वाम र लोकतान्त्रिक गठबन्धन एउटै ड्याङका मूला हुन् : परि थापा

वाम र लोकतान्त्रिक गठबन्धन एउटै ड्याङका मूला हुन् : परि थापा

धनन्जय अवस्ति/अत्तरिया ।
नेकपा (क्रान्तिकारी माओवादी)का पूर्वकार्यालय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाले वाम र लोकतान्त्रिक गठबन्धन एउटै ड्याङको मूला भएको बताउनुभएको छ । सोमबार (आज) कैलालीको गोदावारी नपा अत्तरीयामा क्रान्तिकारी पत्रकार महासंघ, ७ नं. प्रदेश समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनु भएको हो । नेता परि थापाले आफूहरु नियमित रुपमा संघर्षकै प्रक्रियामा रहेको र निर्वाचन उपयोग पनि संघर्षकै एउटा मोर्चा भएको पनि बताउनु भयो । क्रान्तिकारी माओवादी तथा मोर्चा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारीमा रहेको बताउँदै नेता थापाले वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधान जनविरोधी रहेकोले यसको खारेजी अनिवार्य रहेको पनि जिकिर गर्नुभयो ।

क्रान्तिकारी पत्रकार धनन्जय अवस्तिको अध्यक्षता तथा सञ्चालनमा भएको उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिंदै नेता थापाले भन्नुभयो, “हाम्रो मोर्चा संसदमा गएर पनि यही व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्ने हो । कांग्रेस, एमाले र माके भ्रष्ट र दलाल पार्टीहरु हुन् । यिनीहरुले पटक पटक सत्तामा पुगेर राष्ट्रघात र जनघातका चाङ लगाएका छन् । अब जनताले यिनीहरुलाई बहिस्कार गर्नुपर्छ ।”

थापाले अगाडि भन्नुभयो, “राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विद्यमान विकराल समस्याहरुको समाधान गर्नका लागि मुलुकमा नयाँ जनवादी क्रान्ति अनिवार्य बनेको छ । त्यो नयाँ जनवादी क्रान्तिको नेतृत्व क्रान्तिकारी माओवादीले गर्नेछ । निर्वाचनको उपयोग नयाँ जनवादी क्रान्तिकै आधार निर्माण गर्नका लागि गरिएको हो ।”

उक्त पत्रकार सम्मेलनमा क्रान्तिकारी माओवादीका ७ नं. प्रदेश संयोजक चन्द्रहरि सुवेदी अटल, देजमो संयोजक रामबहादुर केसी, कंचनपुर जिल्लाका इन्चार्ज दीलबहादुर बम, हरि सेक्रेटरी हरि सुवेदी, कैलाली सेक्रेटरी रुद्र कँडेल, देजमोको ४ नं. प्रतिनिधिसभा उम्मेदवार टंक कोइरालालगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्राप्त जानकारी अनुसार नेता थापाले सोमबारै कैलालीको अत्तरीया र धनगढीमा आयोजित देजमोको चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ र मुठ्ठी चिन्हमा मतदान गर्न जनसमुदायमा अपील गर्दै हुनुुहुन्छ ।