टीका प्रसाद भट्टराई/काठमाडौं ।

देशैभर देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई आक्रामक बनाएका छन् । झण्डा, व्यानर, माइकिङसहित दिन दिनै उम्मेदवारहरु मतदाताको घरमा पुग्ने, चोकहरुमा कोणसभा गर्ने, अन्तक्र्रिया, छलफल गर्ने, चुनावी कार्यालयहरु स्थापना गरेर प्रचार प्रसारलाई व्यवस्थित बनाउने र प्रतिक्रियावादी संसदीय पार्टीका उम्मेदवारहरुको भण्डाफोर गर्ने लगायतका कार्यक्रमहरुलाई तीव्रता दिइएको छ ।

हामीलाई कंचनपुरबाट प्राप्त समाचार अनुसार ७ नं. प्रदेशमा दोस्रो चरणको निर्वाचन हुन ५ वटा जिल्लामा बाँकी छ । देशभक्त जनगणतान्त्रिक मोर्चाले दोस्रो चरणको निर्वाचनको लागि प्रत्यक्ष तर्फ ११ जनालाई उम्मेदवार बनाएको छ भने समानुपातिक तर्फ २१ जना उम्मेदवार छन् । दोस्रो चरणको निर्वाचनको लागि देजमोले व्यापक प्रचारप्रसार गरेको कुरा क्रान्तिकारी माओवादीका ७ नं. प्रदेश संयोजक नेता अटलले बताउनु भयो । कैलाली, कंचनपुर, अछाम लगायतका जिल्लाहरुका ठाउँ ठाउँमा कोणसभा, चोकसभा, घरदैलो, जनभेटघाट, पर्चा, पम्प्लेटिङ लगायतका कार्यक्रमहरु तीव्र रुपमा भइरहेका छन् । प्रायः प्रचार प्रसार र कोणसभाका कार्यक्रमहरुमा देजमोका सचिवालय सदस्य प्रचार सभालाई देजमो संयोजक राम बहादुर केसीले सम्बोधन गर्नुभएको छ भने १७ गते नेता परि थापाको उपस्थितिमा कैलालीको अत्तरियामा र १८ गते कंचनपुरमा चुनावी सभाको अयोजना गरिएको छ ।

त्यसैगरी दैलेखबाट प्राप्त समाचार अनुसार ६ नं. मा प्रदेशमा रहेका १० जिल्ला मध्ये ७ जिल्लामा पहिलो चरणमा चुनाव सकिएको छ भने बाँकी ३ जिल्ला दैलेख, सुर्खेत र सल्यानमा दोस्रो चरणमा चुनाव सम्पन्न हुँदैछ । क्रान्तिकारी माओवादी ६ नं. प्रदेशका संयोजक हर्क बहादुर शाहीले दिएको जानकारी अनुसार ती जिल्लाहरुमा प्रचार प्रसारलाई व्यापक बनाइएको छ । साँस्कृतिक टोलीसहित देजमोका उम्मेदवारहरु कोणसभा, टोलसभा र चोकसभाका कार्यक्रमहरुमा व्यस्त रहेका छन् । दैलेखमा देजमोको पक्षमा चुनावी माहौल राम्रो भएको छ । विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेशको लहर नै चलेको छ । जिल्लाका डुम्रासैनी, चामुण्डा, राकम कर्णाली, पिपलकोट, तिङघासयन, सेलेवावा, साततला, लकान, विशाला, कुशापानी, दुल्लु, माम्झिका लगायतका स्थानहरुमा कोणसभा सहित सांस्कृतिक सभा र घरदैलो कार्यक्रमहरु भएका छन् ।

