काठमाडौं । निर्वाचन नजिकिदै जाँदा क्रान्तिकारी माओवादीका र मोर्चाका शीर्ष नेताहरु “मुठ्ठी” चिन्हमा भोट माग्न जिल्ला जिल्लामा पुगेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ आफ्नो स्वास्थ्यको प्रतिकूलता वेवास्ता गर्दै देजमोका उम्मेदवारहरुको पक्षमा भोट माग्न चितवन पुग्नुभयो । चुनावी प्रचारको अन्तिम दिन काठमाडौंको सतुङगलमा आयोजित “वेपत्ता योद्धाहरुको स्मरण तथा चुनावी सभा” कार्यक्रमलाई सम्बोधन गर्दै मुठ्ठी चिन्हमा भोट माग्नुभयो । यसअघि उहाँले काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा पुगेर देजमोका उम्मेदवारहरुलाई भोट माग्नुभयो । विशेषगरी काठमाडौं उपत्यकाभित्र क्रान्ति तथा परिवर्तनको ऐतिहासिक थलोका रुपमा चिनिने कीर्तिपुरबाट अर्थात् काठमाडौं–१० बाट उम्मेदवार बनेका क्रान्तिकारी माओवादीका जुझारु युवा नेता सुरेश श्रेष्ठको निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभाहरुमा महासचिव किरण सरिक हुनुभयो ।
शुक्रबार चितवन पुगेका महासचिव किरणले शुक्रबार नै २ नं. निर्वाचन क्षेत्रको चौबिसकोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो भने शनिबार विहान माओवादी आन्दोलनका चर्चित जनगायक तथा जनसाँस्कृति आन्दानेलनका अभियन्ता खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा सहभागी हुनुभयो । भरतपुर–१९ रामपुर बजारस्थित दिवंगत पाख्रिनको घरमै क्रान्तिकारी माओवादीको जिल्ला पार्टीले आयोजना गरेको श्रद्धाञ्जली सभामा उपस्थित भएर महासचिव किरणले पाख्रिनप्रति श्रद्धाञ्जली दिनुभयो र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो र पार्टीको तर्फबाट समवेदना सन्देश पाख्रिनकी जीवनसंगिनीलाई हस्तान्तरण गर्नुभयो ।
शनिबारै महासचिव किरणले चितवनको ३ नं. निर्वाचन क्षेत्रको माडी बसन्तपुर सहिद चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी क्षेत्र रहेको उक्त क्षेत्रमा महासचिव किरणले प्रचण्डलाई चुनौती दिंदै देजमोको तर्फबाट उम्मेदवार बन्नुभएका जनयुद्धका सहिद परिवार समेत रहेका टंकनाथ रेग्मी‘गोर्खाली’को चुनाव चिन्ह ‘मुठ्ठी’मा भोट माग्नुभयो । माडी क्षेत्रमा क्रान्तिकारी माओवादीको बलियो पकड रहँदै आएको छ । त्यही क्षेत्रबाट नेता देवी पौडेलले प्रदेशसभामा उम्मेदवारी दिएका छन् । महासचिव किरण माडी क्षेत्रमा पुगेपछि माओवादी केन्द्रका नेताहरुले असज महसुस गरेको बुझिएको छ । प्रचण्ड पक्षधरहरुले देजमोका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन घेराबन्दी गर्ने, दबाब दिने र महासचिव किरणसम्म नै डेलिगेसन जानेसम्मको अनैतिक हर्कत गर्ने गरेको क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य, चितवन इन्चार्ज तथा मोर्चाको तर्फबाट समानुपातिक तर्फ प्रतिनिधिसभाकी उम्मेदवार अम्बिका मुडभरीले बताउनुभयो ।
पार्टीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल देश दौडाहामा हुनुहुन्छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका दोलखा र रामेछापमा आयोजित सभाहरुलाई सम्बोधन गर्नुभएका नेता गजुरेलले कात्तिक–२५ मा काठमाडौं–१० मा आयोजित सभालाई सम्बोधन गर्नुभयो । त्यसलगत्तै सिरहाको वस्तीपुर, सर्लाहीको बसतपुर हुँदै १० मंसिरमा कपिलवस्तुको जितपुर चारनम्बरमा आयोजित सभालाई सम्बोधन गर्न पुग्नुभयो भने ११ गते नवलपुरको कावासोती क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मोर्चाका उम्मेदवारहरुलाई मुठ्ठी चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन जनसमुदाय समक्ष अपील गर्नुभयो ।
त्यसैगरी अध्यक्ष गजुरेलले १२ गते सिरहाको जिरोमाइल, १३ गते सर्लाहीको हरिपुर र १४ गते महोत्तरीको ढेकहा र सिरहाको लाहनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । उहाँ १६ गते झापाको कुन्जीवारीमा आयोजित सभालाई सम्बोधन गर्न पुग्नुभयो भने १७ गते विहान विराटनगरको पुष्पलाल चोकको सभालाई सम्बोधन गर्नुभयो । आइतबार नै विराटचोकमा आयोजना गर्ने अर्को सभामा पनि अध्यक्ष गजुरेलले सम्बोधन गर्नुभयो ।
पार्टीका पूर्व कार्यालय सदस्य रामसिंह श्रीस जिल्लामा आयोजित सभालाई सम्बोधन गर्न शनिबार सिन्धुली र काभ्रे पुग्नुभयो भने देजमोका केन्द्रीय सचिव समेत रहेका नेता परि थापा ५, ६ र ७ नं. प्रदेशका जिल्लाहरुमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी बनीरहनु भएको छ । शुक्रबार उहाँले रुपन्देही क्षेत्र नं. २ को बुटबलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो भने शनिबार रुपन्देही कै १ नं. निर्वाचन क्षेत्रको खैरेनीमा आयोजित सभालाई सम्बोधन गर्नुभयो । १८ गते कैलालीको अत्तरीयामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।
पार्टी प्रवक्ता समेत रहेका हरिभक्त कँडेलले पनि बाँके, बर्दिया, कैलाली, कंचनपुर लगायतका जिल्लामा आयोजित सभालाई सम्बोधन गर्नुभयो भने उहाँ पनि चुनावी अभियानमा जिल्ला जिल्लामा हुनुहुन्छ भने पार्टी केन्द्रीय सल्लाहकार अध्यक्ष समेत रहनु भएका डा. ओम गुरुङ पनि पश्चिम कास्की, बाग्लुङ, म्याग्दी हुँदै पूर्वका जिल्लाहरु चितवन, मोरङ, सुनसरी, झापालगायतका जिल्लाहरुमा “मुठ्ठी” चिन्हमा भोट माग्दै पुग्नुभएको छ । उहाँ समानुपातिक तर्फ प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ ।