
एस्ले योङको २ तथा एन्टोली मार्सियल र जेस लिनगार्डको १ र १ गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा वाटफोर्डलाई ४–२ ले पराजित गरेको छ ।
योङले १९औँ र २५औँ मिनेटमा गोल गरे । मार्सियलले ३२औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा ३ गोलले पछि परेपनि घरेलु टोलीका लागि ७७औँम मिनेटमा ट्रोए डिने र ८४औँ मिनेटमा अबदुलाए डोकुरेले गोल गर्दै केही आश जगाएका थिए । तर ८६औँ मिनेटमा लिनगार्डले गोल गरेपछि युनाइटेडले जित निश्चित गरेको हो ।




जितपछि १५ खेलबाट ३२ अंक जोडेको युनाइटेडले छिमेकी म्यानचेष्टर सिटीसँगको अंक दूरी ५ मा झारेको छ । एक खेल कम खेल्नका बावजुत पनि सिटी ३७ अंकका साथ शीर्ष स्थानमा आसिन छ । दोस्रो स्थानको युनाइटेडले तेस्रो स्थानको चेल्सीमाथि ६ अंकको अग्रता बनाएको छ ।
यता खराब लयबाट गुज्रिए रहेको टोटनहम लेस्टर सिटीसँग २–१ ले पराजित भएको छ । लेस्टरलाई सिजनको चौथो जित दिलाउन जेमी भार्डी र रियाद महारेजले १–१ गोल गरे । टोटनहमका लागि ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेनन् । हारपछि १४ खेलबाट २४ अंक रहेको टोटनहम पाँचौ स्थानमै यथावत छ । यता १७ अंक जोडेको लेस्टर नवौँ स्थानमा उक्लेको छ ।
प्रिमियर लिगकै अन्य खेलमा वेष्टब्रोमले न्यूकासल युनाइटेडले २–२ तथा ब्राइटन र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।