क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक चितवनमा सुरु

प्रकाशित मिति : २०७४ पुस ६

चितवन । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक चितवनमा सुरु भएको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’को अध्यक्षता तथा सञ्चालनमा बिहीबारबाट सुरु भएको बैठकमा “तत्कालीन राजनीतिक प्रस्ताव” प्रस्तुत गरिएको छ ।

संसदीय व्यवस्थाका स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमार्फत् क्रान्तिकारी उपयोग गरेको क्रान्तिकारी माओवादी निर्वाचन उपयोगको कार्यनीतिको समीक्षा र पार्टीको भावी रणनीति तयार पार्न बैठकमा जुटेको हो ।

संसदीय व्यवस्थाको भण्डाफोर गर्ने र जनसंगठन निर्माणको जनाधार तयार पार्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर क्रान्तिकारी माओवादीले मोर्चामार्फत् निर्वाचनको उपयोग गरेको थियो । निर्वाचनमा देजमोका उम्मेदवारहरुले प्राप्त गरेको मत कम भएपनि त्यसको गुणात्मकतालाई कम आँक्न नहुने भन्दै पार्टीको जारी केन्द्रीय समितिको बैठकले तत्काल पार्टी, जबस मोर्चाका संगठनहरुलाई विस्तार र सुदृढ गर्ने कार्यक्रम ल्याउने र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरणलाई विशेष जोड दिने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले मूलबाटोलाई बताए । बैठक १० गतेसम्म चल्ने सम्बद्ध स्रोतले जनाएको छ ।