काठमाडौँ । जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको विरुद्धमा संयुक्त राष्ट्रसंघमा दर्ता गरिएको गैरबाध्यकारी प्रस्तावको समर्थनमा नेपालले मतदान गरेको छ ।
संयुक्त राष्ट्रसंघमा भएको मतदानमा प्रस्तावको समर्थनमा मतदान गर्ने १२८ देशमध्ये नेपाल पनि एक बनेको हो । प्रस्तावमा अमेरिकाको नाम भने उल्लेख छैन । प्रस्तावमा जेरुसेलमबारे गरिएको निर्णय कार्यान्वयन नगर्न र खारेज गर्ने मात्र उल्लेख छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई प्रतिष्ठाको विषय बनाउँदै जेरुसेलमबारे अमेरिकाले गरेको निर्णयविरुद्ध मतदान गर्ने राष्ट्रहरुको आर्थिक सहायता कटौती गरिने कडा भाषामा चेतावनी दिएका थिए ।
तर अमेरिकाको पक्षमा, अर्थात् प्रस्तावको विरुद्धमा ९ वटा मात्र भोट पर्यो । अमेरिकाको पक्षमा अमेरिकासहित इजरायल, ग्वाटेमाला, होन्डुरस, द मार्सल आइल्याण्ड, माइक्रोनेसिया, नाउरु, पालाउ र टोगोले मतदान गरे ।
अमेरिकासँग नजिक मानिएको भारतसहित चीन, फ्रान्स रसिया र बेलायतलगायतले राष्ट्र संघमा अमेरिकी निर्णयको विरुद्धमा भोट गरे । क्यानाडा र मेक्सिकोलगायत ३५ देशले मतदान गरेनन् भने २१ देश अनुपस्थित रहे ।

किन गर्यो नेपालले प्रस्तावको पक्षमा मतदान ?
ट्रम्पले कडा चेतावनी दिइरहँदा नेपालले यस प्रस्तावमा के गर्ला भन्ने सबैतिर चासोको विषय बनेको थियो । परराष्ट्रसचिव शंकर वैरागीले नेपालले असंलग्न परराष्ट्र नीति अन्तरगत प्रस्तावको समर्थनमा मतदान गरेको बताए । ‘संयुक्त राष्ट्र संघमा गैर बाध्यकारी प्रस्तावको समर्थनमा मतदान गरेका हौँ । हामी असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने राष्ट्रहरुमध्ये पर्छौँ,’ वैरागीले भने ।
तर, परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौडेलले रातोपाटीसँग कुरा गर्दै प्रस्तावको पक्षमा भोट गर्ने विषय कुनै नौलो कुरा नभएको बताए । नेपालले पछिल्लो ५० वर्षमा यसमा समर्थन जनाउँदै आएको पनि जानकारी दिए । उनले नेपालले अमेरिकाको विपक्षमा मतदान गरेको भनेर भन्न नमिल्ने बताए । उनका अनुसार अमेरिकाको विपक्षमा भन्दा पनि नेपालले प्रस्तावको पक्षमा भोट गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर