उनले त्यसलाई ओझेलमा पार्ने गरि जुन काम गरिरहेका छन्, त्यसले नेपालका आम मतदाता जसले उनलाई विगतको नीर्वाचनमा मत दिएर भावी प्रधानमन्त्रीका रुपमा उभ्याएका छन्, उनीहरुप्रति अहिले गम्भीर धोका दिने काम गरेका छन्, वेमौसमा र गलत समयमा भारतीय विदेशमन्त्री सुश्मासित काठमाण्डौमा आफ्नो हैसियतभन्दा तल झरेर भेटघाट गरे र उनी सित केही गोप्य वार्ता पनि गरे । यसका लागि भनिन्छ उनी बैकक गएको समयमा त्यहाँ भारतीय रअका मानिससित पनि भेटे, जसका लागि उनले आफ्नो पार्टीको नेता प्रदीप ज्ञवालीलाई दिल्ली पठाएर त्यसको चाजापाजो मिलाएका थिए र त्यसको लगत्तै सुश्माको काठमाण्डौ भ्रमण भएको थियो । त्यसैले नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव क. किरणको माथि उल्लेखित राष्ट्रियता सम्वन्धी आन्दोलनको भनाई अव झन सान्दर्भिक देखिएको छ । किनभने नेपाली क्रान्तिले फयाक्न खोजेका दुई पहाड—सामन्तवादी र साम्राज्यवादी तथा विस्तारवादी पहाड मध्ये पहिलोको प्रतिनिधित्व गर्ने राजतन्त्र अहिले नेपालमा छैन् र देशमा गणतन्त्र आएको छ, यद्धपि सामन्तवादका जराहरु नेपालको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक हरेक क्षत्रेमा फैलिएका छन् । तर दोस्रो साम्राज्यवादी तथा विस्तारवादी पहाड अझ झन अग्लो बन्दै गएको छ । उक्त पहाडलाई ध्वस्त नपारी नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथिको कालो बादल यथावत रहने र नेपालमा वामगठवन्धन वा अन्य कुनै नाममा आउने गठबन्धन केबल दिल्लीको इशारामा उसकै खटनपटनमा कामगर्ने नै हुने छ । त्यसैले पनि नेपालमा अर्को क्रान्तिको आवश्यकता छ र त्यसमा नेपालका आम क्रान्तिहरुबीचको एकता र ध्रुवीकरण अनिवार्य शर्त बन्न गएको छ । र त्यसका लागि पनि नेपालका आम क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरण अनिवार्य शर्त बन्न गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार