क्रान्तिकारी माओवादीद्वारा जिल्ला जिल्लामा अभियानको तयारी

क्रान्तिकारी माओवादीद्वारा जिल्ला जिल्लामा अभियानको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले जिल्ला जिल्लामा तीन महिने संगठन तथा जनपरिचालनको तयारी गरिरहेको छ । प्राप्त समाचार अनुसार पौष २९ मा सम्पन्न गोरखा जिल्लाको बैठकले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टी समर्थित “देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल“लाई सहयोग गर्ने मतदाता, समर्थक र शुभचिन्तकहरु सबैमा विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै पार्टी केन्द्रबाट संचालित तीन महिने “संगठन सुदृढ तथा बिस्तार अभियान“लाई जिल्लामा मोडेलको रूपमा स्थापित गर्नेगरि सबै शक्ति केन्द्रित गरि परिचालन गर्ने निर्णय गरेको छ । बैठकले जिल्लामा पछिल्लो अवधिमा झनै बिकराल रूपमा बढ्दै गएको सबै खाले भ्रष्टाचार र ब्यथितिका विरुद्ध भण्डाफोर र जनप्रतिनिरोध संघर्ष संचालन गर्ने निर्णय समेत गरेको पार्टी इन्चार्ज निश्चलले बताउनु भएको छ ।

त्यसैगरी भक्तपुरबाट प्राप्त समाचार अनुसार आइतबार सम्पन्न बैठकले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पार्टीसम्बद्ध जबस मोर्चाको बैठक माघ १५ सम्म सक्ने र माघ ६ गतेबाट नै पार्टी तथा संयुक्त मोर्चा र जबस मोर्चाका संगठन निर्माण अभियानलाई तीव्रता दिने निर्णय गरेको छ । पार्टीका स्थायी समिति सदस्य राजबीरको उपस्थितिमा शनिबार वैचारिक राजनीतिक प्रशिक्षणसमेत सँगै सञ्चालन गरिएको छ ।

उता ललितपुरबाट प्राप्त समाचार अनुसार ललितपुरको पनि बैठक तीन महिने अभियानलाई प्रभावकारी रुपमा परिचालन गर्ने उद्देश्यलाई केन्द्रमा राखेर आवश्यक निर्णयहरु लिइएका छन् । स्थानीय स्तरमा जनताका समस्याहरुलाई ठोस गर्दै स्थानीय जनप्रतिनिधिहरुलाई मागपत्र बुझाउने र जनसहभागितासहित संघर्षको उठान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी दोलखा र रामेछापको बैठकले पनि जिल्लाको सापेक्षतामा अभियानलाई संघर्षकै रुपमा अगाडि बढाउने निर्णय गरेको छ भने चितवनमा अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न अभियान टोली निर्माण गर्दै जिल्लामा किसान, मजदुर, साना लगानीका व्यवसायीहरुले भोग्नु परेका समस्याहरुलाई सुत्रबद्ध गर्ने र संगठन र संघर्षलाई सँगसँगै अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी सप्तरीमा पनि जिल्लाको बैठक सकिएको छ । बैठकले जिल्लामा संगठन विस्तार अभियान सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानमा संगठन निर्माणका काम अगाडि बढाए पनि चिसो तथा शितलहरका कारण अभियान प्रभावित भएको सप्तरी इन्चार्ज मोहनसिंह तामाङले बताए ।

उता ६ र ७ नं. प्रदेशको बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ भने जिल्ला जिल्लाका बैठकहरु बसी अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न योजना निर्माणहरु भइरहेका छन् । १ नं. प्रदेशका जिल्लाहरुमा पनि अभियानको तयारी तीव्र रुपमा भइरहेको छ । ५ नं. र ४ नं. प्रदेशका जिल्लाहरुमा पनि बैठक बसेर तयारी अगाडि बढिरहेको त्यहाँ कार्यरत नेताहरुले बताएका छन् ।