
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिगले दलाल तथा नोकरशाही, भ्रष्टाचारी, तस्करी र कालोबजारीहरुका विरुद्ध जनपरिचालन गर्ने भएको छ । हालै सम्पन्न लिगको केन्द्रीय समितिको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।




क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’को विशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले पार्टीको तीन महिने संगठन तथा जनपरिचालन अभियान सफल पार्न स्वयम्सेवकको भूमिका खेल्ने निर्णय गरेको छ ।
अभियानको क्रममा युवाहरुलाई व्यापक रुपमा सदस्यता वितरण गर्ने, प्रदेश कमिटीको बैठक माघ १५ गते भित्र सम्पन्न गर्ने, जिल्ला कमिटिका बैठक माघ मसान्तभित्र सम्पन्न गर्ने, जिल्ला जिल्लामा स्वयम्सेवक टिम निर्माण गरी युवाहरुलाई वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षणहरु दिने निर्णय पनि गरेको छ ।
लिगले स्वास्थ्य, शिक्षा, वैदेशिक रोजगार, विकास निर्माणका क्षेत्रमा भएको माफियकरण तथा विचौलियाका विरुद्ध पनि संघर्ष गर्ने निर्णय गरेको लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन‘आकाश’ले बताउनुभयो ।