१२८ रनको लक्ष्य पछ्याउँदै विराटनगर क्रिजमा

१२८ रनको लक्ष्य पछ्याउँदै विराटनगर क्रिजमा

काठमाडौं, १२ पुस । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी– २० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्ससामु जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आजको पहिलो प्ले अफ खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवा ग्लाडियर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको हो ।

विराटनगर वारियर्ससामु भैरहवा ग्लाडियटर्स सुरुमा खुलेर खेल्न नसक्दा मध्यम स्कोरमा समेटियो । भैरहवाका लागि सर्वाधिक रन आरिफ शेख र पुनित मिश्रले बनाएका थिए । शेखले ४६ र मिश्रले ४९ रनको योगदान दिए । २ जना बाहेक अन्य ब्याटसम्याले दोहोरो रनको स्कोर जोडन सकेनन् ।

भैरहवाले १७ रनमै ३ विकेट गुमाएको थियो । टोलीको १७ रन हुँदा कप्तान शरद भेषावकर ८ रन बनाउदै पेभेलियन फर्किएका थिए । त्यस्तै २७ रन हुँदा भैरहवाका रोहितकुमार पौडेल ७ रनमा आउट भएपछि भैरहवाको ब्याटिङ लाइन धर्मराएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका आरिफ शेख र पुनित मिश्रले सम्हालिएर ब्याटिङ गर्दै टोलीको इनीङ उकासेका थिए । टोलीको स्कोर १०९ हुँदा भैरहवाका आरिफ शेख ४६ रन बनाइ क्याच आउट भएका थिए । आरिफले ३५ बलमा १ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् । त्यस्तै पुनित मिश्रले ३४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाएका हुन् ।

भैरहवालाई १२७ रनमा समेट्न विराटनगरका लागि सहान एडिसा र करण केसीले २÷२ तथा पारस खड्का, अभिनास कर्ण र बसन्त रेग्मीले समान १ र १ विकेट हात पारे ।

१२८ रनको विजयी लक्ष्य पाएको विराटनगरले अहिले जवाफी ब्याटिङ् गर्दैछ । यो खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले पोखरा राइनोज र ललितपुर प्याट्रियसबीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नुपर्नेछ ।