यता पोखराबाट प्राप्त समाचार अनुसार ४ नं. प्रदेशका जिल्लाहरुमा पनि देजमोका उम्मेदवारहरुले आक्रामक रुपमा चुनावी प्रचार प्रसार गरिरहेका छन् । स्थानीय मिडियाहरुदेखि जनपरिचालन पनि व्यापक रुपमा गरिएको छ । टिम बनाएर घरदैलो कार्यक्रमहरु भइरहेका छन् । नवलपुरको कावासोतीमा ११ मंसिरमा मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको उपस्थितिमा चुनावी सभा सम्पन्न गरिएको छ भन तनहुँ, कास्कीमा पनि चुनावी अभियान घनिभूत रुपमा चलिरहेको क्रान्तिकारी माओवादीका ४ नं. प्रदेश संयोजक श्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी, बुटवलबाट प्राप्त समाचार अनुसार प्रदेश नं ५ का जिल्लाहरुमा पनि सक्रिय रुपमा प्रचार प्रसारमा लागि घरदैलो लगायत कार्यक्रमहरु भइरहेका छन् । रुपन्देहीमा मोर्चाका अध्यक्ष सीपी गजुरेल र सचिव परि थापाले आयोजित सभाहरुमा सम्बोधन गर्नुभएको छ । सीपी गजुरेलले १० गते र परि थापाले १५ र १६ गते चुनावी सभालाई सम्बोधन गर्नुभएको क्रान्तिकारी माओवादी ५ नं. संयोजक प्रेम सुवेदीले जानकारी दिनुभयो ।

उता १ नं. प्रदेशका उदयपुर, तेह«थुम, इलाम, सुनसरी, झापा, मोरङलगायतका जिल्लामा घनिभूत रुपमा चुनावी प्रचार प्रसारहरु चलिरहेका छन् । सुनसरीका १ नं. क्षेत्रमा २१ वटा कोणसभा भएका छन् भने २ नं. क्षेत्रमा पनि कोणसभा र घरदैलो व्यापक रुपमा चलिरहेको छ । मोरङका विभिन्न ठाउँमा पनि नियमित रुपमा कोणसभा, चोकसभा भइरहेका छन् । मोर्चाका अध्यक्ष सीपी गजुरेल, पार्टी सल्लाहकार संयोजक डा. ओम गुरुङ, क्रान्तिकारी माओवादीका १ नं. प्रदेश संयोजक राम आचार्य, मोर्चाका संयोजक नगेन्द्र राई लगायतका नेताहरु १ नं. प्रदेशका जिल्लाहरुमा मोर्चाका उम्मेदवारको पक्षमा चुनावी माहौल बनाउन सक्रिय हुनुभएको छ ।

त्यस्तै, २ नं. प्रदेशबाट प्राप्त जानकारी अनुसार जिल्ला जिल्लामा कोणसभा, टोलसभा, चोकसभाहरु भइरहेका छन् । सर्लाही, महोत्तरी र सिरहामा मोर्चाका अध्यक्ष गजुरेलको उपस्थितिमा ठूला सभाहरु सम्पन्न भएका छन् भने साना कोणसभाहरुमा प्रदेश र जिल्लाका नेताहरु र उम्मेदवारहरु उपस्थित हुने गरेका छन् ।

यता ३ नं. प्रदेशका जिल्लाहरुमा पनि टोलसभा, कोणसभादेखि ठूला चुनावी सभासम्म सम्पन्न भएका छन् । प्राप्त जानकारी अनुसार चितवनको ३ नं. निर्वाचन क्षेत्रको माडी बसन्तपुर सहिद चोकमा क्रान्तिकारी माओवादीका महासचिव किरणको प्रमुख उपस्थितिमा चुनावी सभा सम्पन्न भएको छ । महासचिव किरणकै उपस्थितिमा जनकलाकार खुशीराम पाख्रिनको श्रद्धाञ्जली र २ नं. निर्वाचन क्षेत्रको चौविसकोटीमा पनि सभा सम्पन्न भएको छ । त्यसैगरी जिल्लाका सबै निर्वाचन क्षेत्रमा साना कोणसभा, घरदैलो र जनभेटघाटका कार्यक्रमहरु तीव्र रुपमा भइरहेका छन् । सिन्धुली र मकवानपुरमा पनि चुनावी माहौल मोर्चाका उम्मेदवारहरुको पक्षमा पार्न कोणसभा, घरदैलो कार्यक्रम भइरहेको र पार्टी तथा मोर्चामा जनआकर्षण पनि बढिरहेको बुझिएको छ । त्यसैगरी काठमाडौंको उपत्यकामा पनि चुनावी प्रचार प्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर