बुटबल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापाले संसदीय व्यवस्थाका मतियारहरु कम्युनिष्ट हुन नसक्ने बताउनु भएको छ । एमाले–माओवादी केन्द्रतर्फ इंगित गदैं उहाँले उनीहरु राजनैतिक कम्युनिष्ट भएपनि बैचारिक कम्युनिष्ट नभएको जिकिर गर्नुभयो । नेकपा क्रान्तिकारी माओवादी,रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पार्टीको विस्तारित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कुरा बताउनुभएको हो ।
सरकारमा बसिरहेका राजनैतिक दलहरुले नै सामन्त र साम्राज्यवादीको दलाली गरिरहेकाले तिनीहरुबाट जनताको पक्षमा काम हुंन नसक्ने उहांले बताउनुभयो । मुलुकमा स्थापित गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताउदैं उहाँले आफुहरु जनगणतन्त्र स्थापनाका लागि लागेको बताउनुभयो । पार्टीको प्रदेश नं ५ का इन्चार्ज समेत रहनुभएका थापाले पार्टी सच्चा क्रान्तिकारी पार्टीहरुबीच एकीकरण र धु्रबीकरण अभियानमा जुटेको समेत बताउंनुभयो । एमाले–माओवादी केन्द्र साच्चिकैं राष्ट्रवादी भए उनीहरुको सरकार बनेपछि भारतसंग गरिएका सबै असमान सन्धि–सम्झौता खारेज गर्न उहाँले आग्रह गर्नुभयो ।
पूर्व सांसद समेत रहनुभएका उहाँले पार्टी उत्पादनमुलक कार्यमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । भेलामा पार्टी पोलिटव्यूरो सदस्य प्रेमनाथ सुवेदीले संसदीय दलहरुकै कारण संसदीय व्यवस्था कमजोर बन्दैं गएको दावी गर्नुभयो । पार्टी रुपन्देहीका संयोजक भुलबहादुर सुनारीको अध्यक्षता र सचिवालय सदस्य केजी कुमार पौडेलको सञ्चालनमा भेला सम्पन्न भएको थियो । पार्टीले माघ १ गतेबाट तीन महिने पार्टी संगठन विस्तार,सुदृढीकरण तथा जनपरिचालन अभियान शुरु गर्ने जनाएको छ ।