
काठमाडौं, ६ पुस । मलेसिया सरकारले १ जनवरी २०१८ बाट लागू गर्न लागेको नयाँ निर्णयले नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् । मलेसियामा कामदारहरुले होइन, अब रोजगार दाताले नै कर तिर्नुपर्ने निर्णय कार्यान्वन हुने भएपछि त्यहाँ कार्यरत नेपाली कामदार पनि लाभान्वित हुने भएका हुन् ।
सरकारको यो निर्णय लागू गर्ने घोषणासँगै अब सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्नेछन् । मलेसिया सरकारले गत वर्ष नै रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गरेको भए पनि आउँदो नयाँ वर्षसँगै यो निर्णय लागू गर्ने त्यहाँको मानव संशाधन मन्त्रालयले जनाएको छ ।
नेपाली कामदारको लागि मलेसिया एउटा प्रमुख गन्तव्य हो । उक्त मन्त्रालयले विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइ सकेको छ । यो निर्णय लागू भएसँगै कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ । क्षेत्रअनुसार फरक लेवि तोकिएपनि कामदारहरु महंगो लेवि तिर्नुपर्ने व्यवस्थाका कारण मारमा थिए । मेलेसियन रिंगेट ५९० देखि १ हजार १० सम्म लेवि तिर्नुपर्ने नियम छ ।
‘इम्प्लोयर म्यान्डेटोरी कमिटी (ईएमसी)’ नामको नियमअन्तगर्त आएको नयाँ प्रावधानको उद्देश्य विदेशी कामदारप्रति रोजगारदाता संस्थालाई नै जिम्मेवार बनाउनु हो ।