वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

काठमाडौं, पुस ६ । वरिष्ठ संगीतकार चन्द्रराज शर्माको आज बिहान निधन भएको छ । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी ७९ वर्षिय शर्माको राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । झण्डै ९ सय गीतमा संगीत दिनुभएका शर्मा संगीत शिरोमणी यज्ञराज शर्मा र आमा हेमकुमारीको कोखबाट माइलो सन्तानको रुपमा जन्मिनुभएको थियो । उहाँलाई २०२२ मा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गर्नुभएको थियो ।

उहाँले २०३६ सालदेखि सँस्कृति विभागमा संगीत निर्देशकको रुपमा काम गर्नुभएको थियो । नेपालको पहिलो रंगिन चलचित्र ‘कुमारी’मा संगीत निर्देशन गर्नु भएका शर्माले श्रीस्वस्थानी र महाकवि देवकोटासहित चलचित्रमा पनि संगीत दिनुभएको छ । यस्तै गीतिनाटक मुनामदन, क्रसमा टाँगिएको जिन्दगीमा पनि संगीत निर्देशन गर्नुभएको छ ।

शर्माले संगित भर्नुभएको मेरो देशको माया, चपला अबला एक सूरमा, हामी नदीका दुई किनार लगायत कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् । गीति नाटक, ब्यालेड र ओपेरामा समेत काम गर्नुभएका उहाँलाई वि सं २०६७ सालमा रेडियो कान्तिपुरले १२ औँ म्युजिक अनरमा लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो ।

उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म पशुपति आर्यघाटमा राखिने छ । उहाँको आजै आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् ।