माओवादी केन्द्रले भारतीय नागरिकलाई सांसद बनाएको खुलासा

माओवादी केन्द्रले भारतीय नागरिकलाई सांसद बनाएको खुलासा

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । नागरिक दैनिकले समाचार छापेको छ । नागरिक पत्रिकालाई प्राप्त कागजातअनुसार भारत, बिहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएनमा भेटिन्छ । दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ । उनको मतदाता क्रमांक १७५ छ । उनको मतदान केन्द्रको नाम ‘मैथिली साहित्य परिषद्, मिश्रटोल, साउथ पार्ट’ उल्लेख छ ।

‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला–८४६००४,’ मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ । भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ । जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सोभन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ । दासको मात्र होइन उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ । रेखाको मतदाता परिचयपत्र ‘सिएफबी ५१९४२८७’ छ । उनको मतदाता क्रमांक १०१ छ । माओवादीबाट सांसद बनेका दासको नेपालमा पनि सिरहा निर्वाचन क्षेत्र नं.२ मा नाम छ । उनको नेपाली मतदाता परिचत्रपत्र नम्बर १४५७६९८८ हो । निर्वाचन आयोगले प्रदान गरेको फोटोसहितको मतदाता परिचयपत्रमा उनका पिताको नाम देवनाथ दास उल्लेख छ । सिरहाको न. आधारभूत विद्यालय, औरही उनको मतदानस्थल हो ।

दास यसअघि २०४८ र २०५१ सालमा दुईपटक सांसद भइसकेका छन् । उनी २०४८ र २०५१ मा नेपाली कांग्रेसबाट तत्कालीन सिरहा निर्वाचन क्षेत्र ३ बाट विजयी भएका थिए । २०४८ को निर्वाचनमा उनले सबैभन्दा बढी मत पाएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि बनेको एमालेको अल्पमतको सरकार ९ महिनामा ढलेपछि कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको थियो । त्यसबेला देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री थिए ।

यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि माओवादीले उनलाई सिरहा निर्वाचन क्षेत्र नं.२ बाट उम्मेदवार बनाएको थियो । दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्र्धन सिंह कोइरीलाई दुई हजार ८८८ मतले पराजित गर्दै निर्वाचित भएका थिए । दासले नेपाली नागरिकताको प्रमाणपत्र २०४४ चैत २९ गते लिएका हुन् । उनको नागरिकता नम्बर ०३२३४४४३/२९२७ छ ।