
काठमाडौं, पुस ९ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आँधीपछि आएको बाढी र पहिरोका कारण मृत्यु भएकाको संख्या १ सय ८० भन्दा बढी पुगेको छ ।
आँधीपछि आएको बाढी र पहिरोमा परी दर्जनौं हराइरहेको बीबीसीले उल्लेख गरेको छ । शक्तिशाली टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका विभिन्न स्थानमा बाढी आउनुका साथै पहिरो खसेको छ भने टुबोड र पिआगापो शहर सबैभन्दा बढी प्रभावित भएको छ ।




त्यहाँ प्रतिघण्टा ८० किलोमिटर वेगको सो आँधीले मिन्डनाओ टापुबाट दक्षिणी पालावन क्षेत्रतर्फ बढिरहेको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । आँधीका कारण विद्युत र सञ्चार सेवा समेत प्रभावित भएपछि उद्धारमा समस्या परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गत साता पनि फिलिपिन्समा काइटक नामक आँधीका कारण दर्जनौं मानिसको मृत्यु भएको थियो ।