सरकार निर्माणको साँचो देशबाहिर

सरकार निर्माणको साँचो देशबाहिर

काठमाडौं । प्रादेशिक तथा प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक भएपछि लामै समय वितिसक्दा पनि दुवै तहका सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । एमाले—माकेको वाम गठबन्धन भागबण्डाको खिचलो झिकेर कुर्सी प्राप्तीको खेलमा लिप्त हुन पुगेको छ । निर्वाचनमा बहुमत पाए आफूहरुले वामवृत्तको स्थिर सरकार दिने र समाजवाद निर्माणका कार्यक्रमहरु सार्वजनिक गरिने भनी जनता माझ गरेका वाचाहरु क्रमशः ठट्टामजाकमा उड्न थालेका छन् । एमाले नेता केपी ओली र माओवादी केन्द्रका नेता पुष्पकमल दाहालबीच अव्यक्त र ती दुई पार्टीका अरु नेता तथा कार्यकर्ताबीच व्यक्त हुने गरी कुर्सीकेन्द्रित रस्साकस्सी सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत् सतहमाथि आएको छ ।
प्रधानमन्त्री को बन्ने भन्ने कुर्सीको विवादले वाम सरकार निर्माणको सामान्य आँकलन शङ्काको घेरामा पर्न गएको छ । वाम गठबन्धनले बहुमत नै प्राप्त गरे पनि विदेशी शक्तिहरुले नेपालमा बन्ने भनिएको वाम सरकारको जोडघटाउ गरिरहेका छन् । यसरी सरकार बनाउने र गिराउने जोडघटाउ विदेशमा भइरहँदा नेपालमा भने निर्वाचित गठबन्धनभित्रका पार्टीहरु एकअर्काका अन्तरविरोधहरु खोज्न र खुइल्याउन उद्दत् देखिन्छन् । यो उनीहरुमा अन्तरनिहित निम्न पुँजीवादी छलकपटपूर्ण मानसिकताको उपज हो, जसले विदेशी खेललाई उर्वरता प्रदान गरिरहेको छ ।
निर्वाचन परिणाममा तेस्रो स्थानमा झरेको सत्तासीन दल नेपाली काङ्ग्रेस माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई काङ्ग्रेसको समर्थनमा ५ वर्षसम्म अल्पमतको सरकार ढुक्क भएर चलाउन आश्वस्त पार्न लागि परिरहेको छ । उता दाहाल पनि वाम गठबन्धनकै बलियो स्थिर सरकार बनाउन भन्दा पनि नेपाली कांग्रेस र आफ्नै गठबन्धनको साझेदार एमालेलाई समदुरीमा राखेर जति बेला पनि आफू र आफ्नो पार्टी निर्णायक बनाउने ध्याउन्नमा लागेका छन् । अर्कोतिर सरकारमा नगए सर्वस्व गुम्ने एमालेको निम्नपुँजीवादी चिन्तनको धरातलमा एमाले अध्यक्ष ओलीका आफ्नै पार्टीका समकक्षी नेताहरु प्रचण्डसँग नै बढी लुसुलुसु गरिरहेका देखिन्छन् ।
नेपालमा वाम गठबन्धन बनाएर दिल्लीले ठूलो भूल गरेको भनी पश्चिमा देशहरुबाट निरन्तर गम्भीर खालका टीकाटिप्पणीहरु आइरहँदा चारदिन अघिमात्र प्रधानमन्त्री मोदीले लोकतान्त्रिक तथा वाम दुवै गठबन्धनका शीर्ष नेताहरुलाई फोन गरी सरकार निर्माणको निकासका लागि एकै ठाउँमा बसाएका थिए पनि । शीर्ष भनिने नेताहरुको यो बसाइ पनि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भएपछि वाम गठबन्धनका नेताहरु, मुख्यतः ओली र प्रचण्ड निकै बठ्याइँका साथ, आलोपालो प्रधानमन्त्रीको कुर्सीमा बस्ने सहमति भएको भनी आफ्ना कार्यकर्तालाई थामथुम पार्न खोजेका देखिन्छन् । विश्लेषकहरु भन्छन्, जसरी वाम तथा लोकतान्त्रिक भनिने गठबन्धनको निर्माण तथा सहकार्य बाहिरबाटै गराइयो, त्यसै गरी सरकार निर्माणको साँचो पनि बाहिर नै रहेकाले सरकार निर्माणका लागि अझैं केही समय कुर्नुपर्ने भएको छ । त्यसैले, विदेशी फोनको निर्देशनका आधारमा शीर्ष भनिने नेताहरुको जमघटमा खाली फुक्का गाला मात्र बज्ने गरेका खुलस्त हुन आएको छ । थिए ।